यसरी गरिन्छ टाउको नखोली बन्द भएकाे दिमागी नसाकाे शल्यक्रिया

न्यूरो इन्टरभेन्सन के हो ?   

दिमागसम्बन्धी रोगहरुको घाउ नबनाई सजिलो तरिकाबाट उपचार गरिने विधिलाई नै न्यूरो इन्टरभेन्सन भनिन्छ। नेपालमा दुई वर्षदेखि न्यूरो इन्टरभेन्सन विधिबाट उपचार हुन थालेको छ।

बिरामीलाई ब्रेन ह्यामरेज–दिमागको नसा फुलेर फुट्नु, स्ट्रोक वा मस्तिस्क घात–मोटो वा पातलो दिमागको नसा बन्द हुनु (बिरामी प्यारालाइज हुनु), जस्ता समस्या देखिए टाउको नखोली सर्जरी गरिन्छ।

कस्ता लक्षण देखिन्छन् ?

यदि २४ घण्टाभित्र ती नसाहरुलाई खोल्न सके बिरामी पहिलेको जस्तो सामान्य हुनसक्छ। नसा बन्द हुँदा मानिसको सन्तुलन बिग्रिन्छ। बिरामी उभिँदाउभिँदै ढल्छ। आँखा एक्कासी धमिलो हुने वा एउटा वा दुवै आँखा देख्न छोड्ने, मुख एकातिर बाङ्गो हुने, हात र खुट्टा लुलो हुने, नचल्ने, राम्रोसँग बोल्न नसक्ने जस्ता लक्षणहरु देखिन्छन्।

दिमागको बारेमा हालसम्म अनुसन्धानले मस्तिष्कघात भएको ६ घण्टाभित्र अस्पताल पुगेमा बन्द भएको नसालाई खोलेर बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिने देखाएको छ ।

 प्रविधिले कसरी काम गर्छ  ?

यस्तो लक्षण देखिएपछि तुरुन्त अस्पताल पुगेमा छोटो समयमै सानो वा ठुलो नसामा जमेको रगतलाई निकालेर नेपालमै नयाँ प्रविधिबाट नसा खोलेर जीवनभर हुने प्यारालाइसिस वा अपाङ्ग हुनबाट बचाउन सकिन्छ।

हाल नेपालमै विभिन्न अस्पतालमा यस्ता खालका बिरामीको उपचार टाउकोको अप्रेशन वा औषधिबाट गरिन्छ ।

यी सबै मोटो नसा बन्द हुँदा यस्ता लक्षणहरु देखिन्छन्। समयमै बिरामीलाई अस्पताल ल्याउनसके न्यूरो इन्टरभेन्सन गरेर नसा खुलाउन सकिन्छ।

त्यस्तै पातलो नसाहरु बन्द भए औषधी खुवाएर पगाल्ने कोसिस गरिन्छ। तर, मोटो नसालाई बन्द भएको ठाउँबाटै खुलाउनुपर्छ।

न्यूरो इन्टरभेन्सनमा टाउको नखोली हात वा खुट्टाको नसाबाट सानो ३ एमएमको सुई लगाएर तार पठाइन्छ। उक्त तारले बन्द भएको नसा तानेर खुलाउने र फुटेका नसालाई भित्रैबाट सिलाउने काम गर्छ।

न्यूरो इन्टरभेन्सन गर्नका लागि क्याथल्याब चाहिन्छ। यस मेसिनको सहाराले शरीरमा भएको नसालाई हेरिन्छ र अप्रेशन गरिन्छ। बाइप्लेन मेसिनबाट अप्रेशन गर्दा जटिलता कम हुन्छ।

विभिन्न कोणबाट हेर्न सजिलो हुन्छ भने डाक्टरलाई काम गर्न पनि सजिलो हुन्छ।

दिमागको नसा बन्द हुँदा शरीरको विभिन्न अंगमा रगत बग्न सक्दैन। रगत नभएपछि ती नसाहरु मरेर जान्छन्।

यो मस्तिस्कघात हुँदा प्रयोग गरिन्छ। डाइबेटिज, धुम्रपान, प्रेसर र विभिन्न कारणले रगतका भित्ताहरु फुलेर फुट्दछ।

नसा फुटेपछि रगत सबै दिमागमा छरिन्छ जसलाई ब्रेन हेमरेज भनिन्छ। पहिले यसको उपचारका क्रममा टाउको खोलेर सिलाइन्यो।

दिमागको नसाको भित्तामा बोसो जमेर पनि नसा बन्द हुनसक्छ । जुनसुकै कारणले दिमागको नसा बन्द भए पनि त्यसलाई खोल्ने प्रविधि दुई किसिमको हुन्छ ।

एउटा प्रविधि हो दिमागको नसाको आकारजत्रै एउटा ट्युब लगेर रगतको थेग्लो तानिन्छ। त्यसलाई एस्पिरेसन (aspiration) प्रविधि भनिन्छ ।

यस्तै, झिल्लीजस्तो जालीलाई बन्द भएको नसामा लगेर रगतको थेग्लो वा बोसोलाई समातेर बाहिर निकाल्ने गरिन्छ ।

त्यसलाई स्ट्रेन रिट्टेबल भनिन्छ ।

अहिले टाउको नकाटी तारको माध्ययमबाट सिलाउने गरिन्छ जसलाई इन्डोभास्कुलर कोइलीङ भनिन्छ।

यस्तो विधि नेपालमा दुईवर्ष अगाडिमात्र इस्टवेस्ट कन्सनले भित्र्याएकाे हो। विदेशमा भने पहिले नै सुरु भएको हो।

यो विधिबाट उपचार गर्दा बिरामीहरुले ठूलो घाउको पीडा सहनु पर्दैन। यसबाट ठूलो घाउ नबनाई उपचार गर्न सकिने हुन्छ भने सर्जरी गर्दा लामो समय पनि लाग्दैन।

बिरामीलाई आइसियुमा राख्दा इन्फेक्सन हुँदैन भने आइसियुमा लामो समय बस्नु पर्दैन। बिरामी चाँडै निको हुन्छ। ४ देखि ७ दिनपछि सामान्य मानिस झैं हिँडडुल गर्न सक्छ।

बाँसबारीस्थित न्यूरो अस्पतालका न्यूरो इन्टरभेन्सनिस्ट डा.सुवास फुँयालसँग गरिएकाे कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय