ग्रिनसिटी अस्पतालको छटपटी, टेकुमा फेरेको चैनको सास

एक महिनाअघिसम्म कुनै युद्ध मैदानजस्तो लाग्ने ‘टेकु’ परिसर हिजोआज शान्त छ।

परिसर खाली भए पनि अस्पतालमा भर्ना भएर लामो समयदेखि मृत्युसँग संघर्ष गरिरहेका बिरामीका परिवारजन, आफन्तले उपचारका क्रममा भोगेका हन्डर, दुःख, पीडा अझै भुल्न सकेका छैनन्।

आइसियु बाहिरका सिँढीमा आफन्तहरू टोलाइरहेका छन्। कोही औषधीको पुर्जा लिएर फार्मेसीतिर भाैंतारिरहेका छन्।

सबैजसो कुरुवाका मलिन अनुहारमा अस्पतालमा छटपटाइरहेका आफन्त तंग्रिने आसा जीवित छ।

तिनै कुरुवाका भीडमा छन् नुवाकोटका हुमबहादुर प्याकुरेल।

प्याकुरेललाई खोज्दै हामी आइसियुको ढोकासम्म पुगेका थियौं।

नर्सिङ इन्चार्ज उषा देवकोटाले बेड नम्बर ७ बिरामीका कुरुवा भनिसक्दा नसक्दै चिसो भुइँमा पल्टिरहेका उनी जुरुक्क उठे।

‘किन र म्याम? बिरामी केही भयो। औषधी ल्याउनुपर्यो?,’ उनले मधुर स्वरमा भने।

एक सरो मैलो कपडा, खुट्टामा खिइसकेको चप्पल। छड्के पारेर भिरेको मैलो झोला।

सँगै थिइन् उनकी श्रीमती।

‘निजीमा उपचार गर्दागदै खर्च धान्न नसकेर आएका,’ अस्पतालका चिकित्सकले उनीहरूको पछिल्लो परिचय दिए।

प्याकुरेलका जेठान राजेन्द्र तिमिल्सिनालाई जेठ २८ मा कोरोना संक्रमण पुष्टि भयो।

घरमा दुई–चार दिन आराम गरे। तर, निको हुने छाँट देखिएन। समस्या बढ्दै गयो।

नजिकै रहेको त्रिशुली अस्पताल पुर्याए।

आइसियु बेड खाली नभएको अस्पतालका चिकित्सकले काठमाडौं लैजान सुझाव दिए।

तर, काठमाडौंमा कहाँ लैजाने? सञ्चारमाध्यममा उनले सुनेका रहेछन्। अहिले सरकारी अस्पतालमा बेड पाइँदैन।

‘एम्बुलेन्सबाट ल्याउँदै गर्दा धेरै निजी अस्पतालमा फोन गरे। कसैले बेड छैन भने कसैले पहिला एक लाख धरौटी राख्नुपर्छ’ भन्ने जवाफ पाए।

एम्बुलेन्समा बिरामी राखेर उपत्यकाका केही अस्पताल चहारे। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल लगायत केही अस्पतालको काउन्टर पुगे।

उनीहरूले एक दिनको लाग्ने पैसा सुनाउँदा मुटु काँप्थ्यो। तर, के गर्ने? ज्यान बचाउन सकिन्छ कि भन्ने आसा थियो। उनीहरू ग्रिनसिटी अस्पतालको ढोकामा पुगे।

आइसियुमा राखेको ६ घन्टाको ६० हजार!

असार ४ मा बिहान ७ बजे तिमिल्सिना भर्ना भएका थिए।

भर्ना गर्नुभन्दा अगाडि अस्पतालले धरौटी माग्यो। ४० हजार धरौटी राख्न भनियो। तर, उनीसँग त्यति पैसा थिएन।

‘अहिले २० हजार राख्नुहोस्। अरु जोरजाम गर्दै गर्छु’ भन्दै प्याकुरेल पैसा जुटाउन लागे।

‘त्यही पैसा पनि रातभरि लगाएर गाउँका मानिससँग ५–१० हजार गर्दै सापटी गरेको थिएँ,’ उनी भावुक हुन्छन्

अस्पतालले दुई घन्टाकै बीचमा पुनः २० हजार धरौटी राख्न भन्यो।

त्यहीबीचमा फार्मेसीको औषधीको बिल आयो १५ हजार रुपैयाँको।

यो त बिल आउने सुरुवातमात्रै रहेछ। बिल चढ्दै गयो, तनावले टाउको घुम्न थाल्यो।

कहाँबाट पैसा ल्याउने?

तीन–चार घन्टाको बीचमा ६०–७० हजारको बिल आउँथ्यो।

‘छिनछिनमा यताउता गर्दै सबै पैसा सकियो,’ प्याकुरेल भन्छन्, ‘निजी अस्पतालमा उपचार गराउन नसकिने रहेछ भन्दै हरेस खाएँ।’

अब के गर्ने त?

उनीसँग केही विकल्प थिएन।

यहीँ बिरामी राख्नु भनेको मिटर चढे जसरी बिल चढाइरहनु थियो। एकातिर बिल, अर्कोतिर छटपटी।

बिरामीलाई अस्पतालबाट निकालौं, केही पो हुने पो हो कि!

दुई घन्टामा दिमागले काम गर्न छाडेको जस्तै भयो। के गर्ने, के नगर्ने अलमलमा परे।

एक दिन उपचार गरेकै लाखौं पैसा सकिने भयो।

कति दिन अस्पताल राख्नुपर्ने हो थाहा थिएन।

‘लाखौं तिर्ने मसँग आँट थिएन। छिनछिनमा बिल उठिरहेको थियो। तर, मेरो हात–खुट्टा काम्न थालिसकेका थिए,’ उनी भन्छन्।

उनी सरकारी अस्पतालमा बेडको खोजी गर्न थाले। जसोतसो नुवाकोटकै एक पत्रकारले टेुकमा आइसियु बेडको व्यवस्था गरिदिए।

‘बेड खाली भएको सुन्दा मन धेरै हलुको भयो। निजी अस्पताल हामीजस्ताका लागि होइन रहेछ भन्ने महसुस भयो,’ प्याकुरेल भन्छन्।

तर, समस्या थपियो, ग्रिनसिटीबाट बिरामी डिस्चार्ज गर्न पनि पैसा भएन।

अस्पतालमा औषधी, बेडलगायत सम्पूर्ण गरेर ६५ हजार उठिसकेको रहेछ।

तिर्न बाँकी अझै २० हजार।

काठमाडौंमा बस्ने आफन्तसँग हारगुहार गरे प्याकुरेलले।

र, दिउँसो २ बजे डिस्चार्ज लिए।

सरकारले निजी अस्पतालको आइसियुमा राखेको शुल्क दैनिक १५ हजारसम्म तोकेको छ।

सरकारले पटक–पटक पत्रमार्फत बढी पैसा लिन नपाउने भनेर निर्देशन दिँदा पनि निजी अस्पतालको मनपरी रोकिएका छैनन। ग्रिनसिटी एउटा प्रतिनिधि अस्पतालमात्रै हो।

जेठानलाई टेकु अस्पताल पुर्याएपछि प्याकुरेलले चैनको सास लिए। मन अलि शान्त भयो। ज्यान र घर पनि बच्छ कि भने आशमा।

‘ग्रिनसिटिमा हुँदा त बिरामीको भन्दा पनि बढी पैसा जुटाउन बढी चिन्ता परेको थियो,’ उनी भन्छन्, ‘अहिले त पैसाको कुनै चिन्ता छैन। सबै उपचार निःशुल्क भएको छ।’

तीन दिन आइसियु बसाइपछि हामीसँग कुरा गरेको दिन उनका जेठानलाई जनरल बेडमा सार्ने जानकारी चिकित्सकले दिएका थिए।

‘सबै निजी अस्पताललाई सरकारले लिएर चलाउनुपर्छ। निजी अस्पतालमा पैसा बगाउनुपरेको सम्झँदा त मुटु नै काम्छ,’ उनले अन्त्यमा भने।

अस्पतालमा आएका बिरामी फर्काउँदैनौं : डा. बास्तोला

अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले निजीमा पैसा तिर्न नसकेर धेरै बिरामी सरकारीमा रिफर भएका थुपै उदाहरण भएको बताए।

‘आइसियु सबै भरिभराउ हुँदा पनि अक्सिजनमात्रै दिएर राख्ने बिरामीलाई पनि सकेसम्म व्यवस्थापन गरिराखेका हुन्छौं,’ डा. बास्तोलाले भने।
टेकुमा अहिले पनि सम्पूर्ण आइसियु बेड भरिभारउ जस्तै छ।

‘मुस्किलले कुनै दिन एक बेड खाली हुन्छ। त्यहीँ, आइसियु पालो कुरेर बस्नुभएका बिरामी लैजाँदा बाहिरबाट आएका मानिसलाई बेडको व्यवस्थापन गर्न सकिँदैन,’ उनले समस्या पोखे।

टेकुमा २२ आइसियु, आइसोलसनमा ३३ र आकस्मिक कक्षमा पाँच बिरामी उपचाररत छन्।

‘सयौं संख्यामा बिरामीलाई आँगनमा राखेर पनि उपचार गर्यौं। अहिले केही कमी भएको छ। तर, आइसियु तथा भेन्टिलेटर भने अझै खाली छैनन्,’ उनले सुनाए।

‘पैसा छैन। निजीमा राख्दा घरबार जान लागिसक्यो। जसरी भए पनि बेड मिलाइदिनुपर्यो भनेर फोन आउँछ,’ डा. बास्तोला भन्छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय