कोरोना भाइरस झन्–झन् संक्रामक बन्दै, महिनौंसम्म बिरामी आइसियूमा

फाइल फोटो

४९ वर्षीय भक्तबहादुर (नाम परिवर्तन) काठमाडौंवासी हुन्। कोरोना संक्रमण भएपछि डेढ महिनाअघि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका थिए उनी।

उनले कहिल्यै सोचेका थिएनन् कि, कोरोना भाइरस खेलाँची हो भनेर। सुरुमा अस्पताल भर्ना हुँदा उनलाई आइसोलेसन वार्डमा राखियो।

अवस्था नाजुक हुँदै गएपछि चिकित्सकले उनलाई आइसियुमा सारे। केही हप्ता आइसोलेसनमा जीवन-मरणको खेलबीच उनले नयाँ जीवन पाए। सुधारिएको अवस्था देखेपछि डाक्टरहरुले उनलाई पुन: आइसोलेसन वार्ड मै सारिदिए। उनको पिसिआर परीक्षण नेगेटिभ छ।

उनलाई डाक्टरहरुले घर फर्कंदा पनि हुन्छ भनेर डिस्चार्ज पेपर पनि तयार पारे। तर, उनी जान मानिरहेका छैनन्। भन्छन्, ‘म मरेर बाँचेको मान्छे। मलाई घर गएर फेरि मर्नु छैन। यहीँ बसेर पूर्ण रुपमा निको भएर मात्र फर्कन्छु।’

हाल उनी अक्सिजनको सहायतामै अस्पतालको शय्यामा बसिरहेका छन्। ‘उनीसँगै भर्ना भएका कयौं बिरामी डिस्चार्ज भएर घर फर्किसकेका छन्। धेरैले अक्सिजन घरमा व्यवस्थापन गरेर पनि फिरेका छन्। तर, उनलाई चिकित्सकले नै घर जाँदा हुन्छ भन्दा पनि जान चाहेनन्’, आइसोलेसन वार्डकी प्रमुख नर्स कमला पौडेलले बताइन्।

उनीसँगै उनका २९ वर्षीय छोरा पनि भर्ना भएका थिए। तर, उनी डिस्चार्ज भइसकेका छन्। भक्तबहादुरलाई कुर्न उनकी श्रीमती साथमा छिन्। कोरोना संक्रमणका कारण लामो समयसम्म अक्सिजनको सहायतामा बस्नुपर्ने बिरामी बढ्दै जान थालेका छन्। टेकु अस्पतालमा ६ जना बिरामी लामो समयदेखि उपचाररत छन्।

‘आइसोलेसन वार्डमा दुईजना र आइसियुमा चारजना बिरामी छन्,’ पौडेलले भनिन्, ‘केही बिरामी चाँडै निको हुने र फलोअपमा आउने गरेका छन् भने केही दुई महिनादेखि अस्पतालमै रहेका छन्।’

बिरामीहरुमा पोष्ट कोभिड देखिएका कारण लामो समयदेखि अस्पतालबाट डिस्चार्ज गर्न नसकिएको अस्पतालका प्रशासक नवराज गौतम बताउँछन्। टेकु अस्पताल कोभिड अस्पताल भएका कारण निको भएका बिरामी लामो समयसम्म बस्दा अफ्ठ्यारो पर्ने गरेको उनले बताए।

‘बिरामी कोरोना संक्रमणबाट मुक्त भएपनि स्वास्थ्य समस्याका कारण अस्पतालबाट जान सकेका छैनन्। हामीले बिरामीलाई अन्य अस्पतालमा रिफर गरिदिन्छौं भन्दा पनि मान्दैनन्,’ उनले भने। हाल टेकु अस्पतालका सबै आइसियु बेड भरिएका छन् भने आकस्मिक कक्ष भरिने क्रममा छ। सामान्य बिरामीलाई राख्ने आइसोलेसन वार्डमा भने बिरामी कम भइरहेका पौडेलले जानकारी दिइन्।

‘यस वर्ष निकै गम्भीर भएर अस्पताल भर्ना हुन आउने बिरामी बढेका छन्। हामीले सामान्य लक्षण भएका बिरामीलाई भर्ना नै गरेनौं,’ अस्पतालका निर्देशक अनुप बास्तोलाले बताए। गम्भीर प्रकारका बिरामी्लाई निको हुन समय लागेका कारण लामो समयसम्म अस्पतालमै रहेका उनले बताए।

टेकुमा मात्र नभई काठमाडौंका अन्य कोरोना अस्पतालहरुमा पनि लामो समयसम्म उपचाररत बिरामी रहेका छन्। निजामती कर्मचारी अस्पतालमा हालै दुईजना ४० दिनभन्दा बढी उपचार गरेर घर फिरेका छन् भने सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा झण्डै ७/८ जना बिरामी एक महिना भन्दा लामो समयदेखि उपचाररत छन्।

‘कोरोना संक्रमणका गम्भीर बिरामीलाई निको हुन समय लाग्ने गरेको छ। गम्भीर अवस्था भएका बिरामीहरुमा ‘लङ्ग्स फाइब्रोसिस’ (फोक्सोमा खद बस्ने) हुने गरेको छ,’ निजामती कर्मचारी अस्पतालका आइसियु फिजिसियन डा. प्रदिप तिवारीले भने। त्यस्तै संक्रमण हुँदा निमोनिया देखिएका बिरामीको फोक्सोको बनावट नै बिग्रेको हुन्छ।

पिसिआर परीक्षण गर्दा कोरोना भाइरस नेगेटिभ आएपनि स्वास्थ्य निको हुन भने धेरै समय लाग्ने हुन्छ। ‘पहिलो कोरोना संक्रमणको लहर सामान्य हो भने दोस्रो लहरको कोरोना नै वास्तविक हो,’ उनले भने। कोरोना संक्रमणका आधाभन्दा बढी बिरामीलाई निको भएर पनि अक्सिजनको सहायता चाहिएको थियो। केही अझै पनि अस्पतालको आइसियुमा उपचाररत छन्।

‘अस्पतालमा भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजनको व्यवस्थापन गरेर मात्र डिस्चार्ज गरेका छौं। एक व्यक्तिलाई अस्पतालबाट दुई लिटर अक्सिजन दिएरसमेत पठाएका छौं,’ शसस्त्र प्रहरी बल अस्पताल बलम्बुका प्रवक्ता प्रविन नेपालले भने। धेरै जसो बिरामीहरु पुन: फलोअपमा पनि आउने गरेको उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *