कहाँ हराए क्षयरोगका ४१ हजार बिरामी ? 

हेल्थपोस्ट नेपाल

नेपालमा अझै ४१ हजारभन्दा बढी क्षयरोगका बिरामीहरु उपचारबाट वञ्चित रहेका तथ्यांक सार्वजनिक भएको छ। हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकामा हालसम्म २७,७४५ जनाले मात्र उपचार पाइरहेका छन्। बाँकी बिरामी उपचारको पहुँचबाट बाहिर रहेको जनाइएको छ।

हालै प्रकाशित क्षयरोग प्रिभिलेन्स सर्भेको नतिजा अनुसार नेपालमा वार्षिक रुपमा ६९ हजार नयाँ विरामी थपिने गरेको अनुमान गरिएको छ।
तर राष्ट्रिय क्षयरोग कार्यक्रमको वार्षिक प्रतिवेदन २०७६÷७७ अनुसार २७,७४५ जनाले मात्र रोग पत्ता लागि उपचार गराएका छन्।

यसका आधारमा अझै पनि ६० प्रतिशत क्षयरोगका विरामी उपचार सम्पर्कबाट बाहिर छन्।

प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहँदै आएको क्षयरोग सरुवा रोग भएका कारण हराईरहेका विरामी पत्ता लगाउन निकै चुनौतीपूर्ण रहेको छातीरोग विशेषज्ञ डा नवीनप्रकाश शाहले बताए।

नेपालमा २ सय व्यक्तिहरुलाई औषधि प्रतिरोधी क्षयरोगको विकास हुने गरेको छ भने यसैरोगका कारण १७ हजार व्यक्तिको मृत्यु हुने गरेको छ।

क्षयरोग माइक्रोब्याटेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण हुन्छ।

यो रोग खोक्दा वा हाछ्युँ गर्दा विरामीबाट हावामा गई हावालाई दुषित बनाउँछ र उक्त हावा स्वास्थ्य मानिसले लिँदा रोग सर्न सक्छ।
लगातार खोकी लाग्ने, साँझपख हल्क ज्वरो आउने, खाना नरुच्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जानेजस्ता लक्षणहरु देखा परेमा रोग लागेको हुन सक्छ।

‘यस्तो लक्षण देखिए नजिकको स्वास्थ्यसंस्थामा जचाउन जानुपर्छ,’ उनले भने।

राष्ट्रिय क्षयरोग कार्यक्रमले ७०० भन्दा बढी माइक्रोस्कोपी केन्द्र र ८० भन्दा बढी जीन एक्सपर्ट केन्द्रहरुबाट क्षयरोगको निदानको व्यवस्था गरिएको जनाएको छ। त्यस्तै ४००० भन्दा बढि डट सेन्टरहरुबाट क्षयरोगको उपचार भइरहेको छ।

क्षयरोग र कोरोना दुबै स्वासप्रस्वासबाट सर्ने रोग हो।

यो दुबै रोगले फोक्सोमा असर गर्दछ। दुवै रोगका मिल्दा लक्षणमा ज्वरो आउने, खोकी लाग्ने, थकाई लाग्ने, सास फेर्न गाहो हुने हुन्छ।
त्यसैले यस्ता लक्षण देखिए कोरोनाका साथ क्षयरोगको परीक्षण गराउनु पर्छ।

क्षयरोग केन्द्रको अनुसन्धानमा ४० प्रतिशत डिआरटिभीका विरामीहरुमा कोभिड–१९को इन्फेक्सन देखिएको छ।

क्षयरोगका विरामीलाई कोभिड भएमा चाँडै निमोनिया बढ्ने र स्वासप्रस्वाससम्बन्धी जटिलता आउने भएकोले समयमै सजगता अपनाउनुपर्छ।

कोरोना संक्रमण भएका कारण स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार १ महिनालाई पुग्ने औषधि लैजान लान र तोकिएको समयमा नियमित खकार जाँच गर्न सुझाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *