तपाईका बालबालिकालाई कोभिडसम्बन्धी घातक रोगका यस्ता लक्षण छन् कि?

हेल्थपोस्ट नेपाल

काठमाडाैं सिनामङ्गल बस्ने निर्मल ढकाल र उनकी श्रीमती अङ्किता कोइरालाका साढे १० महिने छोरालाई सुरुमा ज्वरो आयो र जिउमा साना साना डाबरहरू देखियो।

कहिले १०३ सम्म ज्वरो आउने र कहिले ज्वरो घट्ने भएपछि उनीहरूले आफूले पहिला देखाउँदै आएका बाल रोग डाक्टरलाई सम्पर्क गरे।

पिसाबमा सङ्क्रमण भएको शङ्का गरेर डाक्टरले परीक्षण गर्न सुझाए।

“रिपोर्टका लागि तीन दिन कुर्नुपर्ने भयो। तर त्यो बीचमा छोरालाई ज्वरो बढ्यो। एकदमै झिजिने गर्थ्यो अनि हामीले अस्पताल पुर्‍यायौँ,” ढकालले  भने।

ग्राण्डी सिटी अस्पताल पुगेर परीक्षण गर्दा बच्चाको ज्वरो १०४.८ डिग्री देखियो र शरीरमा राता डाबरहरू अझै धेरै देखियो।

चिकित्सकले कोभिडपश्चात् बालबालिकामा देखिने मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन एमआईएस-सी भएको शङ्का गरे र थप उपचारका लागि तत्काल मेडिसिटी लैजान सुझाए।

“मैल राति दुई बजे मेडिसिटी लगेँ र त्यहाँ परीक्षण गर्दा यो एमआईएस-सी नै हो भन्ने पत्ता लाग्यो,” ढकालले भने।

“त्यहाँ पाँच दिन पीआइसीयु (बालबालिकालाई राख्ने आइसीयू) मै राखेर उपचार गर्नुपर्‍यो। १३ दिन अस्पतालमा राखेपछि छोरालाई डिस्चार्ज गरियो। तर अझै पनि उसलाई रगत पातलो बनाउने औषधि दिइरहेका छौँ र फेरि फलोअपमा लगेपछि कति सुधार भयो थाहा हुन्छ।”

सुरुमा रोग पत्ता लगाउनै कठिन

यस्तै समस्यामा परेका अर्का अभिभावक ललितपुर कुसुन्ती बस्ने प्रकाश ढुङ्गाना हुन्। उनका तीन वर्षीय छोरालाई पनि सुरुमा उच्च (१०३) ज्वरो आयो।

चिकित्सकले फोनबाट पारासिटामोल दिन सुझाए। तर त्यसले एक/दुई घण्टा ज्वरो घटे पनि फेरि बढिहाल्थ्यो। ढुङ्गानाका अनुसार बच्चाको आँखा पनि अस्वाभाविक रातो हुन थाल्यो र जिब्रोको रङ्ग स्ट्रबेरी जस्तै रङ्गको। जिब्रोमा खटिरा पनि देखियो।

“हामीले डाक्टरलाई यस्तो यस्तो भयो भन्दा एन्टिबायोटिक चलाउन भन्नुभयो। तीन दिनपछि पनि निको नभएपछि हामीले अल्का अस्पताल लगेर करिब करिब २६ वटा विभिन्न थरीका परीक्षण गरायौँ,” ढुङ्गानाले भने।

त्यतिबेला डाक्टर अरुणकुमार शर्माले बच्चालाई एमआईएससी भएको हुनसक्ने शङ्का व्यक्त गरेका थिए।

“रिपोर्टमा सबै नराम्रो रहेको भन्दै उहाँले टिचिङ हस्पिटलमा भर्ना गर्न सुझाउनुभयो र एमआईएससी नै भएको पत्ता लागेपछि उपचार सुरु भयो,” ढुङ्गानाले बीबीसीसँग भने।

टिचिङमा उपचार थालेपछि बिस्तारै कम हुँदै गयो। ढकाल परिवारले जस्तै उनले पनि छोरालाई रगत पातलो बनाउने औषधि दिइरहेका छन्।

“मुटुको धमनी सुन्निएको भनेर यो औषधि दिनुभएको छ र अब थप परीक्षण गरेर स्वास्थ्यबारे थाहा हुन्छ भनेकोले फलोअपमा जानुपर्छ,” ढुङ्गानाले भने।

ढुङ्गाना र ढकालले चिनजानका मानिसहरूको सहयोगमा स्वदेश र विदेशमा रहेका डाक्टरहरूसँग समेत समयमै सम्पर्क गरे। त्यसै अनुसार परीक्षण लगायत महँगो उपचार गर्न सकेका कारण रोग पत्ता लाग्यो र दुवै परिवारका बालकहरू निको हुने क्रममा छन्।

उपचारमा ढिला भए ज्यानै जानसक्ने यो रोगबारे धेरैलाई थाहा नभएको जस्तो लागेर ढकाल दम्पतीले अहिले फेसबुकमा एउटा समूहमार्फत् यसबारे अन्य अभिभावकलाई जानकारीसमेत दिन थालेका छन्।

तर समयमै चिकित्सकीय सेवा नपाउने र आर्थिक भार बेहोर्न नसक्ने थुप्रै परिवार अझै सिटामोल वा एन्टिबायोटिकको भरमा बच्चा निको होला भनेर बसेको हुनसक्ने चिकित्सकहरू बताउँछन्।

विरल तर घातक

कोभिड भएका बालबालिकामा देखिने एमआईएस-सी एउटा गम्भीर स्वास्थ्य समस्या हो। यो कोभिडको इम्युन प्रतिक्रियात्मक रोग हो।

रोग पत्ता लगाउने र उपचार गराउने क्रममा ढुङ्गाना र ढकाल परिवारको भोगाइ समान भए पनि कोरोनाभाइरसको सङ्क्रमणको पाटो भने भिन्न छ।

ढुङ्गाना परिवारलाई कोरोनाभाइरस सङ्क्रमण नेगेटिभ देखिएको २५ दिनपछि बच्चामा लक्षणहरू देखिएको थियो।

तर ढकाल दम्पतीलाई भने पहिलो लहरका बेला मात्रै कोरोनाभाइरस सङ्क्रमण भएको थियो। उनीहरूका अनुसार दोस्रो लहरका बेला सङ्क्रमण नै भएको थिएन।

कोभिडपश्चात् लाग्ने भएकाले कोभिड नदेखिएका अभिभावकहरू आफूलाई वा आफ्ना बच्चालाई कोभिड लागेको छैन भनेर एमआईएस-सीको लक्षण देखिँदा पनि ढुक्क भएर बस्न नहुने चिकित्सकहरू बताउँछन्।

पेडियाट्रिक इम्युनोलोजिष्ट डाक्टर धर्मागत भट्टराईका अनुसार कोभिड लागेका ६० देखि ८० प्रतिशत बालबालिकाहरू लक्षणविहीन हुन्छन् र जटिल र गम्भीर प्रकृतिका १ देखि २ प्रतिशत मात्रै हुन्छन्।

उनले बीबीसीसँग भने, “हामीले बुझ्नुपर्ने कुरा के हो भने कोभिडको सम्पर्कमा आएका बालबालिकाहरू जसमा एन्टिबडि, एन्टिजन, पीसीआर कुनै पनि एउटा पोजिटिभ छ भने कोभिडको सम्पर्कमा आएको ६, ८ वा १० हप्तापछि पनि एमआईएस-सी देखिन सक्छ।”

तर यो रोग एकदमै विरलै हुने उनी बताउँछन्। अमेरिकाको मिसिगन युनिभर्सिटीको तथ्याङ्क अनुसार ०.०१ प्रतिशत बालबालिकामा मात्रै यो रोग देखिन्छ।

नेपालमा अहिलेसम्म कति बालबालिकामा एमआएससी?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा गत असोजमा पहिलो बिरामी देखिएयता अहिलेसम्म ८० जनालाई एमआईएस-सी रोग पुष्टि भएको छ। चार जना बालबालिकाको उपचारका क्रममा मृत्यु समेत भएको छ।

तर स्वयं सरकारी अधिकारी र विज्ञहरू मन्त्रालयको तथ्याङ्कभित्र नपरेका अन्य धेरै बालबालिकामा यो रोग लागेको हुनसक्ने स्वीकार गर्छन्।

“अहिले पनि दुई तिहाइ अर्थात् ६६ प्रतिशत अभिभावकहरूले बालबालिकालाई स्वास्थ्य समस्या देखिँदा सुरुमा लैजाने नजिकैको मेडिकलहरूमै हो,” बाल रोग विशेषज्ञसमेत रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले भने।

“अभिभावकहरूलाई मात्रै होइन चिकित्सकलाई नै पनि सुरुमा लक्षणहरू हेरेर यही रोग हो भनी पत्ता लगाउन कठिन छ।”

रोग लागेको पहिचान कसरी गर्ने?

डाक्टर भट्टराईका अनुसार यो रोगबारे कतिपय बाल रोग विशेषज्ञहरू नै पनि अनभिज्ञ हुनसक्ने कारण ‘अन्डर रिपोर्टेड’ घटना थुप्रै हुनसक्छ।

त्यसैले उच्च ज्वरो आउने र पारासिटामोलले नघट्ने, सास फेर्न गाह्रो हुने वा पखाला लाग्ने, आँखा, जिब्रो रातो हुने र शरीरमा राता डाबरहरू देखिए ढिला नगरी चिकित्सक कहाँ पुर्‍याउनुपर्ने चिकित्सकहरू सुझाउँछन्।

“ज्वरोसँगै दुई वा दुईभन्दा बढी प्रणालीगत लक्षणहरू देखिएको छ भने एमआईएस-सी भएको सोच्नुपर्छ र यसले ५० प्रतिशतभन्दा बढीमा मुटुको समस्या देखिन्छ,” डाक्टर भट्टराई भन्छन्, “बच्चाको हृदय, स्वासप्रस्वासको गति तीव्र भएको वा हातखुट्टा सुनिने लक्षणहरू पनि हुनसक्छ।”

त्यस्तो लक्षणहरू देखिएका छन् भने बिना परीक्षण औषधी दिनुभन्दा सामान्य परीक्षणहरू गर्न उनी सुझाउँछन्।

“कम्प्लिट ब्लड काउन्ट, कलेजो र मिर्गौला परीक्षण गर्‍यो भने त्यसको नतिजाको आधारमा एमआईएस-सी हो कि होइन भनेर पत्ता लगाउन सकिन्छ,” डाक्टर भट्टराईले भने।

उपचार महङ्गो र औषधि उपलब्धता चुनौतीपूर्ण

ढकाल र ढुङ्गाना दुवैले उपचारका क्रममा मानसिक तनावमात्रै खेपेनन्। आर्थिक भार पनि बेहोरे।

ढकालका अनुसार अहिलेसम्म उपचारमा साढे चार लाख रुपैयाँ खर्च भएको छ भने ढुङ्गानाका अनुसार सवा दुई लाख रुपैयाँ खर्च भइसकेको छ। उनीहरूले बच्चालाई अहिले पनि औषधि दिइरहेका छन् र थप परीक्षणहरू गराउनै बाँकी छ।

डाक्टर भट्टराईका अनुसार बालबालिकालाई यो रोग लागिसकेपछि अवस्था हेरेर चिकित्सकको निगरानीमा नराखे दीर्घकालीन स्वास्थ्य समस्या पर्नसक्छ।

एमआईएससीको उपचार महँगो मात्रै नभइ उपचारका क्रममा दिइने औषधी नेपालमा नबन्ने भएका कारण उपलब्धता पनि चुनौतीपूर्ण रहेको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताए।

एमआईएससी भएका बालबालिकालाई उपचारका क्रममा इन्ट्राभिनस इम्यूनोग्लोबुलिन(आइभीआइजी) दिइन्छ।

उक्त औषधिको एक भाइलकै १८ हजार रुपैयाँ पर्छ र बालबालिकालाई उक्त औषधिको आवश्यकता अनुसार ६ भाइलसम्म दिनुपर्ने बताइन्छ।

“आइभीआइजी एमआईएससी भएको १० दिनभित्र दियो भने मात्रै प्रभावकारी हुन्छ भन्ने तथ्याङ्क छ। त्यसकारण १० दिनभन्दा ढिला बिरामी आइपुग्यो भने आइभीआइजी दिनुको फाइदा पहिला जति हुँदैन,” डाक्टर भट्टराईले भने।

एमआएससीका बिरामीको उपचार व्यवस्था के छ?

त्यसो भए कोभिड सम्बन्धित यो रोगको उपचारमा सरकारले म्यूकोर्माइकोसिसलगायत अन्य उपचारमा जस्तै ‘प्रोटोकल’ बनाएको छ कि छैन?

मन्त्रालयका प्रवक्ता पौडेल भन्छन्, “एमआइएससीको उपचार व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय मापदण्डको आधारमा रहेर हाम्रो लागि उपयुक्त प्रोटोकल नेपाल पेडियाट्रिक सोसाइटीले बनाइसकेको छ। र, सरकारको तर्फबाट पनि उपचारात्मक सेवा महाशाखाले त्यसलाई स्वीकार गर्दैछ।”

तर अहिलेसम्म उपचार खर्च भने अभिभावक आफैँले गर्दै आएको उनले बताए।

लामो समय निषेधाज्ञा जारी राख्दा पनि कोरोनाभाइरसको सङ्क्रमण दर २० प्रतिशत हाराहारीमा रह्यो।

यसैसाता निषेधाज्ञा खुकुलो भएपछिको पछिल्लो तथ्याङ्कले बुधवार र बिहीवार सङ्क्रमण दर २५ प्रतिशत पुगेको थियो।

डाक्टर धर्मागत भट्टराईका अनुसार सङ्क्रमण जहिलेसम्म रहन्छ, एमआईएससीको जोखिम पनि त्यति नै बेला र अलि पछिसम्म रहन्छ।

“त्यसैले सबैभन्दा पहिला कोरोनाभाइरसको सङ्क्रमणबाट नै बालबालिकालाई जोगाउनुपर्छ ताकि एमआईएस-सी हुने सम्भावना नै नहोस्,” उनले भने।

कोरोनाभाइरस भइसकेका वा थाहा नभएका परिवारले पनि सङ्क्रमण सकिएको केही समय पछिसम्म पनि यो रोग बालबालिकालाई लाग्न सक्छ भनेर लक्षणबारे थप सचेत हुन उनले सुझाए।

बिबिसीबाट



Leave a Reply

Your email address will not be published. Required fields are marked *