नेपालमा दोस्रो लहरमै थियो ‘डेल्टा प्लस’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ७ गते एक सुचना जारी गर्दै नेपालमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ AY.1–  – एवाई.१’ पत्ता लागेको बतायो।

भारतमा देखिएको डेल्टा भाइरस नै म्युटेन्ट भएर सिर्जना भएको ‘K417n\   के४१७एन’ भाइरसलाई ‘डेल्टा प्लस’ नामाकरण गरिएको थियो।

मन्त्रालयको सूचना प्रकाशन भए लगत्तै चिकित्सक, सम्बन्धित निकायहरु र जनताहरु पनि त्रसित भए। डेल्टा भेरियन्टको सिकारबाट बल्ल उठ्न खोज्दै गरेको देशले पुन नयाँ भेरियन्ट भोग्नुपर्ला भनेर सबै सचेत बने।

कोरोना संक्रमणका कारण झण्डै डेढ वर्ष खेर गइसकेका कारण चाँडो यस भाइरसबाट छुट्कारा पाउन चाहनेहरु पुन निराश बने।
तर ,वास्तवमा कोरोना संक्रमणको दोस्रो लहरमै नेपालीहरु डेल्टा प्लसको चपेटामा पसिकेका थिए।

स्वास्थ्य मन्त्रालयको सुचनाका अनुसार बैशाख २६ देखि जेष्ठ २० गते सम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको परीक्षण गरिएको थियो।

४८ वटा संकलन गरिएको नमुनाहरु मध्य ९ वटा नमुनामा उत्परिवर्तन ‘ K417n  म्युटेसन पुष्टि भएको थियो।

मन्त्रालयले नमुना संकलन गरेको समयमा नेपालमा कोरोना संक्रमण दोस्रो लहरको उत्कर्षमा थियो।

बैशाख २७ गते ९ हजार भन्दा बढि संक्रमति भएका थिए भने एकै दिन १३९ जनाको मृत्यु भएको थियो। त्यस्तै जेठ २० गतेसम्म पनि मृत्युको संख्या घटेको थिएन भने संक्रमणको संख्या भने केही कम देखिएको थियो। एकै दिन १०१ को मृत्यु भएको थियो भने ५ हजार भन्दा बढि नयाँ संक्रमित थपिएको थियो।

‘कोरोना भाइरसको नयाँ भेरियन्टले दोस्रो लहरमै कयौं मानिसलाई संक्रमित पारिसकेको थियो। तर यसबारे हामी अनविज्ञ मात्र थियौं,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूका निर्देशक डाक्टर अनुप बास्तोलाले बताए।

डेल्टा प्लस भाइरसलाई केही दिन अघिमात्र सरकारले नयाँ म्युटेन्ट भाइरस ‘भेरियन्ट अफ कन्र्सनका रुपमा खुलाएको हो, तर वास्तबमा यो देशका विभिन्न भागमा फैलिसकेको छ, उनले भने।

उनले अब यही भाइरसले तेस्रो लहर ल्याउँछ भनेर चिन्ता मान्नु नपर्ने बताए। किनकी यस भाइरसले दोस्रो लहरमै उतण्डा मचाई सकेको छ।

‘हामीसँग जीन सिक्वेन्सिङ गर्ने प्रविधि नभएकै कारण कति व्यक्तिहरुमा फैसियो, कुन भेरियन्टका कारण देशभर सिकिस्त विरामीहरु बढे भन्ने कुरा खुलेर भन्न सकिन्न तर दोस्रो लहर गम्भीर रुपमा बढ्नुको कारण डेल्टा प्लस भेरियन्ट पनि हो,’ टेकू अस्पतालका क्लिनिकल रिर्सच युनिटका संयोजक डाक्टर शेरबहादुर पुन भन्छन्।

बेलायतले जेष्ठको दोस्रो हप्तातिर ‘नेपाल भेरियन्ट (डेल्टा प्लस) देखिएको भने दाबी गरेको थियो।

नेपालमा नयाँ भेरियन्ट पत्ता लगाउन जीन सिक्वेन्सिङ नभएकै कारण भारतको डिल्ली स्थित द इन्सिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजी मा सिक्वेन्सिङका लागि पठाइएको थियो।

त्यहाँबाट प्राप्त नतिजाबाट मात्र स्वास्थ्य मन्त्रालयले भने असारको पहिलो हप्ता प्रेस विज्ञप्तिमार्फत ‘डेल्टा प्लस’ देखिएको जानकरी दिएको थियो।

‘डेल्टा प्लस’ १९ प्रतिशत संक्रमितमा देखिएको थियो। चाखलाग्दो कुरा के छ भने, दोस्रो लहर उत्कर्षमा पुग्दा ‘डेल्टा भेरियन्ट’ र ‘डेल्टा प्लस’ दुवै देखिएका थिए। यद्दपि, ‘डेल्टा प्लस’ को भूमिका दोस्रो लहरमा के कस्तो÷कति थियो भनेर अनुसन्धान नगरी सम्भावित जोखिमको बारेमा भन्न सकिने अवस्था भने छैन, उनले भने।

हाल पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कुन भेरियन्टको भाइरस नेपाल भरी फैलिरहेको छ भनेर पत्ता लगाउने विधि छैन। भारतमा गरिएको नमुना परीक्षणलाई नै आधार मानेर डेल्टा प्लस भाइरस नेपालमा पनि छ भनेर भनिरहँदा कुन ठाउँमा कति संख्यामा फैलिरहेको छ भनेर कसैलाई पनि जानकारी छैन।

‘जीन सिक्वेन्सिङ हाम्रोमा नहुने भएकोले भारतमा पठाएको केही नमुनालाई आधार मानेर नयाँ म्युटेन्ट पत्ता लागेको हो। देशमा डेल्टा भेरियन्ट छ भनेर पुष्टि भइसकेपछि पुन गरिरहनु पर्दैन,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाले बताइन्।

डेल्टा प्लस कत्तिको संक्रमक तथा गम्भीर छ भन्ने कुरा अझै अध्ययन भइनसकेका कारण चिकित्सकहरुले सुरक्षित भएर बस्न सल्लाह दिएका छन्।

‘निषेधाज्ञा खुलिसकेको छ। यस्तोमा विभिन्न रोग तथा कोरोना भाइरसकै विभिन्न किसिमका भेरियन्ट भएका कारण आफै सुरक्षित हुन जरुरी छ,’ डा. अनुप बास्तोलाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय