वीर अस्पतालमा उपकरण खरिद विवादमा, प्रमुख डा.गौतमको सम्पति छानविन गर्न माग

कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर) संचालनमा आएको १ महिना नबित्दै विवाद उत्पन्न भएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमले खरिदमा अनियमितता गरेको भन्दै उनीविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी परेको छ।

डा. गौतमले अध्यादेशले दिएको अधिकारको दुरुपयोग गर्दै कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण गरिद गर्दा सेटिङमा महंगो मुल्यमा किनेको आरोप लागेको छ।

अस्पतालका कर्मचारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्ममा उजुरी दर्ता गराएका छन्।

उनीसँगै विवादमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालसमेत जोडिएका छन्।

एक महिनाकै अवधिमा अस्पतालबाट झण्डै १ अर्व बराबरको खरिद भइसकेको छ।

यी सबै खरिदहरु सेटिङमा महंगो र बजारमुल्य भन्दा अस्वाभाविक भएको भन्दै छानवीनको माग गरिएको हो ।

वीर अस्पताल कर्मचारी परिवारको तर्फबाट डा. गौतमले नयाँ सर्जिकल भवन सञ्चालनका लागि झण्डै चार अर्ब बराबरको उपकरण खरिद तयारीमा छन्।

उजुरीमा उनले यसअघि विभिन्न पदमा बसेर करोडौंको अनियमितता गरेको सम्पति छानविनको मागसमेत गरिएको छ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको ब्यवस्थाअनुसार कुनै प्रक्रिया बिना नै अस्पतालमा खरिद हुनै अबौंको उपकरण पनि विना प्रतिपर्दा किन्ने गरिएको छ।

उनले पदमा रहँदाको अवधिमै विभिन्न निजी कम्पनीको सेयर खरिदविक्री गरेको भन्दै सोको समेत छानवीन माग गरिएको छ ।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९१, (१) क अनुसार सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सन्चालनमा भाग लिन,स्वास्थ्य क्लिनिक वा निजि अस्पताल खोल्न तथा सन्चालन गर्ने पाइदैन।

तर, डा.गौतमले विभिन्न निजी अस्पताल, मेडिकल कलेज र कम्पनीमा करोडौं लगानी गरेको भेटिएको छ।

‘स्वास्थ्य सचिव र डा. गौतमले न्याम्स ऐनमाथि कमिसनको लागि पटक पटक हमला गरेको र कोभिड नियन्त्रण र रोकथाम होइन् कोभिडको नाममा वीरलाई ‘कमाउ धन्दा’ बनाइएको छ,’ आरोप उजुरीकर्ताको छ।

उजुरीसहित संलग्न प्रमाणअनुसार डा. गौतमले चितवन मेडिकल कलेज सीएमसीमा १ लाख ७६ हजार ४२८ कित्ता, मौलाकालिका अस्पतालमा २३ हजार ४०० कित्ता सेयर लगानी रहेको उजुरी विवरणमा उल्लेख छ।

त्यस्तै, अमेजोन नामक कम्पनीमा ८५ हजार, ग्यालेक्सीमा ९९ हजार कित्ता सेयर, क्यानभासमा ३० हजार, नारायणी आक्सिजनमा १ लाख २० हजार कित्ता सेयर रहेको पनि उनीहरुले प्रमाणसहित प्रस्तुत गरेका छन।

डा. गौतमले स्वास्थ्य सचिवको मिलेमतोमा करोडौको उपकरण खरिद सम्झौता गरिसकेको र असार ९ गते झन्डै एक अर्बको टेन्डर जम्मा ५ दिन समय दिएर आफू निकटको कम्पनीसँग पहिल्यै सबै स्पेसिफिकेसन्स (मापदण्ड) मिलाएर टेन्डर आह्वान गरेको आरोप छ।

उजुरी र अनियमितता आरोपबारे डा. गौतमले यो विषयमा दुई हप्ता केही नबोल्ने जवाफ दिए।

‘नियमन गर्ने संस्थाले गरिलाग्छ नि! म दुई हप्ता केही पनि बोल्दिन,’ डा. गौतमले भने।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय