वर्षायाममा छालालाई कसरी जोगाउने ?

हेल्थपोस्ट नेपाल

यो वर्षात्को समय। अर्थात् धेरै पानी पर्ने समय। यो मौसममा अधिकांश नेपालीका कृषि कार्य हुन्छन्। खेत रोप्न जानुपर्ने हुन्छ । पानी, हिलोको प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने हुन्छ। यस्तो बेला धेरैजसोलाई छालाको समस्या देखिने गर्दछ।

हिलोमा जाँदा हिलो, किराहरुले टोक्दा, पसिना तथा घामको रापले छालामा असर पर्दछ। खासगरी यो मौसममा सबै उमेर समूहका मानिसहरुलाई एलर्जीको समस्या देखिन्छ।

धेरैजसो बालबालिकामा किराहरु जस्तै लामखुट्टे, उपियाँ, उडुस, झुसिलकिरा वा अन्य किराहरुले टोक्दा एलर्जी हुन सक्छ।

त्यस्तै, घामको एलर्जी, पोलेन (विरुवाहरुको धुलो) को एलर्जी, धुवाँ, धुलो, जनावरका रौं आदिका कारण पनि एलर्जी हुन सक्छ।

यो समयमा छालामा हुने पहिलो समस्या हो ‘लाइकन अर्टिकेटर’। लाइकन अर्टिकेटर–किरा टोकाईको एलर्जी हुनेहरुलाई एक ठाउँमा टोके पनि शरीरका अन्य भागमा पनि फोका उठ्ने गर्दछ।

मानिसहरुको वंशाणुगत (जेनेटिक) मेकअप कै कारण एलर्जी हुने गर्दछ। विषेशगरी किराहरुको टोकाइबाट यस्ता समस्या देखिन्छ।

दोस्रो समस्या हो, एयर बर्न कन्ट्याक्ट डर्मटाइटीस। हावाबाट उडेर आएको धुलो, विरुवाहरुको परागकण ९पोलन०हरुका कारण एलर्जी हुने गर्दछ। यो समस्या मुख, अनुहारमा र हातहरुमा देखिन्छ।

तेस्रो समस्या हो घामको एलर्जी, जसलाई ‘पोलिमर्फस् लाइट इरप्सन’ (पिएमएलई) भनिन्छ।

चिल्लो अनुहार, पिम्पल आउने अनुहार भएकालाई घामका कारण त्यस्ता खटिरा बढाउने हुन सक्छ।

चौथो समस्याः घमौरा ‘प्रिक्लि हिट’, गर्मी मौसममा धेरैलाई देखिने समस्या हो यो। पानी पर्ने, गर्मी हुने र शरीरमा चिपचिप भएका कारण घमौरा आउँछ। यो ढाड, छातीहरुमा सानो रातो डण्डीफोर जस्तो फोकाहरु आउँछ। यसमा घोचेको जस्तो अनुभव हुन्छ।

गर्मीको मौसम पनि भएकाले धेरै जसोलाई दादको पनि समस्या हुन्छ। ‘दाद’ फंगस ९ढुसी० का कारण आउँछ। यसमा खानेकुराहरुको कुनै पनि प्रभाव हुँदैन। पसिना र पानी गुम्सिएर दाद आउने गर्दछ।

धेरैजसो मानिसहरु दाद आयो भनेर चिकित्सकलाई नदेखाई आफैं औषधि ल्याएर लगाउने गर्दछन्। तर यो एकदमै नराम्रो बानी हो। जुनै पनि औषधिले दादलाई केही समयसम्मलाई राहत दिन्छन्। तर पछि फेरि बल्झिने र धेरै असर गर्ने गर्दछ।

कसरी बच्ने?

घामको एलर्जी हुने मानिसहरुले घामबाट सकेसम्म बच्नुपर्छ। शरीर पुरै ढाक्नेगरी लुगा लगाउँदा राम्रो हुन्छ भने गर्मीमा सुतिको लुगा लगाउँदा पसिना सोस्ने गर्दछ। पातलो लुगा लगाए पनि बाहिर निस्किँदा सकेसम्म शरीर छोप्ने लुगा लगाउनुपर्दछ।

त्यस्तै घामबाट बँच्न सनस्क्रिम लगाउनु पर्छ। मानिसहरुको छाला अनुसार सनस्क्रिम लगाउनुपर्छ। चिल्लो छाला भए जेलबेसमा लगाउनुपर्छ भने सुख्खा छाला भए लोसन अथवा क्रिमबेसमा लगाउनुपर्छ।

दक्षिण एसियाको क्षेत्रमा बस्ने हामीहरुले ३ देखि ४ घण्टामा सनस्क्रिमले काम गर्न छोड्छ। त्यसैले हरेक ३ घण्टामा सनस्क्रिम पुन लगाउनु पर्छ।
एसपिएफको कुरा गर्दा, जति धेरै गोरो छाला छ त्यति धेरै एसपिएफ भएको सनस्क्रिम लगाउँदा राम्रो हुन्छ। यो सकेसम्म जिंक तत्व भएको किन्दा राम्रो हुन्छ।

धेरैजसो घमौरा हुने व्यक्तिहरुले पाउडर लगाउने गर्छन्। पाउडर लगाउँदा पसीना सुख्खा त गर्छ तर यसले छालालाई पनि सुख्खा बनाउँछ र झन् चिलाउने बनाउँछ।

त्यसैले घमौरा आउने व्यक्तिहरुले आइसजस्तै चिसो पानीमा सफा सुतिको कपडा भिजाएर पुछ्ने र जुनै खालको मोइस्चराइजर क्रिम वा बडिलोसन लगाउन सकिन्छ।

एकदमै पसिना आउने व्यक्तिले कहिलेकाँही पाउडर लगाउँदा पनि हुन्छ। तर घमौरा नै आएको समयमा पाउडर लगाएरमात्र सन्चो हुँदैन। पाउडरले थोरै समयका लागि मात्र फाइदा पुर्‍याउँछ।

त्यस्तै, एयर बर्न कन्ट्याक्ट डर्मटाइटीस भएका व्यक्तिहरुले सकेसम्म खेत वा बारीहरुमा जानुहुन्न। जुन ठाउँमा जाँदा आफूलाई एलर्जी हुन्छ, त्यस्ता ठाउँमा जानुहुन्न। जानै पर्दा अनुहार, हातहरु छोपेर जानुपर्छ। मोइस्चराइजर भने बढी लगाउनु पर्छ।

यस्तो बेलामा घाममा जाँदा झनै एलर्जी बल्झिन सक्छ।

जुनै पनि एलर्जीलाई घामले झनै नराम्रो बनाउने भएकाले सकेसम्म घाम पार्नुहुँदैन।

लाइकन अर्टिकेटरका बिरामीहरुले पुरा बाहुला भएका लुगाहरु लगाएर मात्र बाहिर निस्कँदा राम्रो हुन्छ। त्यस्तै, बजारमा लामखुट्टेले नटोक्ने क्रिमहरु वा लुगामा लगाउने स्टिकरहरु पाइन्छ, त्यो लगाउँदा पनि केही मात्रामा सहयोग हुन्छ।

त्यस्तै, दाद आउने व्यक्तिहरुको हकमा पसिना आउने ठाउँहरुमा सुख्खा राख्नु जरुरी हुन्छ। छालालाई छुने सबै लुगा सुतिको लगाउनुपर्छ। धेरै टाइटफिटिङ लुगा लगाउँनु हुँदैन।

त्यसैगरी धोएको लुगा सँधै घाममा सुकाउनु पर्छ। घाम नलागेको समयमा आइरन लगाएर भए पनि कक्रक्क परेको लुगा लगाउनुपर्छ। यस्तो गर्दा दाग फेरि बल्झिन सक्दैन।

दाद सरुवा रोग हो। परिवारमा एक जनालाई दाद आए अन्यलाई पनि सर्ने सम्भावना धेरै हुन्छ। किनभने धेरै परिवारहरु एउटै रुमाल प्रयोग गर्छन्।

पसिना नआउने बनाउन त सकिँदैन। तर पसिना जम्मा हुन भने दिनुहुन्न। कटनको लुगा लगाए जिउको पसिना लुगाले सोस्छ र जिउँमा धेरै समय पसिना हुँदैन। चिप्लो खालको लुगा लगाउँदा पसिना सोस्दैन र यसका कारण जिउमा रहेका पसिनाले दादको किटाणुलाई बढ्न मद्दत गर्छ।

दाद आउँदा साबुन लगाएर पखाल्दा केही हुँदैन। मानिसहरुले दाद आएको ठाउँमा साबुन लगाउनु हुँदैन भन्छन् जुन गलत हो। तर मोइस्चराइजर धेरै भएको साबुन प्रयोग गर्दा उपयुक्त हुन्छ। डाक्टरको परामर्श बिना कुनै पनि औषधि प्रयोग गर्नु उचित हुँदैन।

(कन्सलटेन्ट डर्माटोलोजी डा. स्वेता अर्याल विराट मेडिकल कलेज टिचिङ अस्पतालमा कार्यरत छिन्) 



Leave a Reply

Your email address will not be published. Required fields are marked *