कोरोना भाइरस : बंगलादेशमा ‘कडा’ लकडाउन

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७८ असार १७ गते १०:२९

बंगलादेशमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि आजदेखि देशभरि कडा लकडाउन गरिएको छ। एक साताका लागि लकडाउन गरिएको हो।

यसपालिको लकडाउनमा यसअघिका नियमहरूलाई अझै कडा बनाइएको छ भने २१ नयाँ प्रतिवन्ध थपिएका छन्।

लकडाउनका नियम उल्लंघन गर्नेलाई जेल सजायसम्म हुने व्यवस्था गरिएको छ।

भाइरसको डेल्टा भेरियन्टका कारण केही दिनदेखि बंगलादेशमा संक्रमितहरूको संख्या बढिरहेको छ।

‘नागरिकले नियम पालना गरेनन् र घरभित्रै बसेनन् भने बंगलादेशका लागि स्थिति एकदमै भयावह हुनेछ’ बंगलादेशको इन्स्टिच्युट अफ इपिडिमियोलोजीका अधिकारी एमएम अलमगिर भन्छन् ‘यो भेरियन्टको भाइरस एकदमै छिटो फैलिरहेको छ र मृत्युको सम्भावना पनि बढाइरहेको छ।’

बंगलादेशमा अहिलेसम्म ४० लाख मानिसले खोपको दुबैमात्रा लगाएका छन्। भारतले खोप नदिएपछि एक डोज लगाएका १५ लाख मानिसका लागि दोस्रो डोज अनिश्चित भएको छ।

सरकारी तथ्याङ्कअनुसार अहिलेसम्म बंगलादेशमा नौ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ। १४ हजार मानिसको मृत्यु भइसकेको छ। दैनिक एक सयभन्दा धेरै मानिसको मृत्यु र ८ हजार भन्दा धेरै दैनिक संक्रमित बढिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय