आजदेखि मनसुन थप सक्रिय, कति दिन पानी पर्छ ?

हेल्थपोस्ट नेपाल

जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन थप सक्रिय हुने बताएको छ। देशको पूर्वी तथा मध्यभागमा आजदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ।

विभागका वरिष्ठ मौसमविद मीनकुमार अर्यालले अलिअलिमात्र सक्रिय मनसुन आज दिउँसोदेखि देशको पूर्वी तथा मध्य भू-भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए।

उनकाअनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउनसक्छ। यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

यसैबीच, प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *