क्यानडामा गर्मीले १३० जनाकाे निधन

हेल्थपोस्ट नेपाल

क्यानडामा अत्यधिक गर्मीका कारण शुक्रबारयता ज्यान गुमाउनेको संख्या १३० भन्दा बढी पुगेको छ भने सोमवारयता ज्यान गुमाउनेको संख्या ६० नाघेको जनाएको छ। ज्यान गुमाउनेमा ज्येष्ठ नागरिकहरू धेरै छन्।

क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम अत्यधिक बढेको हो। गत मंगलबारमात्रै क्यानडाको लिटनमा हालसम्मकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ। मंगलबार सो क्षेत्रको तापक्रम ४९.५ डिग्रिसेल्सियस मापन गरिएको छ। आइतवार ४६.६ डिग्रिसेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्रिसेल्सियस पुगेको थियो।

भ्यानकुभरको प्रहरीले गर्मीका कारण मानिसको मृत्यु एक्कासी भइरहेको बताएको छ। उसले खासगरी ज्येष्ठ नागरिक र पहिला नै स्वास्थ्य समस्या भएकाहरू बढी जोखिममा रहेका बताएको छ। भ्यानकुभरमा मात्र गर्मीका कारण ६५ जनाको ज्यान गएको छ। भ्यानकुभरका प्रहरी अधिकारी स्टेभन एडिसनले यस्तो गर्मी भ्यानकुभरले कहिल्यै सामना नगरेको र यसकै कारण दर्जनौं मानिस मरिरहेका बताए।

वातावरण क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ। त्यसबाहेकका उत्तरपश्चिमी भूभागलाई पनि सूचना जारी गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *