डा. सागर राजभण्डारीः सरकारी जागिर पो सकियो, सेवा गर्ने जाँगर मरेको छैन नि!

मिजासिलो बोली। तुरुन्तै जो–कोहीसँग घुममिल हुने क्षमता। अझ, बिरामीसँग सामिप्यता झनै बेग्लै।

डा. सागर राजभण्डारी भन्नासाथ बिरामीको मुहारमा बेग्लै मुस्कान छाउँछ।

उमेरले ६० टेके। सोमबारबाट सरकारी जागीरबाट अवकास पाए।

नेपालमा पहिलोपटक २०७६ माघ ९ मा कोरोना संक्रमण पुष्टि भयो।

त्यसको एक महिनापछि फागुन १९ मा राष्ट्रिय क्षयरोग केन्द्रबाट राजभण्डारी निर्देशक भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) पुगे।

संक्रमणको एक वर्षपछि नेपालमा कोरोानाविरुद्ध खोप पनि भित्रियो।

तर सुरुमा खोपबारे धेरै भ्रम थिए र आम मानिसले खोप लगाइहाल्न मन गरिरहेका थिएनन्।

तर, डा. राजभण्डारीले हिम्मतसाथ खोप आफैंबाट सुरु गर्ने घोषणा गरे।

सबैतिर उनको नाम आयो – नेपालमा सबैभन्दा पहिलो कोरोना खोप लगाउने डा. सागर राजभण्डारी।

संक्रमितको उपचार तथा व्यवस्थापन र बिरामीको सेवामा रातदिन खटिरहेका डा. राजभण्डारी अवकासको पूर्वसन्ध्यामा आफैं संक्रमित भए।

‘दुई वर्षदेखि संक्रमणबाट जोगिँदै उपचारमा खटिएको थिएँ तर, सरकारी सेवाबाट अवकास प्राप्त गर्दै गर्दा संक्रमणबाट जोगिन सकिनँ,’ हेल्थपोस्टसँगको कुराकानीमा डा. राजभण्डारीले भने।

अहिले उनी होम आइसोलेसनमै छन्।

नेपालमा कोरोना भित्रिएसँगै टेकु अस्पतालको नाम जनमानसमै झुन्डियो।

सरकारले काठमाडौंमा ३ सय बेडको अस्पताल र सात प्रदेशमा १ सयको बेडको सरुवा रोग अस्पताल बनाउने निर्णय गर्‍यो।

‘कोराना महामारीले हाम्रा लागि चुनौती र अवसर पनि ल्यायो,’ डा. राजभण्डारी भन्छन्, ‘कोरोनाले टेकु अस्पताललाई हेर्ने मानिसको दृष्टिकोण परिर्वतन गरिदियो।’

करिब १५ महिना कोरोना महामारीसँग जुध्दै कुुुशल नेतृत्व सम्हालेका डा. राजभण्डारीले कयौं बिरामीको ज्यान पनि जोगाए।

रेबिज, डेंगु, मलेरिया, टाइफाइड, क्षयरोग (टिबी) जस्ता रोगका बिरामीको उपचार गर्दै आइरहेको अस्पताललाई कोरोना संक्रमितका बिरामी आउँदा सुरुमा व्यवस्थापन गर्न निकै हम्मे भयो।

तर, डा. राजभण्डारीले हार मानेनन्।

देशभरिको स्वास्थ्य अवस्था नजिकबाट नियालेका उनले अप्ठ्यारोमा सहज सेवा दिनुपर्छ भन्ने राम्ररी बुझेका थिए।

‘द्वन्द्वकालमा निकै अप्ठ्यारा खेप्दै काम गरियो। यस्ता थुप्रै महामारीलाई झेलेको थिएँ,’ उनले भने, ‘असहजतालाई अप्ठ्यारोका रूपमा नभई अवसरका रूपमा लिनुपर्छ। मैले त्यही रूपमा लिएँ र व्यवस्थापनमा जुटेँ।’

डाक्टरी यात्रा

२०१९ असोजमा बाग्लुङमा जन्मिएका उनले जीवनमा धेरै आरोह–अवरोह पार गरिसकेका छन्।

घरपरिवार पनि शिक्षित भएकाले उनमा पढ्नुपर्छ भन्ने धारणा थियो।

बाग्लुङको धौलागिरी विद्या मन्दिरबाट उनको शिक्षा यात्रा सुरु भयो।

एलएलसी उत्तिर्ण गरेपछि उनले ‘हेल्थ असिटेन्ट’ पठनपाठन सुरु गरे।

व्यापारीको छोरा भएकाले पनि होला त्यतिबेला पैसाको अभाव भएन। जागिर तथा थप अध्ययनमा मन गएन।

‘केही वर्ष काम नै नगरी बस्दा आत्मग्लानी भयो। पेसाप्रति सम्बन्धित हुनुपर्छ भन्ने धैर्यले जागिर खाने निधो गरेँ,’ डा. राजभण्डारी पुराना दिन सम्झिन्छन्।

२०४१ सालमा बाग्लुङ रानखानीमा ईलाका स्वास्थ्य चौकीबाट हेल्थ अस्टिेन्टको जागिर सुरु गरे।

तत्कालीन समयमा त्यो स्वास्थ्य चौकीले तीन–चार गाउँ हेर्ने गथ्र्याे।

उनले त्यसको प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

सुविधा–सम्पन्न परिवारमा हुर्किएका उनी एकैपटक विकट ठाउँमा जाँदा केही असहज महसुस गरे।

‘खरको छानोको घर थियो। कर्मचारी अभाव थियो। आफैंले पनि घर सफा गर्नेदेखि लिपपोतसम्म गर्नुपथ्र्याे,’ राजभण्डारी ती दिन सम्झिन्छन्, ‘कहिले गाँउमा बसेको थिइनँ। तर, त्यहाँ बस्दै गर्दा बिस्तारै घुलमिल गर्न सकेँ।’

हेल्थ असिटेन्टमा चार वर्ष बिताए।

त्यसपछि सरकारी छात्रवृत्तिमा एमबिबिएस पढ्न तत्कालीन सोभियत संघ (रुस) गए।

सात वर्ष अध्ययन गरेपछि नेपाल फर्किए।

नवलपरासीमा मेडिकल अफिसरका रूपमा काम गर्न थाले।

क्षयरोग नियन्त्रणका लागि भन्दै सरकारले देशैभरि प्रत्यक्ष निगरानीमा निःशुल्क औषधी सेवन कार्यक्रम (डट्स) सेवा सुरु गर्ने डा. राजभण्डारी नै थिए।

त्यसपछि उनी बुटवल हुँदै सल्यान पुगे। जुनबेला माओवादी द्वन्द्व उत्कर्षमा थियो।

लगभग २२ महिना कामका सिलसिलामा कहिले पनि सल्यानबाट निस्किएनन्।

‘दुई महिनाको नानी लिएर गएको थिएँ। दुई वर्षसम्म एक दिन बिदा नलिई सल्यानमै बिताएँ। त्यहाँ पुग्ने पहिलो डाक्टर म नै थिएँ,’ उनी भन्छन्, ‘अस्पतालको भौतिक पूर्वाधारदेखि बाटो बनाउनेसम्म काम गरेँ।’

त्यसपपछि सरुवा भएर म्यादी पुगे।

उनले पुनः जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन (एमडिजिपी) अध्ययन गर्ने मौका पाए।

एमडिजिपीको विशेषज्ञताले दुर्गम क्षेत्रका धेरैको ज्यान बचाए।

‘गर्भवतीदेखि चोटपटक लागेका अनेक समस्या लिएर अस्पताल आउँथे। केही उपचार पाए उनीहरूको ज्यान बाँच्ने गथ्र्याे,’ उनी भन्छन्, ‘एमडिजिपीको विशेषज्ञताले धेरैको जीवन बचाएको छु।’

फेरि केही वर्षका लागि बाग्लुङ सरुवा भयो।

नवौंं तहका लागि लोकसेवाको परीक्षा दिए।

‘अध्ययनमा अलि बढी नै ध्यान केन्द्रित हुन्थ्यो। जीवनकालमा चारपटक लोकसेवा लडेँ। कहिल्यै अनुत्तीर्ण भइएन,’ उनी भन्छन्।

त्यसपछि पर्वत हुँदै सिन्धुपाल्चोक पुगे।

जुरे पहिरो, भूकम्पपछि उत्पन्न स्वास्थ्य समस्याको व्यवस्थापन गरे।

त्यहीबीच ११औं तहका लागि लोकसेवा दिए।

बाग्लुङमा भर्खरै स्वास्थ्य बिमा लागू भएको थियो।

‘अस्पताल व्यवस्थापनका हिसाबले बाग्लुङ पुगेँ। केही महिनाभित्रै अस्पतालको स्वरूप नै परिर्वतन गर्न सफल भएँ,’ उनी भन्छन्।

ओटी, डायलासिस सेवादेखि विभिन्न उपकरण अस्पतालमा भित्रियो।

२०७६ असारमा राष्ट्रिय क्षयरोग केन्द्र सरुवा भए। उनी जिम्मेवारीमा रहँदा क्षयरोगको प्रिब्यालेन्स सर्वेको काम पनि भयो।
फागुन १९ मा टेकु अस्पताल आइपुगे।

अस्पतालको भौतिक अवस्था नाजुक भएका कारण आफूहरूले त्यही संरचना व्यवस्थित गरेर संक्रमितलाई उपचार दिन सफल भएको उनी बताउँछन्।

‘कोरोना महामारीलाई धेरैले चुनौतीका रूपमा लिए। तर, हामीले अवसरका रूपमा लियौं। देशलाई आवश्यक परेको अवस्थामा हाम्रो क्षमता देखाउनुपर्ने थियो। हामीले त्यो देखाउन सक्यौं जस्तो लाग्छ,’ उनी भन्छन्।

कोरोना डेडिकेटेड अस्पताल भएपछि टेकु अस्पताललाई सबैले हेर्ने दृष्टिकोण फेरिएको र राम्रो सहयोग गरेको भन्दै उनी खुसी छन्।

‘मन्त्रालयदेखि स्वास्थ्य सेवा विभागसम्मको सकारात्मक सोचका कारण काम गर्न सहज भयो। कोरोनाले टेकुलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याइदियो,’ उनी सुनाउँछन्।

कोरोनाको दोस्रो लहरमा बिरामीलाई अस्पतालको प्रांगणमा राखेर पनि व्यवस्थापन गरेकोमा उनी सन्तुष्टि व्यक्त गर्छन्।

‘बिरामीले उपचार नपाउने स्थिति थियो। सबैतिर बेड अभाव भइरहेको थियो। निजी अस्पतालहरूले बिरामी लिन मानेका थिएनन्। तर, हामीले आँट ग¥यौं र बिरामीलाई भुइँमा राखेर भए पनि उपचार दियौं,’ उनी सन्तोषको सास फेर्छन्।

पुरानो संक्रामक अस्पताल भएकाले उपचार गर्न सहज भएको उनको भनाइ छ।

‘यो पुरानो संक्रामक अस्पताल हो। अन्य अस्पतालका डाक्टरसाब भन्दा हामी पृथक थियौं। संक्रामक रोगबारे सबै जानकार थिए। त्यसैले पनि हामीलाई काम गर्न धेरै गाह्रो भएन,’ उनी कामको अनुभव सुनाउँछन्।

३० वर्षे सेवा अवधिमा आफूले थुप्रै चुनौती पार गर्दै देशका १४ जिल्लामा सेवा गरेको डा. राजभण्डारी बताउँछन्।

द्वन्द्वकालमा पनि आफूले थुपै कठिनाइ पार गर्दै सेवा गरेको उनको अनुभव छ।

उनी आफू चिकित्सकमात्र नभएर चिकित्सकीय व्यवस्थापनको भूमिकामा रहेकाले अप्ठ्यारोमा लड्न सिक्नु नै आफ्नो पहिलो दायित्व भएको बताउँछन्।

टेकु अस्पतालमा व्यवस्थापकका रूपमा आइसकेपछि डा. राजभण्डारी १५ महिनाको अवधिमा एक दिन पनि बिदा बसेनन्। उनी बिहानै आफ्नो डिउटी आउँथे। र, बेलुकीसम्मै काममा खटिन्थे।

ओपिडीदेखि सम्पूर्ण सेवा लिने ठाउँमा बिरामीले कसरी सेवा पाइरहेका छन् भनेर उनले निगरानी गरिरहेका हुन्थे। उनको ध्यान सधैं बिरामीले गुणस्तरीय सेवा पाए कि पाएनन् भन्नेमै केन्द्रित हुन्थ्यो।

‘सेवाग्राही सन्तुष्ट छन् कि छैनन्, त्यो बुझ्नु पनि मेरो दायित्व हो,’ उनी भन्छन्।

उनी बीच–बीचमा मन्त्रालयमा हुने कार्यक्रममा पनि सहभागी हुन्थे। उनको अस्पताल आउन छुटेको समय भनेको त्यहीमात्र हो। नत्र, उनी जतिबेला पनि अस्पतालमै बिरामीको उपचारमा केन्द्रित हुन्थे।

उनी त्यसै पनि बिदा लिन रुचाउँथेनन्। आफ्नो पेसा नै बिदामा बस्ने नभएको बुझेका उनले जीवनमा दुईपटक मात्रै बिदा लिएका थिए।

‘एकपटक दुर्घटना हुँदा सात दिन र बिहे हुँदा सात दिन बिदा लिएको थिएँ। त्योबाहेक मैले बिदा नै लिएको छैन। म बिदा लिएर बिरामीले दुःख पाएको हेर्न सक्दिनँ। त्यसकारण म बिदामा बस्दिनँ थिए,’ उनी भन्छन्।

बिरामीको आत्मसन्तुष्टि र उपचार पाएर रोग जित्दाको खुसीले आफ्नो सबै थकान मेटाउने गरेको उनको भनाइ छ।

अवकासपछि ऐशआरामको जीवन बिताउने कुनै मोह छैन डा. राजभण्डारीसँग।

‘६० पुगेर सरकारले पो विश्राम दियो। ज्यान त छ नि! सरकारी जागिर त सकियो, तर सेवा गर्ने मन मरेको छैन,’ उनले भने, ‘अनुभव छ बिरामीको सेवामा अझै लाग्ने छु।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय