‘डेल्टा प्लस’ कोरोनाको कस्तो ‘प्लस?’

केही साताअघि एक बेलायती पत्रिकाले ‘नेपाल भेरियन्ट’ देखिएको समाचार प्रकाशित गर्यो। यो भाइरस नेपालबाट फर्केकाहरुमा देखिँदा ‘नेपाल भेरियन्ट’ भनेका थिए।

हाल यसलाई ‘ए वाई १’ को नाम दिएको छ। यो भाइरसको माऊ भेरियन्ट ‘डेल्टा’ भएकोले ‘डेल्टा प्लस’ पनि भनिने गरिन्छ। सामान्यत: जुन देशमा पहिलो पटक भाइरस देखियो त्यही देशको नामसँग जोडेर भेरियन्टको नाम दिने गरिन्छ। तर, हाल ग्रीक वर्णमालाअनुसार भेरियन्टहरुको नाम राख्ने क्रम सुरु भैसकेको छ।

डेल्टा भेरियन्टको स्पाइक प्रोटिनमा K417N को म्युटेसन हुँदा ‘डेल्टा प्लस’ भएको हो। डेल्टा भेरियन्ट तीव्र गतिमा फैलने र घातक मानिन्छ भने K417N म्यूटेसनले भ्याक्सिनको प्रभावकारितालाई चुनौती दिने भनेर चिनिन्छ।

यी सबै विशेषताहरु एकै भाइरस ‘डेल्टा प्लस’ मा देखिँदा वैज्ञानिकहरु चिन्तित भएका हुन्। K417N म्युटेसन ‘बेटा भेरियन्ट’ मा पनि देखिएको थियो। बेलायतले जेष्ठको दोस्रो हप्तातिर ‘नेपाल भेरियन्ट (डेल्टा प्लस)’ देखिएको भनेता पनि स्वास्थ्य मन्त्रालयले भने असारको पहिलो हप्ता प्रेस विज्ञप्तिमार्फत ‘डेल्टा प्लस’ देखिएको जानकरी दिएको थियो।

‘डेल्टा प्लस’ १९ प्रतिशत संक्रमितमा देखिएको थियो। चाखलाग्दो कुरा के छ भने, दोस्रो लहर उत्कर्षमा पुग्दा ‘डेल्टा भेरियन्ट’ र ‘डेल्टा प्लस’ दुवै देखिएका थिए। यद्दपि, ‘डेल्टा प्लस’ को भूमिका दोस्रो लहरमा के कस्तो/कति थियो भनेर अनुसन्धान नगरी सम्भावित जोखिमको बारेमा भन्न सकिने अवस्था भने छैन।

‘डेल्टा प्लस’ देखिएका बिरामीहरुको अवस्थाको (सामान्य, मध्यम, कडा, सघन वा मृत्यु) जानकारी सार्वजनिक भएको भए भाइरसको जोखिमताको विश्लेषण गर्न केही सहज हुने थियो।

‘डेल्टा प्लस’ को उत्पति नेपाल मानिएकोले ‘नेपाल भेरियन्ट’ को उपनाम दिइएको थियो। भारतमा पहिलो पटक देखिएको डेल्टा भेरियन्टमा K417N को थप म्युटेसन देखिँदा ‘डेल्टा प्लस’ बनेको हो। तर, सो म्युटेसन दक्षिण अफ्रिकामा पहिलो पटक पत्ता लागेको ‘बीटा भेरियन्ट’ मा पनि देखिसकेको छ। यी दुई फरक भेरियन्टहरुमा एकै प्रकारको K417N म्युटेसन देखिनुका कारणहरु खोजीका विषय बन्न सक्दछन्।

तर, यो म्युटेसनले एन्टिबडी/रोग प्रतिरोधात्मक क्षमतालाई चुनौती दिन सक्ने विभिन्न अध्ययनहरुले देखाएकाले नै वैज्ञानिक जगतमा थप चिन्ता बढाइदिएको हो। यद्दपि, माऊ भेरियन्ट (डेल्टा भेरियन्ट) भन्दा ‘डेल्टा प्लस’ को फैलिनसक्ने क्षमतामा के/कति फरक होला भन्ने बारेमा भने अनुसन्धानबाट यकिन हुन् बाँकी नै छ।

हाल ‘डेल्टा प्लस’ ले तेस्रो लहर ल्याउन सक्ने सम्भावनालाई लिएर धेरै चिन्तित भएका देखिन्छन्। तर, नेपालमा माघ महिनाको सुरुवातीमा ‘अल्फा भेरियन्ट (युके भेरियन्ट)’ पुष्टि हुँदा सो भेरियन्टले दोस्रो लहर ल्याउनसक्ने सम्भावना व्यक्त गरिएको थियो। किनभने ‘अल्फा भेरियन्ट’ ले युकेमा मानिसहरुलाई व्यापक संक्रमण र अस्पताल भर्ना गराएको थियो।

तर, अनुमान विपरित ‘अल्फा’ नभई भारतमा विकास भएको नयाँ ‘डेल्टा भेरियन्ट’ तथा ‘डेल्टा प्लस’ नेपालमा दोस्रो लहर ल्याउने कारक भाइरसहरु बने। तसर्थ हाल ‘डेल्टा प्लस’ ले नै फेरि अर्को लहर ल्याउँछ भनेर ठोकुवा गर्न भने हतार हुनेछ।

किनभने थोरै नमुनामा गरेको परीक्षणले ‘डेल्टा प्लस’ को प्रतिशत तुलनात्मक रुपमा धेरै देखिएकोले पनि धेरै मानिसहरु संक्रमित भैसकेको अनुमान गर्न सकिन्छ। विदेशीहरु आफ्ना देश फर्कँदा पनि ‘डेल्टा प्लस’ संक्रमण लिएर फर्कनुले पनि यो सम्भावनालाई बल पुर्याउँछ।

हालै संक्रमित भएकाहरुमा तत्काल संक्रमण हुने सम्भावना कम हुने र ठूलो संख्यामा संक्रमितहरु (लक्षणविहीनसहित) ‘डेल्टा प्लस’ ले संक्रमण गरेको भए तत्काल अर्को लहरको कारक यही भाइरस हुने सम्भावना कम देखिन्छ।

‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गतको ‘बीटा (दक्षिण अफ्रिकी)’ तथा ‘गामा ( ब्राजिलियन)’ भेरियन्टहरु भारतमा पुष्टि भैसकेका छन् र यिनीहरुमा पनि थप म्युटेसन नहोला वा भैरहेको नहोला भन्न सकिँदैन। यी दुवै ‘बीटा’ र ‘गामा’ भेरियन्टहरु नेपालमा पुष्टि भने भैसकेका छैनन्। तर, ढिलो/चाँडो नदेखिएला भन्न पनि सकिँदैन।

तसर्थ भेरियन्टहरुको गतिविधिहरु नियाल्न नेपालले आफ्नै जिनोम सिक्वेनसिङ्ग प्रविधि स्थापना गर्नुपर्दछ। यसबाट भेरियन्टहरु नेपाल भित्रिएका अथवा नेपालमा नै भेरियन्टहरुको विकास भए/नभएको बारेमा जानकारी द्रुत गतिमा थाहा पाउन सकिनेछ।

यो प्रविधि प्रयोगमा ल्याउन सके कोरोना भाइरस मात्र होइन, २१ औ शताब्दीमा देखिन सक्ने नयाँ भाइरसहरु पत्ता लगाउन र त्यसमा बेलाबेलामा हुनसक्ने उत्परिवर्तनहरुको बारेमा जानकारी हासिल गर्न सकिनेछ।

यस्तो जानकारीबाट भाइरसले गर्नसक्ने क्षतीको अनुमान, भ्याक्सिनको प्रभावकारिता तथा उपयुक्त भ्याक्सिनको छनोट गर्न सहज हुनेछ। अन्तमा, कोरोनाका सबै ‘प्लस’ घातक हुनै पर्छ भन्ने होइन। डेल्टा भेरियन्ट ‘भेरियन्ट अफ कन्सर्न’ भएको र यही भेरियन्टबाट छुट्टिएर ‘डेल्टा प्लस’ को उत्पत्ति हुँदा बिभिन्न अड्कलबाजीहरु गरिएका हुन्।

भारतमा अप्रिल महिनामा नै ‘डेल्टा प्लस’ देखिएको थियो। सो समयमा कोरोनाको तथ्यांकले भारतमा उच्चतम बिन्दु चुम्दै थियो। नेपालमा पनि ‘डेल्टा प्लस’ कोरोना भाइरस उत्कर्षमा पुग्दा देखिएको थियो।

यी दुई देशको तथ्यांकलाई हेर्दा ‘डेल्टा प्लस’ संक्रमण गराउन आफ्नो माऊ भेरियन्ट ‘डेल्टा’ जत्तिकै जिम्मेवार थियो कि जस्तो देखिन्छ। यद्दपि, यसको तिव्रता, घातकता, रोग प्रतिरोधात्मक क्षमतालाई चुनौती दिने/नदिने, भ्याक्सिनको प्रभावकारिता तथा उपचार पद्धति माथिको चुनौतीजस्ता प्रश्नहरुको उत्तरहरु भने पाउन बाँकी नै छ।

यी प्रश्नहरुको जानकारीको आधारमा मात्र अर्को लहर ‘डेल्टा प्लस’ सँग सम्बन्धित हुने/नहुने वा भए परिस्थितिको जटिलताको भविष्यवाणी गर्न सहज हुनेछ।

संयोजक, क्लिनिकल रिसर्च युनिट 
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल              


Leave a Reply

Your email address will not be published. Required fields are marked *