आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो : सार्वजनिक सवारी साधन पनि सञ्चालनमा

हेल्थपोस्ट नेपाल
आजदेखि काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर-बिजोर प्रणालीमा सञ्चालनमा आएका छन्।स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारी साधन सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ। चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ।

त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारीसाधन निसंक्रमण गर्नुपर्ने मापदण्ड बनाइएको छ। सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ।

निजी सवारीसाधन (कार जीप, भ्यान) मा बढीमा चार र ट्याक्सीको हकमा बढीमा तीनजना मात्रै सवार गर्न पाउने नियम छ। मोटरसाइकल/स्कुटरसमेत जोर-बिजोर प्रणाली लागू (जोर गते जोर नं र बिजोर गते बिजोर नं) चलाउन पाइने छ। स्वास्थ्यकर्मी, पशुस्वास्थ्यकर्मी, एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भारका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गरी निर्बाध रुपमा सञ्चालन हुन पाउने छन्।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भार, स्वास्थ्य सम्बद्ध (औषधि, अक्सिजन सिलिण्डर), दूरसञ्चार इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी निर्बाध रुपमा सञ्चालन गर्न पाइने छ।

विवाह तथा व्रतबन्धका हकमा आफ्नो घर वा बसेको स्थानमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी उपस्थित हुन पाइने छ।
यसका लागि दुई सवारीसाधन ब्यानरसहित आवतजावत गर्न दिने बताइएको छ।

सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि मल, बीउबिजन, पशु चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारीसाधन निर्बाध रुपमा सञ्चालन हुन पाउनेछन्। तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको चल्ला र पशुपन्छीजन्य पदार्थ, भेटेरिनरीसम्बन्धी इन्धनलगायत बस्तु बिहान ९ देखि ११ र दिउँसो ४ देखि ७ बजेसम्म ढुवानी गर्न पाउने व्यवस्था मिलाइएको छ।

सार्वजनिक तथा निजी निर्माणको कामका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको छ। पत्रकारलाई सूचना विभाग वा मिडिया हाउसले जारी पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ।

उपत्यकाको निषेधाज्ञा भने एक साता थप गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *