खोपमा विभेद (अकथा)

हेल्थपोस्ट नेपाल

आफ्नो काममा व्यस्त थिएँ | एउटा चिठी आयो। जब चिठी पढ्दै गएँ, मेरो उकुसमुकुसता झन् बढ्दै गयो | त्यो चिठी यहाँहरुको लागि पनि उपयोगी हुने देखेर मैले जस्ताको तस्तै पोस्ट गरेको छु। सबैले पढ्नुहोला अनि वीर गोर्खालीको आग्रहअनुसार विभिन्न भाषामा अनुवाद गरेर उहाँको सपना पूरा गर्नुहोला |

आदरणीय धनी तथा विकसित देशहरू, सर्वप्रथम नेपालको दुर्गम गाउँको निरीह वृद्धको बधाई छ कि यहाँहरुले खोपमा आधिपत्य जमाउन सफल हुनुभएकोमा। पैसा, शक्ति तथा पहुँच भएको कारण तपाईंहरुले खोप उत्पादन गर्नुभयो, खोपमा लगानी गर्ने तथा महँगो मूल्यमा किन्न सक्ने धनी देशलाई खोप वितरण गर्नुभयो र आफ्ना जनतालाई रोजीरोजी खोप उपलब्ध गराउनु भयो।

खोप लगाउन अनिच्छुक आफ्ना नागरिकलाई बियर, गाँजा, कार तथा करोडौंको चिठ्ठा खोलेरसमेत खोप लगाउन बाध्य बनाउनुभयो। साम, दाम, दण्ड तथा भेदको रणनीति अपनाएर भएपनि आफ्ना जनता तथा अर्थतन्त्र बचाउन यहाँहरुले गर्नुभएको योगदान स्वर्ण अक्षरमा लेखिनेछ। बिहान खाए साँझ के खाने ? साँझ खाए बिहान के खाने ? भनेर जीवन बिताएको गरिब देश नेपालको पिछडिएको गाउँको वीर गोरखालीको कुरा मेरै वडाध्यक्षले त सुन्दैनन् भने तपाईंहरुले सुन्ने आशा गर्नु मेरो पागलपन हो भन्ने ठानेको छु।

मलाई लागेको थियो, संसार एउटा सानो फूलबारी हो | यो फूलबारीमा हरेक रंग, रुप, बास्ना र प्रजातिका फूलको उत्तिकै महत्व छ।

फूलबारीको झार भएपनि मैले अलिकति पानी, अलिकति मल तथा अलिकति स्याहार पाउँछु भन्ने मेरो सपना थियो। मैले सोंचेको थिएँ, धनी, शक्तिशाली तथा सभ्य संसारले महामारीको समान पीडामा समान मल्हमपट्टी लगाउनेछ। कोरोना महामारीको डर, आतंक तथा कालो छायाँ मडारिएको बेला मैले आकास हेरेर भनेको थिएँ – यो कहालीलाग्दो रात बितेर सुनौलो बिहानी आउनेछ। काम नपाएर भोकै सुतेको बेला सपना देखेको थिएँ कि उज्यालो भएपछि पेटलाई पटुकाले कस्नु पर्ने छैन।

कोरोना भाइरसविरुद्ध खोपको आविष्कार भयो भन्ने सुनेर म खुसीले कहिले कुन फूल तथा कहिले कुन फूल चुमेको थिएँ। त्यो थोत्रो रेडियोले भनेको थियो कि, ९२ वटा गरिब देशका २० प्रतिशत जनसंख्यालाई उत्पादन हुनेबित्तिकै खोप पठाइनेछ भनेर। नेपाल पनि गरिब ९२ देशको शीर्षस्थानमा छ भन्दा मेरो छाती गर्वले फूलेको थियो। संसारका १८० राष्ट्रले कोभ्याक्स सुविधाअन्तर्गत हामीजस्ता गरिब देशलाई संगसंगै खोप दिने समाचार रेडियो बटार्दा सुनेको थिएँ। त्यसमा धनी देशले हस्ताक्षर धस्काएको मसी अझै सुकेको छैन रे।

खोपको बारे नकारात्मक हल्लाको आँधीबेहरी मैले पनि सुनेको थिएँ। बैज्ञानिक अनुसन्धान र आविष्कारमा हामीले विश्वास गर्नुपर्छ भनेर मैले चौतारोमा झगडा नै गरेको थिएँ। त्यो बेला मलाई विश्व स्वास्थ्य संगठनदेखि बिल गेट्सको एजेन्ट भन्न बाँकी राखेनन्। खोले खान नपाएको मलाई डलर खायो भन्ने आरोप सहेर भएपनि विज्ञानको वकालत गरिरहें।

छिमेकी देश भारतले नेपाललाई १० लाख डोज एस्ट्राजेनेका खोप नि:शुल्क दियो। सेनालाई १ लाख डोज पनि उसैले नि:शुल्क दियो।

सरकारले अग्रिम भुक्तानी गरेको २० लाख मात्रा मध्ये १० लाख मात्रा तुरुन्तै पठायो। त्यही बेला कोभ्याक्स सुबिधाबाट ३ लाख ४८ हजार मात्रा पठायो। आहा! यस्तो पो छिमेकी भनेर मैले भारतलाई अँगालो कसें। कोभ्याक्सबाट २० प्रतिशत जनसंख्याको लागि १ करोड ३० लाख मात्रा खोप आउँछ भन्ने समाचारको विश्वास गरें। मनमा लाग्यो, अर्को छिमेकीले किन नेपाल बिर्स्यो होला? पहिले ३ लाख, अनि ५ लाख भन्दै जम्मा ८ लाख खोप चीनले दियो।

स्वास्थ्यकर्मी तथा अन्य अग्रपंक्तिका व्यक्तिले लगाएपछि ६५ वर्ष काटेका बुढाबुढीको खोप लगाउने पालो आयो। मैले बुढीलाई हिँड खोप लगाउन जाऔं भनेर निकै बिन्ती गरें। भारतको सेनामा जागिर खाने छोराले पनि खोप लगाउन भनेको थियो। ब्रिटिश सेनामा काम गर्ने ज्वाइँले पनि खोप लगाउने भनेका थिए। उसले भनी – खोप लगाए मरिन्छ अरे बुढा! म त मरेपनि जान्न। कान्छो छोरा, बुहारी र छोरीको खोप लगाउने पालो आएन। जे होस्, मैले खोप लगाएँ । ८ हप्तामा दोस्रो मात्रा पाउने कागज बोकेर घर फर्किएँ।

भारतमा कोरोना महामारीको दोस्रो लहरले ठूलो असर गर्यो। खुला सिमाना भएकोले नेपालमा पनि त्यो लहर भित्रियो। अक्सिजन, अक्सिजन बेड, आइसीयु, भेन्टिलेटर तथा स्वास्थ्य जनशक्तिको अभावले गर्दा नेपालमा ठूलो संकट उत्पन्न भयो। सुबिधा नआएपनि महामारीको दोस्रो लहर गाउँमा आयो। सामान्य अक्सिजनको अभावले गर्दा यो उमेरमा मैले बुढी गुमाउनु पर्यो। कल्कलाउँदो छोरो गुमाउनु पर्यो। गर्भवती बुहारी गुमाउनुपर्यो। छोरी घरमा गएकी थिई। ३ हप्ता आइसियुमा मृत्युको रेखालाई स्पर्श गरेर उ जीवनरेखामा फर्किइ।

यहाँभन्दा ठूलो पीडा मेरो लागि अरु के नै होला? म मरेको भए यो अवस्था देख्नुपर्ने थिएन। हे भगवान! यो देख्नु / सुन्नुभन्दा पहिले किन मेरा आँखा र कान फुटेनन्? खोप लगाउन पाएको भए उनीहरु बाँच्ने थिए भनेर थकथकी लागिरह्यो।

पीडाको पहाड बोकेर भएपनि जीवन चलाउनु पर्दोरहेछ। मैले पहिलो मात्रा खोप लगाएको १० हप्ता नाघ्यो। दोस्रो मात्रा खोपको तनाब सुरु भयो। रेडियोले चिनाएका जनस्वास्थ्यविज्ञले त्यो बेला भनेका थिए – सरकारले आधा खोप स्टकमा राखेर अर्थात् दोस्रो मात्राको सुनिश्चित गरेर मात्र पहिलो मात्रा खोप दिनुपर्छ। पछि थाहा भयो, आएका सबै खोप लगभग सकिएका रहेछन्। देशभरमा मजस्ता अधकल्चो खोप पाउने १४ लाख रहेछन्।

रेडियोले भन्यो – भारतसँग किनेको खोप त्यहीँ महामारी फैलिएकोले दिने सम्भावना छैन। एउटा खबर आयो, बेलायतले नेपाललाई २० लाख डोज खोप तुरुन्तै पठाउने भयो। नेपालको ऐतिहासिक सम्बन्ध भएको बेलायतले गुन चुकाउने भयो भनेर हामी १४ लाख बुढाबुढी मख्ख पर्यौं। अर्को समाचार सुनें – डेनमार्कले १४ लाख खोप दिने रे! यसपटक पनि निकै खुसी लाग्यो। अमेरिकाले त्यहाँ थुप्रिएको करोडौं खोपमध्ये बुढाबुढीलाई दोस्रो मात्रा पुग्ने खोप दिने भयो रे! मैले भनें – अमेरिकाको जय होस्। सरकारले चीनसँग ५० लाख मात्रा र अमेरिकासँग ५० लाख मात्रा खोप किन्ने समाचार सुनें। रुसबाट खोप किन्ने प्रकिया पुटिनको टेबुलमा पुग्यो भन्ने हल्ला सुनें। सबै हल्लाले आश्वासन मात्र दिए, खोप दिएनन्।

हाम्रो राष्ट्रपतिले चीनका राष्ट्रपतिसँग खोप सहयोग मागेपछि चीनले १० लाख मात्रा नेपाललाई दिने भयो। राष्ट्रपतिलाई मनमनै धन्यबाद दिएँ। राष्ट्रपतिले भारत, बेलायत, अमेरिकाका समकक्षीलाई फोन गर्नुभएको खबर सुनें। तर खोप आउने खबर सुनिन।

हामी १४ लाख बुढाबुढीलाई एस्ट्रेजेनेकाको खोप चाहिन्थ्यो। पहिलो टिका भारतको लगाएका हामीलाई दोस्रो टिका चीनको लगाउन नमिल्ने रहेछ। रेडियोले पोहोरदेखि भनिरहेको छ, हामीले छिट्टै ३ करोड नेपालीलाई खोप लगाउँछौ। मलाई पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको याद आयो। अहिलेको जमानामा त्यसो गर्न मिलेन।

दूधको दूध पानीको पानी बोल्ने बिज्ञहरुले भने – सरकारले खोपको लागि प्रयास गरिरहेको छ, तर खोप तुरुन्तै आउने छाँट छैन। हामी बुढाबुढीलाई खोप पठाउँदा संसार नै हलचल हुने अवस्था आएछ। राजनीतिबारे बोल्ने मन थिएन। महामारीसँगै सुरु भएको कुर्सीको राजनीतिले नेपाल थिलोथिलो भएको छ। महामारी र खोप कहिल्यै पनि राजनीतिको प्राथमिकतामा परेन। एक नेताले अर्को नेतालाई भन्छन् – यो भारतपरस्त, यो चीन परस्त, यो अमेरिकी लबीको, यो युरोपियन युनियनको… भनेर आरोप-प्रत्यारोप गरे। तर आ-आफ्ना हृदयराष्ट्रबाट खोपको पहल गर्न उनीहरुको मुखमा माउथ प्लास्ट लाग्यो।

हामीले पहिलो मात्रा लगाएको १४ हप्ता पुगिसकेको छ। खोपको आशा पनि मनदेखि नै मरेको छ। तर, मन उद्देलित छ। खोपका ठूला भट्टीको बीचमा रहेर पनि हामी चिसै बस्न बाध्य भयौं। अमेरिका, क्यानाडा तथा केही युरोपेली मुलुकमा एस्ट्रेजेनेका खोपको करोडौं मात्रा स्टक गरेर राखिएको छ तर, प्रयोग गरिएको छैन। ती देशमा फाइजर र मोडेर्ना लगाइएको छ। कतिपय देशमा त एस्ट्रेजेनेका खोप एक्सपायर भएर नष्ट गरियो रे! हामी जुन खोप नपाएर छट्पटीमा छौं, उता त्यही खोप नष्ट गरिँदैछ। यो भन्दा ठूलो अमानवीय सोंच अरु के होला? के गरिब देशका जनता मान्छे हैनन्? के गाभी, सेपी, कोभ्याक्स, डब्लुएचओ, युएनलगायतका संस्था धनी देशका प्रोजेक्ट हुन्? आफैंले बनाएको खोप वितरणको सिद्धान्त लागु भए / नभएको अनुगमन र निगरानी गर्नुपर्दैन? के हामी नेपालमा जन्मिनु नै हाम्रो लागि अभिशाप हो?

मलाई लागेको थियो, यो महामारीले मानवताको पाठ सिकाएको छ। मैले सपनामा देखिरहन्छु – केही शक्तिशाली देश खोपको पहाडमाथि बसेका अनि हाम्राजस्ता अल्पविकसित देश भुइँमा बसेर हात फैलाइरहेका। यो भन्दा कठोर बिम्ब अरु के हुन सक्छ?

भारतको स्वतन्त्रताको लागि नेपालले बगाएको रगत के पानी थियो? अहिले भारत तथा बेलायतको सुरक्षामा कार्यरत गोर्खा फौजका बाआमा यहाँ खोप नपाएर छटपटाइरहेको अवस्थामा त्यहाँ रहेका छोराछोरीको कस्तो मानसिकता होला? साँध जोडिएको चीनले अन्य देशलाई खोप बिक्री गरिरहँदा नेपाललाई झुलाउनुको कारण के होला? वीर गोर्खालीले बेलायतलाई इतिहासदेखि लगाएको गुनको के कुनै मूल्य छैन? अमेरिकाका रहेका लाखौँ नेपालीको शरीर अमेरिकामा भएपनि उनीहरुको मन खोपको प्यासले तड्पिएका आफ्ना परिवारमाथि भएको तथ्य अमेरिकाले कहिले बुझ्ने? ऐतिहासिक सम्बन्ध भएको रुसको खोप नेपालीको पाखुरामा पर्यो भने के नेपाली अछुत हुन्छन्? के १४ लाख खोप भारतले नेपाललाई दिँदा रोटीबेटीको सम्बन्ध बिग्रिने हो?

खोपको यो असमान र विभेदकारी वितरणकोविरुद्ध किन आवाज उठ्न सकेको छैन? हतियार, सुन र पैसा भए स्टक गरेर राख्न मिल्थ्यो। तर, खोपको एक्सपायर डेट हुन्छ। खोपमा राष्ट्रबाद, भूराजनीति, आफ्नो अनुकुलको सरकार, लम्पसारबाद जस्ता तत्व किन मिसिएका होलान्?

गुनासो उतामात्र हैन यता पनि कम छैन। खोप उत्पादक देशसंग समन्वय राख्न नसक्ने राजदूतहरुलाई के होलिडे मनाउन राज्यले विदेश पठाएको हो? यहाँ रहेका विदेशी नियोग र राष्ट्रको समस्याप्रति कुनै साइनो नभएको हो? के हाम्रो परराष्ट्र नीति पूरै असफल भएको हो? के शक्तिशाली राष्ट्रलाई नेपालको उपादेयता सकिएको हो? के नेपालका थिंक ट्यांक र नेपालीमूलका सिनेटर, व्यवसायी आदीले मातृभूमि बिर्सेका हुन्? आतंकवादीलेसमेत विपत्तिको समयमा युद्धविराम गर्छन्। के नेपालमा कुर्सीको युद्धलाई महामारी समाधानहेतु युद्धविराम गर्न सकिँदैन?

खोपको तृष्णाले ओठमुख सुकेको बेला नेपालमै बल्ग्रेती पाइने मास्क, पंजा, पिपीईलगायतका स्वास्थ्य सामग्रीको साटो खोप पठाउन लबिङ गर्न सकिँदैन? दोस्रो लहरमा अक्सिजनको अभाव हाम्रो लागि अभिशाप बनेको थियो भने तेस्रो वेभमा खोप हाम्रो लागि अभिशाप बन्ने खतरा बढेको छ। अमेरिकालगायत विकसित देशमा बालबालिकालाईसमेत खोपको सुरक्षाघेरामा रखिँदैछ भने हाम्रा बालबालिका अनलाइन पढाइको नाममा घरभित्र कैद हुनुको विकल्प हाम्रो सामू देखिएको छैन। अबोध बालबालिकाले पनि धनी र गरिब राष्ट्रको विभेद भोग्नुपर्ने बिडम्बना २१ औं शताब्दीको कुरूप पक्ष हो।



One thought on “खोपमा विभेद (अकथा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *