‘डेल्टा’ भेरियन्टको आतंकमा विश्व

कोरोना महामारी सुरु भएको पनि डेढ वर्ष बितिसकेको छ। तर, भाइरसको त्रास बिलाएर जानुको सट्टा झन् बलियो भएर आइरहेको छ।

एकातिर खोपको उत्पादनले राहत दिलाइरहेको समयमा अर्कोतिर भाइरसले थरी-थरीका रुप देखाइरहेको छ।

कोभिड–१९ का नाममा चिनिने ‘सार्स कोभिड–२ नामक’ भाइरसले आफैंलाई म्युटेन्ट गर्दै विभिन्न भेरियन्ट ल्याइसकेको छ।

हालसम्म ६ वटा भेरियन्ट – अल्फा भेरियन्ट (बि.१.१.७), बीटा (बि १.३५१), गामा (पि.१), एप्सिलोन (बि.१.४२७ र बि.१.४२९) र डेल्टा (बि.१.६१७.२) भेरियन्ट भेटिएका छन्।

केही समययता डेल्टा भेरियन्टको पनि म्युटेसन भई ‘डेल्टा प्लस’ भेरियन्ट भेटिएको छ।

भारतमा भेटिएको डेल्टा प्लस भेरियन्ट हालसम्म ११ वटा देशमा फैलिसकेको छ। जुन १६ सम्मको तथ्याङ्क अनुसार १९७ जना डेल्टा प्लस भेरियन्टबाट संक्रमित भइसकेका छन्।

बेलायतमा ३६ जना, क्यानडामा एकजना, भारतमा ८, जापान १५, नेपालमा ३, पोल्याण्डमा ९, पोर्चुगलमा २२, रसियामा १, स्विटजरल्याण्डमा १८, टर्कीमा १ र अमेरिकामा ८३ जनामा यसको संक्रमण भेटिएको छ।

तर, डेल्टा प्लस भाइरस कति संक्रामक छ भन्नेबारे हालसम्म वैज्ञानिकहरुले यकिन गरेर भन्न सकेका छैनन्। भर्खरै संक्रमण फैलन सुरु गरेका कारण यसमाथि अनुसन्धान भइरहेको छ।

विश्वले नयाँ भाइरससँग जुझ्न तयार रहनु पर्ने अवस्था आउनै लाग्दा पनि बढी संक्रामक सावित भएको डेल्टा भाइरससँग नै छुट्कारा पाउन सकेको छैन।

केही साताअघि डेल्टा भाइरसका कारण नेपाल र भारतमा लाखौं जनताले ज्यान गुमाए। अस्पतालमा अक्सिजनको अभाव तथा शय्याको हाहाकार मच्चियो।

नेपाल र भारतमा हाल उक्त भाइरसको संक्रमण कम हुन थालेको छ तर, अन्य देशहरुमा भने आक्रान्त मच्चाउन थालिसकेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार डेल्टा भेरियन्ट ८५ वटा देशमा भेटिइसकेको छ भने खोप नलगाएका व्यक्तिहरुमा छिटो फैलिइरहेको छ।

बंगलादेश, इन्डोनेसिया, अष्ट्रेलिया, इजरायल, रुसमा फेरि पनि लकडाउन तथा कर्फ्यू नै जारी गरिएको छ।

कोरोना संक्रमणको जोखिम बढेपछि बंगलादेशले देशभरि नै सोमबारबाट लकडाउन गर्ने घोषणा गरेको छ। आवश्यकता रहेको सामान र आकस्मिकका लागिबाहेक घरबाट निस्किन नपाउने निर्देशन दिइएको छ।

अष्ट्रेलियामा पनि लकडाउन थपिएको छ भने न्युजिल्याण्डले फेरि अन्य भेरियन्ट आउटब्रेक हुने डरले तीन दिनका लागि अष्ट्रेलियाका लागि हवाई यात्रा स्थगित गरेको छ।

इन्डोनेसियामा तत्काल आपतकालीन कदम चाल्न आवश्यक भइसकेको छ। संक्रमितको उपचार गर्ने चिकित्सकहरु आफैं बिरामी पर्न थालेका छन् भने अस्पतालहरुमा अक्सिजनको कमी हुन थालेको छ।

लण्डन स्कुल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका भाइरोलोजिष्ट डा. एनिलिस विलडर स्मिथका अनुसार डेल्टा भाइरस निकै संक्रामक रहेको छ। खोप नलगाएका र पूर्ण रुपमा खोप नलगाएका व्यक्तिहरुमा यसले छिट्टै संक्रमण फैलाउनसक्ने र असर गर्नसक्ने उनले बताए।

इजरायल विश्वमै धेरै खोप लगाउने देशमा गनिन्छ। मानिसहरुले मास्क लगाउन पनि कम गरिसकेका थिए। तर, भाइरसका कारण ४ दिनमै १०० भन्दा बढी संक्रमित थपिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, युरोकप २०२० खेलाइरहेका युरोपियन राष्ट्रहरुमा पनि संक्रमण र मृत्यु हुनेहरुको संख्या बढ्दै गइरहेको छ। ६ वटा फुटबल खेल खेलाइसकेको र क्वाटरफाइनल खेलाउन तर्खर गरिरहेको सेन्ट पिटर्सबर्गमा एकैदिन १०७ जना व्यक्तिको संक्रमणबाट निधन भएको छ। सेन्ट पिटर्सबर्गबाट फुटबल हेरेर फर्केका फिनल्याण्डका एक नागरिकमा भएको भाइरसमा स्पाइक देखिएको थियो।

रसियाबाट फर्केका १२० जनामा पनि संक्रमण पत्ता लागेको छ।

अफ्रिकामा पनि १२ वटा देशहरुमा डेल्टा भेरियन्ट फैलिएको पुष्टि भएको छ भने धमाधम मानिसहरु अस्पतालमा भर्ना हुन थालेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार अफ्रिकामा जम्मा एक प्रतिशत मानिसहरुले मात्र पूर्ण खोप लगाएका छन्।

दक्षिण अफ्रिका, जुन अफ्रिका महादेशकै बढी संक्रमित भएको देशमा पनि डेल्टा भेरियन्ट देखिएको छ। एकैदिन १८ हजार नयाँ संक्रमित भेटिएका थिए।

विश्वमै तेस्रो लहरले आक्रान्त बनाउन लाग्दा स्पेन, नेदरल्याण्ड र स्विटजरल्याण्डले बाहिर मास्क लगाउनै पर्ने बाध्यतालाई तोडेको छ भने रात्रिकालीन जीवन सुरु गर्न अनुमति दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय