जोखिमको भूमण्डलीकरण र वैश्वीक महामारी

हेल्थपोस्ट नेपाल

केही दशकयता आर्थिक तथा जनसांख्यिक भूमण्डलीकरण, प्राविधिक विकास आकर्षणको केन्द्रमा छ। यसले मानिसको चाहेअनुरुपको जीवन व्यतित गर्ने अवसर त दिएको छ, तर मानिसको यो गतिशीलता, वस्तु तथा सेवाको उत्पादन, आदानप्रदान तथा उपभोगमा सृजित भार निकै ठूलो छ।

एक तथ्यांकअनुसार वल्ड माइग्रेसन रिपोर्ट २०२०अनुसार विश्वको जनसंख्याको झण्डै ३.५ प्रतिशत अन्तराष्ट्रिय बसाइसराइ गरिरहेका छन्।

बसाइसराई सगैँ मानिसको रहनसहन, संस्कृतिका सर्नेरोग पनि एक समुदायबाट अर्को ठाउँ वा समुदायमा फैलने जोखिम बढ्छ। सन् २०१९ को अन्त्यदेखि फैलिएर विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस फैलिनुको मुख्य कारण पनि एक ठाउँबाट अर्को ठाउँमा जाने जनसंख्या नै हो।

बसाइसराइले मानिसलाई नयाँ रहनसहन प्रविधिका साथै नयाँ किसिमका ब्याक्टेरिया, भाइरस, जिनपुल तथा नयाँ इम्युनोलोजिकल मेकअपसँग साक्षातकार गराउँछ। जुन उसको शारीरिक प्रणालीसँग मेल नखानसक्ने र परिणाम स्वरुप नयाँ रोगको उत्पति तथा फैलिने जोखिम बढ्छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार सन् २०१८मा विश्वभरी करिब ३७.९ मिलियन मानिस एच.आइ.भी संक्रमित छन्। जसमा १.७ मिलियन नयाँ संक्रमित थिए। ७ लाख ७० हजार एच.आइ.भी संक्रमितको विभिन्न कोइन्फेक्सनलायतका समस्याबाट ज्यान गयो।

उत्पतिदेखि नै आम मानिसका लागि चुनौतीपूर्ण बनिरहेको एचआइभीको फैलावटको प्रमुख कारण पनि बसाईससाई नै हो। अहिले पनि एचआइभीको प्रमुख जोखिममा माइग्रेन्ट पपुलेसन नै छ। यो समुदाय नै असुरक्षति यौन क्रियाकलापमा समाहित हने जोखिम बढि हुन्छ।

इतिहासमा पनि यति नै कडा खालका भाइरसका महामारी फैलिएका थुपै उदाहरण छन्। तर ती महामारीका परिधी वा प्रभाव क्षेत्र सीमित थिए। अहिले फैलिएको कोरोना महामारी केही साताभित्रै संसारका अधिकांश देशमा पुगिसकेको थियो । जसले मानिसको बसाईसराई वा गतिसँगै महामारी केही घण्टाभित्रै संसार घुम्नसक्छ भन्ने पुष्टि गर्छ।

बिसौं शताब्दीमा मात्रै मानव समुदायले तीन वटा इन्फ्लुएन्जा महामारीको सामना गर्नुपर्यो। सन् १९१८–१९२०को स्पेनिस फ्लुलाई अहिलेसम्मकै सबैभन्दा भयवह महामारीको रुपमा चित्रण गरिन्छ। जसले २ देखि ५ करोड मानिसको ज्यान गएको थियो।

त्यसैगरी एसियन फ्लु १९५७–१९५८ले करिव ११ लाख मानिसलको ज्यान लियो। पछिल्लो महामारीको रुपमा हेरिएको हङकङ फ्लु (१९६८ –१९६८) करिव १० लाख मानिसको ज्यान गइसकेको थियो।

एकाइसौ शताब्दीको सुरुवातसँगै सानो ठूला तहमा सार्स प्रकोप २००३, इबोला प्रकोप (२०१४–२०१६) तथा जिका भाइरस महामारीले पनि विश्वलाई त्रासमा राखेको छ।

विगतदेखि पछिल्लो कोरोनासम्म् आइपुग्दा भाइरसका उत्पति जनवरबाट र भुमण्डलीकरणले महामारीको रुप लिनमा सघाएको देखाउँछ।

भुमण्डलीकरणसँगै बसाईंसराई वा अन्य थुपै कारणले सृर्जित प्रकृतिक स्रोतमाथिको अतिक्रमणले पनि विश्वव्यापी महामारीमा सघाइरहेको देखिन्छ। एकातिर प्रकृतिमाथिको अतिक्रमण प्रत्यक्ष रुपमा रोग फैलाउने र सार्ने कारण बनेको छ भने, अर्कोतिर वतावरण विनासबाट सृर्जित स्वास्थ्यप्रतिकूलताले रोगको मृत्युदर बढाउँन पनि सघाउँ पुर्याइरहेको छ ।

पछिल्ला अधिकांश महामारीको स्वास्थ्य जटिलता श्वासप्रश्वाससँग सम्बन्धित छ। त्यसको परोक्षसम्बन्ध वायु प्रदूषणसँग सम्बन्धित रहेको चिकित्सकहरुले औल्याइरहेका छन्। दोस्रो विश्वयुद्धको अन्त्यसँगै विश्व अर्थतन्त्र पनि चलायामन बनेको छ। जसले वस्तु तथा सेवाको आदानप्रदानसँगै भाइरस फैलिने नयाँ जोखिम बढाएको छ।

जनावर, पक्षीदेखि खानेकुराको विश्वव्यापी व्यापारले खानेवानी, जीवनशैलीमा व्यापक परिवर्तन ल्याएको छ। नयाँनयाँ खानेकुराको उपभोग तथा माग बढाएको छ। सृजित मागअनुसारको आपुर्ति बढाउन कृषि क्षेत्रमा रासायनीक मल तथा विषादीको प्रयोग अत्याधिक बढेको छ। जसले गर्दा भाइरस र ब्याक्टेरियाका लागि परिस्थिति अनुकूल बनिरहेको छ।

जीवनशैलीमा आएको परिवर्तन पनि प्रत्यक्ष स्वास्थ्य जोखिम बढाउँदैछ। जसको प्रत्यक्ष उदाहरण बढ्दो नसर्ने रोगको दर र दायरा हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी मृत्युको ७१ भार नसर्ने रोगको छ। मृत्यु मात्रै होइन बिरामी दरमा पनि यसको हिस्सा उस्तै छ । दीर्घरोगको शिकार भएकाहरुमा यस्ता अवसरवादी रोगका संक्रमण र मृत्यु दुबैको संभावना बढी छ।

यसरी संक्रमणको बहुचपेटामा रहेका हामीसँग यो अवस्थासँग सफलतापूर्वक जुध्नको लागि स्वास्थ्य विज्ञानमा अहिलेसम्म संभव भएका आविष्कार मात्रै प्रयाप्त छैनन् । जसले गर्दा पनि महामारीको जोखिमबाट जोगिन मान्छेको आनिवानी, प्रयोग र व्यवहारमै परिवर्तन जरुरी छ।

मौसम परिवर्तन प्राकृतिक प्रक्रिया भएपनि मानिसका विनाशकारी गतिविधीले मौसम परिवर्तनको गतिलाइ बढाइरहेको छ। नेशनल ओसियानीक एण्ड एडमिनिस्टेसन २०१९को विश्वव्यापी जलवायु संक्षेपप्रतिवेदन अनुसार प्रत्येक दशकमा जमिन र समुद्र तापक्रम संयूक्त रुपमा बढ्दै १८८० देखि ० दशमलव ७ डिग्री सेल्सियसबाट १९८२ मा ० दशमलव १८ पुगेको छ । बढ्दो तापक्रमले पनि रोगव्याधीको संक्रमणलाई भौगोलिक तथा मौसमी परिधी तोडी विश्वव्यापी रुपमा फैलिन सहयोग पुर्एको छ ।

मलेरिया तथा डेंगू जस्ता मौसम संवेदनशील भेक्टरवर्न डिजिजहरु अहिले हिमाली क्षेत्रमा भेटिन थालेका छन्।

अर्कोतिर संसारमा भएको सूचना प्रविधिको विकासले सुविधाको उपभोगलाई सहज बनाएको छ। परिणाम मानिसलाई आफू केन्द्रीत भौतिकवादी बन्दैछ । मानिसहरु आफ्नो क्रियाकलापले प्राकृतिक वातावरणमाथि परिरहेको नकरात्मक असर प्रति अनभिज्ञ भएजस्तेै बनिरहेका छन्। यस्तो आचरणले मानिसलाई प्रकृतिबाट टाढा र ब्याक्टेरिया, भाइरसको समीप ल्याइरहेका छन् ।

कोरोनाको फैलिने दरलाई रोक्नको लागि मुख्य अस्त्रका रुपमा अपनाइएको लकडाउनले पनि विश्वव्यापी सम्पर्क तोड्न गरिएको स्पष्टै छ।

भुमण्लीकरणले मानव सभ्यतामा नयाँ आयाम थप्ने, वैज्ञानिक विकास, व्यक्तिगत सुविधा भोगको अवसर त प्रदान गरेको छ तर सगँसगैँ आगामी दिनमा मानवका निम्ति ठूलो चुनौतीको पर्खालसमेत खडा गरेको छ। अब विकासका कार्यसगैँ प्राकृति, वातवरणको संरक्षणसँगै रोग फैलिने संभावनालाई पाइलापाइलामा ध्यान दिनु अत्यन्त आवश्यक छ।

(बस्याल मनमोहन मेमोरियाल इन्टिच्युट अफ हेल्थसाइन्समा जनस्वास्थ्य विषय चौथो वर्षमा अध्यानरत छिन्।)

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *