को बन्छ स्वास्थ्य (प्राविधिक) सचिव? बढुवा प्रक्रिया अगाडी बढ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यको (प्राविधिक) सचिव बनाउने बाटो खुला भएको छ।

लोकसेवा आयोगले पूर्णता पाएसँगै प्राविधिक सचिव बढुवा प्रक्रिया अगाडी बढेको हो।

लोकसेवा आयोगमा पदाधिकारी चैत्र १० मा रिक्त भएपछि स्वास्थ्यमा प्राविधिक सचिव बढुवा गर्ने बाटो छेकिएको थियो ।

तर, संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीसहितका पदाधिकारी नियुक्ति भएसँगै बढुवा प्रक्रिया अगाडि बढेको हो ।

२०७६ पुस २१ गते स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले दिएको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव पद रिक्त छ।

स्वास्थ्य सेवा ऐनको दफा १९ को सचिव सम्बन्धी व्यवस्थामा सचिवको नियुक्ति स्वास्थ्य सेवाको बाह्राैं तहमा कार्यरत वा एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने व्यवस्था छ।

स्वास्थ्य मन्त्रालयमा १२औँ तहका डा. रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ तीन प्रमुख विशेषज्ञ छन्।
तर, महेन्द्र प्रसाद श्रेष्ठको साउनदेखि सेवा निवृती हुने हुँदा अहिले मुख्य डा. पोखरेल र सिंह बीच प्रतिस्पर्धा छ।

मन्त्रालयका सह–सचिव दामोदर रेग्मीका अनुसार मन्त्रालयले तीनै जनाको कार्यसम्पादन र जेष्ठताको आधारमा फाइल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइसकेको छ।

अब बढुवा समितिमा सिफारिसका लागि आधारमा लोकसेवा आयोगले चयन गर्ने छ।

‘हामीले सम्बन्धित तीन जनाको फाइल अगाडी बढाएका छौं। लोकसेवाका आयोगले पूर्णता पाएको छ। हेरौं अब प्राविधिक तर्फ स्वास्थ्य सचिवको चाडैं नियुक्ती हुन्छ होला,’ रेग्मीले भने।

यस अगाडी पनि सचिव सिफारिस गर्न बैठक बसेको थियो तर स्वास्थ्यमा प्राविधिक सचिवको दरबन्दी नभेटिएको भन्दै सिफारिस नगरी बैठक स्थगित भएको थियो । त्यसपछि करिब तीन महिना लोकसेवा आयोग पदाधिकारी बिहीन बन्यो ।

सिफारिस समितिले वरिष्ठताका आधारमा सचिव बढुवाको मापदण्ड लागू आधारमा डा. रोसन पोखरेल पहिलो नम्बरमा छन्।

त्यसैगरी, अन्य आधारमा सिफारिस भयो भने पोखरेल र सिंहमध्ये एक जना स्वास्थ्य सचिवमा बढुवा हुनेछन ।

तीन बर्षमा स्वास्थ्यले प्रशासनको सात सचिव फेरिए, प्राविधिक सचिव पाएन

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि स्वास्थ्यमा ६ मन्त्री र ७ जना सचिव फेरिएका छन्।

राजनीतिक नेतृत्वमा रहेका मन्त्रीमात्रै प्रशासनिक नेतृत्व सचिवमा पनि मन्त्रालयमा उस्तै चलखेल भयो।

सुरुमै ओली सरकारले चिकित्सक सचिव हुने प्रावधानमा हस्तक्षेप गरेर प्रशासनका सचिवको दरबन्दी थप्यो।

चिकित्सकतर्फ सचिवका रूपमा रहेकी डा. पुष्पा चौधरीलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरियो।

त्यो निर्णयविरुद्ध चौधरी अदालत गइन्। अदालतले चौधरीको पक्षमा आदेश दिएपछि सरकारले चौधरीलाई स्वास्थ्यमा फर्काएपछि अधिकार दिएन। त्यसकै लागि सरकारले एकमात्र सचिव रहने विद्यमान व्यवस्थामा चलखेलको ठाउँ बनाउन प्रशासन सचिवसमेतको दरबन्दी थप्यो।

केही समयमा डा. चौधरीले राजिनामा दिएपछि चिकित्सकको दरबन्दी रिक्त नै राखेर सरकारले स्वास्थ्य सचिवमा निरन्तर सरुवा जारी राख्यो।

तीन वर्षमा स्वास्थ्यले सात सचिव पायो। छोटो समयमै अधिकारीको पनि सरुवा भयो। यसबीच चन्द्र घिमिरे, रामप्रसाद थपलिया, खगराज बराल, यादव कोइरालादेखि पछिल्लोपटक लक्ष्मण अर्याल सचिव छन्।

कोरोना महामारीमा समयमा स्वास्थ्यको विषय बुझेको सचिव नियुक्त नहुँदा काम प्रभावकारी हुन नसकेको विज्ञहरूले बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय