देशभर भेरोसेल खोप दिइँदै, कसले पाउँछन्?
कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ।
पहिलो खोपको मात्रा जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई दोस्रो खोप दिइन लागेको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए।
उनका अनुसार पहिलो खोप लगाएका ३ लाख ७० हजार जेष्ठ नागरिक छन्।
साथै, अघिल्लो खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने छन्।
भेरोसेलको पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिनपर्ने हुन्छ। सोही अनुसार खोप लगाइन लागेको डा. गौतमले जानकारी दिए।
खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ।