कोरोनाको दोस्रो लहरमा ११ चिकित्सकले गुमाए ज्यान, अधिकांशले लगाएका थिएनन् खोप

संक्रमणबाट निधन भएका चिकित्सक तथा नर्स

कोरोनाभाइरसले विश्वलाई आक्रन्त बनाउँदै गर्दा रोकथाम तथा उपचारको लागि स्वास्थ्यकर्मी मैदानमा उत्रिए।

उनीहरू मैदानमा होमिदैँ गर्दा पहिलो लरहमा न कुनै तयारी नै थियो , न सुरक्षा साम्रगीको पूर्ण सुनिश्चता नै।

बिना तयारीमा युद्धमा होमिएका ‘फन्टलाइनर’ पहिलो लहरमा दजनौं स्वास्थ्यकर्मीको ज्यान गयो।

सरकारले फन्टलाइनमा खटिएका उच्च जोखिममा परेकाले कोरोना विरुद्धको खोपमा पहिलो प्राथमिकतामा नै राख्यो।

बजारमा खोप आएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ९ लाख फ्रन्टलाइनलाई खोप दिनुपर्ने तथ्यांक छ।

त्यसमध्ये स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसविरुद्ध खोपका लागि तयार गरेको सूचीअनुसार नेपालमा महिला स्वास्थ्य स्वयंसेविकासहित दुई लाख २५ हजार स्वास्थ्यकर्मी कार्यरत छन्।

तर, हालसम्म कति स्वास्थ्यकर्मीले खोप लगाए भन्ने मन्त्रालयसँग एकिन तथ्यांक छैन।

सरकारले खोपबाट बञ्चित स्वास्थ्यकर्मीलाई पटक–पटक अभियानमा समावेश हुन आग्रह गर्यो। तर, कतिपय

स्वास्थ्यकर्मीले खोप अभियानमा समावेश भएनन्।

नेपाललाई कोरोनाको दोस्रो लहरमा नयाँ भेरियन्टले नराम्रोसँग प्रभावित बनायो।

दोस्रो लहरमा धेरै युवा स्वास्थ्यकर्मीले ज्यान गुमाउन पर्यो। जसको एक कारण थियो– खोप लगाउने अनिच्छा।
……….

युनिर्सल मेडिकल शिक्षण अस्पताल भैरहवामा कार्यरत हाडजोर्नी विशेषज्ञ ३५ बर्षीय डा. पशुपति रजौरियाको जेठ २० मा निधन भयो।

लुम्बिनी प्रादेशिक अस्पतालमा एक महिनासम्मको उपचारपछि पनि सुधार नआएपछि डा. रजौरियालाई हेलिप्टर मार्फत काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको थियो।

भेन्टिलेटरमा उपचार भइरहेको क्रममा उनको मृत्यु भयो।

तर, उनले कोरोना विरुद्धको खोप लगाएका थिएनन्।

वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालको सञ्चालक तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको पनि कोरोना संक्रणबाट निधन भयो।

ह्याम्स अस्पतालमा उपचारको क्रममा डा. सुवेदीको जेठ २३ मा निधन भएको थियो। डा. सुवेदीले पनि कोरोना विरुद्धको खोप लगाएका थिएनन्।

त्यस्तै, विराट हेल्थ साईन्स क्याम्पसमा कार्यरत नर्सिङ शिक्षक नेसुम शाक्यको कोरोना संक्रमणले निधन भयो। उनले पनि कोरोना खोप लगाएकी थिनन्।

माथिका केही केही उदाहरण मात्रै हुन्। दोसो लहरमा मृत्यु हुने अधिंकास चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले कोरोना विरुद्धको खोप लगाएका थिएनन्।

अहिले कोरोनाका कारण निधन भएका स्वास्थ्यकर्मीमध्ये कतिले कोरोना खोप लगाएका थिएनन् भन्ने यकीन तथ्यांक त सरकारसँग छैन्। सहकर्मीका अनुभवमा दोस्रो लहरमा ज्यान गुमाएका मध्ये अधिकांशले खोप नै लगाएका थिएनन् भने, केहीले पहिलो मात्रा मात्रै लगाएका थिए।

केहीकाे दोस्रो मात्रा लगाएको केही दिनमात्रै भएको थियो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की दोस्रो लहरमा खोप नलाएका तथा पोस्ट कोभिड कारणले चिकित्सकको मृत्यु भएको बताउँछन्।

‘सरकारले प्राथमिकतामा राखेर खोप उपलब्ध गराउँदा स्वास्थ्यकर्मीले खोप प्रति शंका गरेर नलगाएका पनि हुन्,’ डा. कार्कीले भने, ‘पहिला स्वास्थ्यकर्मीले खोप लिन मानेनन्, पछि सरकारले दिन सकेन। जसका कारणले स्वास्थ्यकर्मीले ज्यान गुमाउन पर्यो।’

दोस्रो लहरमा मात्रै ११ चिकित्सकले ज्यान गुमाए

कोरोना महामारीले १७ जना चिकित्सकले ज्यान गुमाउन परेको तथ्यांक नेपाल चिकित्सक संघको छ।

जसमा नयाँ भेरियन्टसँगैको दोस्रो लहरमा मात्रै ११ चिकित्सकको निधन भयो।

मृत्यु भएका मध्ये पनि अधिकांश युवा चिकित्सक नै छन्।

संघकाअनुसार दोस्रो लहरमा निधन हुने अधिकांशले कोरोना खोप लगाएका छैनन्।

दोस्रो लहरमा कोरोना संक्रमणमा ज्यान गुमाउनेमा डा. आइएल आचार्य, मुकेश चौधरी, डा. तारा श्रेष्ठ, डा. केशवराज भट्टराई, डा. पुज्यश्री कार्की , डा. मुरत हुसेन छन्।

त्यसैगरी, डा. केपी सिंह, डा. मोहम्मद समन अन्सारी, डा. पशुपति रजौरिया, डा. विकास सुवेदी र डा. कनक बहादुर रावतले पनि कोरोनाबाट ज्यान गुमाए।

पहिलो लहरमा चिकित्सक हरिप्रसाद सापकोटा, पशुपति चौधरी, नारायणबहादुर थापा, सुनिलचन्द्र झा, धुव्र मुडभरीलगायत चिकित्सकले ज्यान गुमाएका थिए।

स्वास्थ्यकर्मीलाई नै खोप प्रति विश्वसनियता किन भएन?

नेपालमा २०७७ माघ १४ गतेबाट कोरोना खोप अभियान सुरू भएको थियो। सुरुमै स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन भएको थियो ।

सुरुमा नेपालमा खोप अभियान सञ्चालन भइरहँदा खोप प्रति भ्रामक प्रचार—प्रसार भइरहेको थियो।

तत्कालिन समयममा जनसर्वसाधरण मात्रै होइन, केही स्वास्थ्यकर्मी समेत खोप लगाउनका लागि राझी भएनन्।
जसको विभिन्न कारण थियो। ‘छिटै विकसित भएको र भविष्यमा खोपले गर्ने विभिन्न असरहरू गर्नसक्छ भन्ने विषयमा धेरैले सन्देह गरे।

स्वर्गीय डा. विकास सुवेदीले विश्वसनियता नभएकाले अहिले खोप नलाएको सहकर्मी समक्ष बताउँदै आएका थिए।

‘खोप पूर्ण रूपमा अनुसन्धान नभइ आएको छ। नेपाल आएको खोप ट्रायलका लागि पनि आएको हुनसक्छ,’ उनको भनाईलाई उद्धत गर्दै उनका सहकर्मी डा. अमृत भुसालले हेल्थपोस्ट भने, ‘खोपप्रति मलाई विश्वास छैन। त्यसैले अहिले खोप लगाउदिन भन्नुहुन्थ्यो।’

स्वास्थ्य मन्त्रालयका अधिकारी व्यक्तिगत कारणले स्वास्थ्यकर्मीले खोप नलगाएको निष्कर्ष छ।

‘केही स्वास्थ्यकर्मीले पारिवारिक तथा स्वास्थ्य समस्याको कारणले खोप नलगाउनु भएको होला,’ मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारी भन्छन्, ‘सरकारले उहाँलाई जोखिमको आधारमा प्राथमिकता राखेर खोप दिएको छ। तर, जाने–बुझेका मानिसले खोप नलगाउनु मुर्खता हो।’

कोरोनाले ४० स्वास्थ्यकर्मीको ज्यान गुम्यो , ९ हजार नजिक संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८,८७१ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् भने कतिपयलाई दोर्होयाएर पनि सङ्क्रमण भएको छ।

कोरोनाभाइरस सङ्क्रमणबाट अरुलाई बचाउन खटिएका ४० जना स्वास्थ्यकर्मीले कोरोनाका कारण ज्यान गुमाए।
सबैभन्दा धेरै वाग्मती प्रदेशमा ५,५६८ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २५१ जना सङ्क्रमित भएका छन्।

प्रदेश नं १ मा १,१५५, लुम्बिनीमा ८०४, प्रदेश नं २ मा ५१२, कर्णालीमा ३१० र गण्डकी प्रदेशमा ३०१ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्।

कोभिडका कारण ज्यान गुमाउने स्वास्थ्यकर्मीहरू पनि वाग्मतीमा ११ जना छन्। जसमध्ये चिकित्सक ७, नर्स २ र स्वास्थ्यकर्मी २ जना छन्।

कोरोनाभाइरस सङ्क्रमणका कारण प्रदेश नं २ मा १० जना, लुम्बिनीमा ६ जना र प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दुई–दुई जना स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन।

गण्डकीमा हालसम्म कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्यकर्मीलाई किन बचाउन सकिएन?

कोरोनाको पहिलो लहरमा स्वास्थ्यकर्मीलाई सुरक्षित स्वास्थ्य सामग्री उपलब्धता गराउन नसकेकाले ज्यान गुमाउन परेको डा. कार्कीको भनाई छ।

सरकारले संक्रमित स्वास्थ्यकर्मीलाई उपचार गर्न ध्यान दिननसक्नु, संक्रमणबाट जोगिनको लागि तालिमको प्रर्याप्त व्यवस्थापन नहुनु र सेवा–सुविधामा सरकारी र निजी भन्ने दृष्टिकोणबाट हर्दा पनि ‘फन्टलाइनर’ले ज्यान गुमाउन परेको डा. कार्की बताउँछन्।

‘सरकारले संक्रमित स्वास्थ्यकर्मीलाई उपचारको व्यवस्थापनमा ध्यान दिन सकेन। महामारीमा खटेका योद्धाहरूलाई जोगाउन पर्छ भन्ने हिसाबले काम भएको देखिएन,’ डा. कार्कीले भन्छन्, ‘स्वास्थ्यकर्मी बिरामी हुँदा आफै बेड खोजेर उपचार गर्नुपर्यो।’

डा. कार्कीको कुरामा सहमति जनाउँदै नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे पनि सरकारले संक्रमित स्वास्थ्यकर्मीलाई उचित हिसाबले आइसोलेसन तथा क्वारेन्टाइनको व्यवस्थापन नगरेको बताउँछन्।

‘सरकारले संक्रमित हुँदा आइसोलेसनमा बस्न १० दिन बिदा दिएको थियो। ११ औं दिनमा संक्रमित हुँदा पनि उपचार गर्न खटिनु परेको थियो,’ घिमिरे भन्छन्, ‘संक्रमित हुँदा पनि राम्रो हेरचाह नहुँनाले आज ‘पोस्ट कोभिड’ले थलिएर बस्नुपरेको छ।’

स्वास्थ्यकर्मीको उपचारको लागि स्वास्थ्य मन्त्रालयलसँग पटक–पटक ‘डेडिकेट’ अस्पतालको माग गरेको तर, आश्वासन मात्रै दिएको डा. कार्कीको गुनासो छ।

‘आज कतिपय स्वास्थ्यकर्मी कोरोना ठिक भएर पनि अक्सिजन लिएर बस्नु परेको छ। काम गर्ने सक्ने अवस्थामा छैनन्। जसकारण रोजगारी गुमेको छ। खै सरकारले ध्यान दिनसकेको,’ उनी आक्रोस पोख्छन्।

कोरोना महामारीमा फन्टलाइनरमा काम गरेका स्वास्थ्यकर्मीलाई पनि मृत्यु हुँदा विभेद गरेको उनको गुनासो छ।
‘कोरोनाले निजी वा सरकारी केही भनेन। तर, सरकारले विभेद गरेर सेवा–सुविधा लागू गर्यो। मृत्युको समेत सरकारले विभेद गरेको छ,’ डा. कार्की भन्छन्।

‘दोस्रो लहरमा धेरै स्वास्थ्यकर्मी ‘पोस्ट कोभिडकाले ज्यान गुमाएका छन्। न त सरकारले सेवा–सुविधा दियो। संक्रमित भएका स्वास्थ्यकर्मी प्रर्याप्त उपचार नै गर्यो,’ घिमिरे थप्छन्।’

त्यसैगरी, स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगिनका लागि तालिमको व्यवस्थापन नसक्दाको ज्यान जोखिममा परेको डा. कार्की बताउँछन्।

‘स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन कसरी काम गर्ने?, आइसियू लगायत अन्य ठाँउमा कसरी काम गर्ने? तालिम दिन सकेन। शहरी क्षेत्रका स्वास्थ्यकर्मीले केही हदसम्म पहुँज भयो होला तर, दुर्गमका स्वास्थ्यकर्मीले यसबाट पनि बञ्चित भए,’ डा. कार्कीले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय