निशा घिमिरेको अवस्थामा सुधारः ह्वील चेयरमा बस्ने भइन, प्रतिक्रिया जनाउन थालिन्

हेल्थपोस्ट नेपाल

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन् । हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ।

उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएका कारण कलाकार निशाको मुहारमा चमक देखिएको थियो। अस्थिपञ्जरमात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ ।

हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ। डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

अस्पतालमा आउँदा प्रतिक्रियाविहीन अवस्थामा रहेकी उनी चलमलाउन थालेकी छिन् । बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन् । उनले पछिल्लो समय बोल्नेसमेत कोशिश गरिरहेकी छिन् । उपचारका संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार भोकलाग्दा संकेत दिनेसम्मको भएकी छिन्। ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ,’ उपचार संलग्न चिकित्सकहरु भन्छन् ‘क्रमशः अवस्थामा सुधार भइरहेको छ।’

उनले सोझै खाना खान भने सकेकी छैनन्। पाइपमार्फत खाना दिइने गरिएको छ।

डा जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताए। उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए। जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकाले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ ।

‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ,’ डा जलानले भने–‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’

निशाको अवस्थालाई उनले ‘जनरल कण्डीसन इम्प्रूभ’ भएको अवस्थाको रुपमा बुझ्न सकिने बताए।

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो। आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थिइन्।

तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएका बेला सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्। दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए।

काठमाडौं ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो ।

नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै बस्न बाध्य भएकी थिइन्।

यो अवधिमा निशाको अवस्थाका बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् ।

नर्भिकले उनको उद्धार गरेपछि उनलाई आर्थिक सहयोग गर्नेहरुको समेत लहर नै चलेको छ । उनको नाममा अक्षयकोष स्थापना गरी सहयोग रकम धमाधम जम्मा भइरहेको उनको उद्धारका लागि समन्वय गरेका समाजसेवी दुर्गानाथ दाहालले जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *