नेपालमा कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ को नयाँ म्युटेसन भेटियो
नेपालमा कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ को नयाँ म्युटेसन फेला परेको छ। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै डेल्टा भेरियन्टको परिस्कृत रुप ‘डेल्टा प्लस’ म्युटेसन भेरियन्ट फेला परेको जानकारी दिएको हो।
नेपालका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमूना परीक्षणका लागि पठाइएको थियो। जसमध्ये ४७ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको हो भने एउटामा अल्फा भेरियन्ट देखिएको हो।
डेल्टा भेरियन्ट देखिएको कुल नमुना स्वाबमध्ये ९ जनाको स्वाबमा डेल्टाको उत्परिवर्तित रुप के४१७एन म्युटेसन देखिएको हो। त्यसलाई आधिकारिक नाम एवाई.१ दिइएको छ।
हालसम्म डेल्टा भाइरसको यस रुप नेपालसहित भारत, पोर्चुगल, बेलायत, अमेरिका लगायत १० देशमा पाइएको छ। यो म्युटेसनमा बेटा भेरियन्टकै जस्तो म्युटेसन देखिएकोले यसले पार्न सक्ने प्रभावका बारेमा वैज्ञानिकहरुले अझै अनुसन्धान गरिरहेका छन्।
स्वास्थ्य मन्त्रालयले नेपालमा भने यससहित डेल्टा र अल्फा बढी संक्रामक र संक्रमितलाई गम्भीर अवस्थामा पुर्याउन सक्ने भएकाले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्सर्न भनिएको छ।
स्वास्थ्य मन्त्रालयले भाइरसको बढी संक्रामक र सबै उमेर समूहकालाई असर पार्ने बताएको छ। युरोपमा मार्चमै देखिएको भाइरसको यस रुप भारतमा पनि बढ्दो छ।
त्यस्तै, कप्पा भेरियन्ट पनि नेपालको केही क्षेत्रमा देखिएको छ। यो बढी संक्रामक नभएकाले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट पुष्टि गरिएको छ।
उक्त नमुनाहरु जेष्ठ २६ मा भारतको नयाँ डिल्ली स्थित द इन्सिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजी मा सिक्वेन्सिङका लागि पठाएको थियो।