ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

कोरोना संक्रमणबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। ब्राजिल सबैभन्दा बढी संक्रमितको मृत्यु हुने देशको दोस्रो नम्बरमा रहेको छ। पहिलोमा अमेरिका रहेको छ। अमेरिकामा ६ लाख १७ हजार बढीको मृत्यु भएको छ भने ब्राजिलमा ५ लाख ८६८ संक्रमितको मृत्यु भएको छ।

विशेषज्ञले ब्राजिलमा अझै संक्रमण बढ्नसक्ने चेतावनी पनि दिएका छन्। उनीहरुले पर्याप्तमात्रामा खोप नहुँदा र जाडो याम सुरु हुँदा संक्रमण बढ्ने बताएका हुन्।

ब्राजिलको स्वास्थ्य संस्था फियोक्रुजले ब्राजिलको अवस्था जटिल रहेको भन्दै १५ प्रतिशत युवालाई मात्र खोपको पूरा मात्रा लगाइएको बताएको छ। ब्राजिलका राष्ट्रपति जयर बोल्सोनाराले स्वास्थ्य मापदण्ड लागू गर्ने विषयमा उदार बन्दा संक्रमण तीव्र गतिमा फैलिएको बताइएको छ।सरकारको लापरबाहीमाथि कांग्रेसले अनुसन्धान गरिरहेको जनाएको छ।

राष्ट्रपति बोल्सोनाराको ब्राजिलमा कडा आलोचना हुन थालेको छ। उनले खोप खरिदलाई प्राथमिकता नदिएर बेवास्ता गरेको तथा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, निषेधाज्ञा लगाउनेलगायतका स्वास्थ्य मापदण्डको पालना नगराएको आरोप उनीमाथि छ।

ब्राजिलमा तीव्र गतिमा फैलने भेरियन्टले त्यहाँको अवस्थालाई जटिल बनाएको छ। जुन पहिले एमेजन क्षेत्रमा भेटिएको थियो। पछिल्लो एक सातामा प्रत्येक दिन त्यहाँ अौसतमा ७० हजार नयाँ संक्रमित थपिन थालेका छन् भने १५ सय बढीले ज्यान गुमाउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय