स्वास्थ्यसम्बन्धी हक कागजको खोस्टो : सिटौला

हेल्थपोस्ट नेपाल

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको कार्यशैलीका कारण संविधानमा भएको स्वास्थ्यसम्बन्धी मौलिक हक कागजको खोस्टोमा रुपान्तरण भएको बताएका छन्।

नेपाली कांग्रेस सूचना तथा प्रचार विभागले शनिबार आयोजना गरेको भर्चुअल अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले वाम गठबन्धनको सरकारले चार वर्ष बित्दै गर्दा नागरिकका पक्षमा कुनै काम गर्न नसकेको जिकिर गरे।

कोरोना नियन्त्रण, उपचार र व्यवस्थापनमा सरकार पुरै असफल बनेको उनले जिकिर गरे। उनले वर्तमान सरकारले सरकारी अस्पतालमा उपचारको कुनै प्रबन्ध नगरेको र न्यून आय भएका बिरामीको निजी अस्पतालमा जाने आर्थिक औकात नै नभएको बताए। ‘उपचारका क्रममा टाट पल्टिएर शव अस्पतालबाट निकालेका सयौं घटनाका हामी प्रत्यक्षदर्शी हाौं,’ नेता सिटौलाले भने, ‘वर्तमान सरकारको ध्यान सत्ताको झिनाझम्टीमा मात्रै गयो,जनताको स्वास्थ्य उपचारमा जाँदै गएन।’

न्यून आय भएका मजदुर, किसानको अवस्था दयनीय भएको बताउँदै उनले गरिबलाई पीडा र अन्योलमा राखेर सरकार सत्ता स्वार्थमा लागेको दाबी गरे। सिटौलाले कम्युनिस्ट पार्टी आन्तरिक कलहमा फस्दा राष्ट्र नै समस्याग्रस्त भएको प्रष्ट पारे। उनले वर्तमान सरकारले संविधान र लोकतन्त्रमाथि अतिक्रमण गरेको उल्लेख गर्दै जबर्जस्त विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरे।

आगामी महाधिवेशनमा नेतृत्वका लागि स्वच्छ, निश्पक्ष ढंगले प्रतिस्पर्धा हुने र बृहत एकतामा ध्यान दिनुपर्ने उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *