स्वास्थ्य परामर्श चाहियो ? ११५६ मा सम्पर्क गर्नुहोस

हेल्थपोस्ट नेपाल

कोभिड महामारीका समयमा अस्पताल जान सहज छैन्। घरैमा बसिरहँदा कुनै पनि स्वास्थ्य समस्या भयो र परामर्श चाहियो भने, सम्बन्धित विशेषज्ञ चिकित्सकसँग परामर्शका लागि नेपाल चिकित्सक संघ नेतृत्वमा कल सेन्टर संचालनमा छ ।

कोरोना महामारीका समयमा अस्पतालमा बेल चरम अभाव भएको र अन्य रोगका बिरामीलाई पनि अस्पताल जान सहज नभएपछि सहयोगका लागि यस्तो सेवा सुरुवात गरिएको थियो ।

संघको कार्यलयमा स्थापना गरिएको कल सेन्टरका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसन, ओमआदी फाउन्डेसन र नेपाल टेलिकमले समेत सहयोग पुर्याएका थिए।

कल सेन्टरमा सर्वसाधारणदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीले परामर्श लिइरहेका छन्। महामारी ओरालो लागेपनि कलसेन्टरको सेवा जारी राख्ने भन्दै संघले कुनै पनि स्वास्थ्य परामर्श चाहिएमा सम्पर्क गर्न आग्रह गरेको छ।

एक महिनाको अवधिमा ७८१ कोरोना संक्रमित र अन्य बिरामीले पनि स्वास्थ्य परामर्श सेवा लिएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए।

सेवाबारे जानकारी दिने उदेश्यले आयोजित भर्चुअल मिटिङमा एनएमएले ‘कल सेन्टर’ ११५६ मार्फत एक महिनाको प्रगतिलाई विश्लेषण गर्दै स्वास्थ्यकमीसमेत गरेर झण्डै एक हजार व्यक्तिले स्वास्थ्य परामर्श लिएको जानकारी दिएको छ।

कल सेन्टरमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकले प्रारम्भिक परामर्श दिएर आवश्यकताका आधारमा  विशेषज्ञसँग समेत परामर्शको प्रबन्ध गरिएको छ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बस्नेतले एएनएमएफले अन्य सामान्य अवस्था र महामारीमा पनि नेपालको स्वास्थ्य सेवाको सुधार एवं स्तरोन्नतीका लागि काम गर्दै आएको जानकारी दिए।

उनका अनुसार महामारीका स्वास्थ्यकर्मी तथा सर्वसाधारणका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरणसँगै ठूलो संख्यामा मेडिकल उपकरण र अक्सिजन प्लान्टसमेत वितरण तथा स्थापना गरिएको जानकारी दिए।

‘कलसेन्टर पनि आम स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि स्वास्थ्य परामर्शमा सहयोगी हुने विश्वास छ’ उनले भने।

संघका महासचिव डा. बद्री रिजालका अनुसार हालसम्म प्राप्त परामर्शका कलमध्ये झण्डै १०.२ प्रतिशत संक्रमितहरुलाई चिकित्कसहरुबाट परामर्श दिइएको थियो भने ५.९ प्रतिशतलाई तुरुन्त अस्पतालमा गएर उपचार गर्न सुझाव दिइएको थियो।

धेरैजसो मानिसहरुले कोरोना संक्रमणकै बारेमा बुझ्न फोन गर्ने गरेका थिए। डा. कार्कीका अनुसार ज्वरो, खोकी, खोप तथा अन्य रोगहरुका बारेमा जानकारी लिन सम्पर्क गरेका थिए।

सबै भन्दा बढि काठमाडौंका नागरिकले फोन गर्ने गरेको संघले जनाएको छ।

काठमाडौं ५६ प्रतिशत, ललितपुरबाट ९ प्रतिशत भक्तपुरबाट ८ प्रतिशत, रुपन्देहीबाट २, मोरङबाट १.८ र रामेछापबाट १. ७ प्रतिशत मानिसले सम्पर्क गरेका थिए।

कल सेन्टर हालको संक्रमणको समयलाई मात्र नभई अन्य समयमा पनि परामर्शका लागि उपयोग गर्न सकिने डा. कार्कीले बताए।
कल सेन्टर मार्फत परामर्श दिन ६ जना मेडिकल अफिसर खटिएका छन्। विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म कलसेन्टरको हटलाइन नम्बरबाट परामर्श लिन सकिन्छ।

संघले हेल्पलाईनमार्फत कोरोना संक्रमित व्यक्तिहरुलाई मात्र नभई अन्य रोग भएका व्यक्तिहरुले पनि आफ्नो समस्यामा परामर्श एवं उपचार सेवाका लागि परामर्श लिन आह्वान गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *