निषेधाज्ञाले नछोएका दुई जिल्ला
कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएका जिल्लाको संख्या ७५ पुगेको छ ।
गृह मन्त्रालयको विवरण अनुसार खोटाङ र मनाङ बाहेक देशका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै वैशाख १३ गतेबाट विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको थियो ।
निषेधाज्ञा जारी भएपनि संक्रमणमा कमी नआएपछि विभिन्न जिल्लाले निषेधाज्ञा थप्दै आएका छन्।
अहिले पनि ७५ जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ।
जसमध्ये ७३ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक रूपमा निषेधाज्ञा जारी भएको छ । मुस्ताङ र ताप्लेजुङमा भने आंशिक रूपमा निषेधाज्ञा गरिएको छ।
हालसम्म नेपालमा ६ लाख १५ हजार ९ जनामा कोरोना संक्रमण देखिएको छ भने ८ हजार ५९७ जनाले ज्यान गुमाएका छन।
खोटाङ जिल्लाभर हाल ८८३ कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये पुरुष ५८१ र महिला ३०२ छन्।
यस्तै हिमाली जिल्ला मनाङमा भने निषेधाज्ञा लगाउनुपर्ने आवश्यकता नै नदेखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
जनसंख्या कम भएकाले मानिसहरुको सम्पर्क पनि पातलो हुने भएकाले संक्रमण दर तीव्र रुपमा नबढेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ।
मनाङमा हाल ६७ जना संक्रमण पुष्टि भएको छ। जसमध्ये महिला ३७ र पुरुष ३० जना रहेका छन्।