जनकपुरमा सय बेडको कोभिड विशेष अस्पताल सञ्चालनमा

हेल्थपोस्ट नेपाल

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा सय बेडको कोभिड विशेष अस्पताल सञ्चालनमा आएको छ।

जनकपुरधाम–१४ स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवन मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको हो।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रूपमा उद्घाटन गरेका छन्।

गत वर्षकै कोरोना महामारीमा मणिपाल शिक्षण अस्पतालका भवनमा कोभिड अस्पताल बनाउने निर्णय प्रदेश सरकारले गरेको थियो। तर, निर्णय गरेको एक वर्षपछि मात्रै कोभिड विशेष अस्पताल सञ्चालनमा आएको हो।

प्रतिष्ठानका कुलपतिसमेत रहेको मुख्यमन्त्री राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरूको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवा पनि चाँडै सुरू गर्ने बताएका छन्।

शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा लिजमा लिएको मणिपालले दश वर्षभन्दा बढी समय बितिसके पनि अस्पताल सञ्चालनमा ल्याउन नसकेकोले लिज खारेज गराइ प्रतिष्ठानमातहत जग्गा ल्याउने पहल सुरू भइसकेको उनले जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *