‘स्मार्ट लकडाउन’ मा जाँदै सरकार, ४० लाख डोज खोप ल्याइने

सरकारले आगामी सातादेखि निषेधाज्ञा खुकुलो बनाउने भएको छ। कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बुधबार राति बसेको बैठकले संक्रमणको जोखिम रोक्ने उपाय अवलम्बन गर्दै निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो। जसलाई सरकारले ‘स्मार्ट लक डाउन’ भनेको छ।

लगातारको निषेधाज्ञाले जनजीवन प्रभावित हुनथालेको भन्दै अब स्मार्ट लकडाउनमा जाने निर्णय समितिले गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। जसमा अत्यावश्यक सेवा पूर्णरुपमा खुला गरिने छ।

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको हो।

समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले धेरै नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाजस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय पनि गरेको छ। यी देशहरुबाट सातामा २ हजार यात्रुभन्दा नबढ्ने गरी हवाई सेवा सञ्चालन हुनेछ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर, विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ। कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ।

यसैगरी, गैरआवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।

कोभिड नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै ओलीले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी दिए। आगामी साउनदेखि सो खोप लगाउन थालिने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय