आज बाढी-पहिरो र वर्षाको सम्भावना कस्तो?

हेल्थपोस्ट नेपाल
लगातारको वर्षाले देशका अधिकांश क्षेत्रमा बाढी-पहिरोले वितण्डा मच्चाइरहेको छ। वर्षा अझै रोकिएको छैन। देशभर मनसुनी वायुको प्रभाव रहेका कारण आज पनि देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशभर अहिले सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ। वर्षा शनिबारसम्मै जारी रहने महाशाखाको अनुमान छ।

आज पनि देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आजपनि वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्नसक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

आज कोशी, र यसका सहायक नदीमा बहाव सामान्य रहने तथा सतर्कता तलै हुने पूर्वानुमान छ। नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव केही बढ्ने र केही स-साना सहायक नदीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान गरिएको छ। यस्तै कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाव सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ। पश्चिम राप्ती, तिनाउ, बबईका स-साना नदी जलाधारमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने बताइएको छ। कालिगण्डकी, भेरी र यसका सहायक नदी जलाधारलगायत प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान महाशाखाको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *