कोभिड नेपाल : खोप लगाएका मानिसले मास्क लगाउनुपर्छ कि पर्दैन?

केही साताअघि अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडिसी) ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गर्‍यो।

नयाँ मापदण्डमा उसले खोपका आवश्यक मात्रा लगाइसकेका मानिसलले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्नु नपर्ने उल्लेख गर्‍यो।

अमेरिकामा जस्तै नेपालमा पनि खोपको दुवै मात्रा लगाएका व्यक्तिहरूले मास्क लगाउनु नपर्ने कतिपयको धारणा रहेको पाइन्छ।

तर चिकित्सक तथा विज्ञहरूले भने तुलनात्मक रूपमा समृद्ध राष्ट्रको व्यवस्था सिको गर्ने सक्ने अवस्थामा नेपाल नरहेको र नेपाली परिवेशमा खोप लगाइसकेका व्यक्तिहरूले समेत मास्क प्रयोग गर्नुपर्ने बताउँछन्।

किन मास्क लगाउनुपर्छ त?

यति बेला विश्वभरि कोरोनाभाइरसका विभिन्न प्रकारहरू फैलिरहेका छन्।

त्यसमा पनि सबैभन्दा बढी सङ्क्रामक भनिएको डेल्टा भेरिअन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अमेरिका र ब्रिटेनमा समेत डेल्टा भेरिअन्ट फैलिरहेको देखिएको र अल्फा भेरिअन्ट को तुलनामा त्यो झन्डै ५० देखि ६० प्रतिशत बढी सङ्क्रमणशी देखिएको सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन्।

कोभिडको यो प्रकारमा नेपालमा पनि दिइएको अक्सफर्ड(आस्ट्राजेनेकाले विकास गरेको खोपको दुवै मात्रा चाहिने जस्तो देखिएको उनको भनाइ छ।

यस्तो सङ्क्रमणशीलता धेरै भएको भेरिअन्ट थोरै भुलचुक हुँदा समेत सर्न सक्ने भएकाले मास्क नलगाई हिँडडुल गर्न सकिने अवस्था नरहेको विज्ञहरूको मत छ।

‘यस्ता नियमहरू डाइनामिक (परिवर्तनशील) भए। कुन बेला कतिवटा भेरिअन्ट फैलिएको छ, कति मात्रामा फैलिएको छ, त्यसबाट खतरा कस्तो छ र त्यसका आधारमा यस्ता मास्कसम्बन्धी गाइडलाइन फेरिने भए। खोपले के गर्छ भन्ने स्पष्ट छ। दुई मात्रा लगाएका मानिसलाई खोपले थेग्छ। उनीहरू सिकिस्त हुन सक्ने सम्भावना कम हुन्छ,’ डा. सुवेदी भने।

सबैलाई खोप उपलब्ध गराउन सक्ने सरकारको क्षमता भए पनि कतिपय बिरामीको विभिन्न कारणवश खोप लगाउन नमिल्ने हुन सक्छ। त्यस्तै रोग प्रतिरोधी क्षमता कम भएकाले खोप लगाए पनि खोपले काम नगर्ने हुन्छ। उनीहरूलाई जोगाउन अरूले मास्क लगाउनै पर्ने हुन्छ। समाजमा त्यस्ता भल्नरेबल (जोखिममा रहेका) जनसङ्ख्या सधैँ भइरहेको हुन्छ।

सबैले खोप नपाएकाले पनि मास्क : अनिवार्य

नेपालमा हालसम्म २४ लाख २२ हजार जनाभन्दा केही बढी मानिसले कोभिड खोपको पहिलो मात्रा प्राप्त गरेका छन् भने ६,९१,४९४ जनाले दोस्रो मात्रा प्राप्त गरेका छन्।

‘समुदायमा ठूलो अनुपातमा खोप लगाएको क्षेत्रमा मास्क नलगाउने कल्पना गर्न सकिन्छ। तर हाम्रो चाहिँ समुदायमा खोप लगाउने मानिस यति कम छन् कि हामीले अहिले नै मास्क लगाउनुपर्ने सम्भावना चाहिँ खोपकै कारणले त्यो सम्भावना भन्दा धेरै पर छौँ,’ सुवेदीले भने।

नेपालमा लगाइएका खोपहरूको प्रभावकारिता कति छ र तिनले कति एन्टिबडी बनाए भन्ने कुरा हेर्न सकिने अवस्था नरहँदा नेपालमा ढुक्कसँग मास्क नलगाउन सिफारिस गर्न नसकिने इपिडियोमोलजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) पूर्व निर्देशक डा. वासुदेव पाण्डे बताउँछन्।

‘हुन त हाम्रा अस्पतालहरूमा आएका बिरामीहरू हेर्दा जसले खोप लगायो तिनमा सके त सङ्क्रमण नै कम भयो, सङ्क्रमण भएकै भए पनि गम्भीर नभएको भन्ने हाम्रो प्रारम्भिक ठम्याइ छ। हाम्रोमा लगाइएको खोपको प्रभावकारिता हामीले हेर्छौ र त्यसले कति एन्टिबडी बनायो हेरेर पर्याप्त एन्टिबडी छ न्यूट्रलाइजेशन गर्न सक्छ, भाइरस छिरे पनि एन्टिबडीले काम गर्न सक्छ भन्न सक्थ्यौँ। त्यस्तो अध्ययन गर्न नसक्ने र अरू देशकै भर पर्नुपर्ने हुँदा हामीले त्यो रिस्क लिन सक्दैनौँ,’ पाण्डेले भने।

ईडीसीडीका अर्का पूर्वप्रमुख बाबुराम मरासिनीका अनुसार प्रयोगात्मक हिसाबले आएका खोपहरूले कति समय काम गर्छन भन्ने कुरा ठ्याक्कै निर्क्योल भई नसकेको अवस्थामा एक पटक मास्क खोलिसकेपछि सर्वसाधारणहरूलाई पुनः मास्क लगाउनुपर्ने रहेछ भन्न गाह्रो हुने तर्क गर्छन्।

‘दुवै खोप लगाइएकालाई पनि फाट्टफुट्ट सङ्क्रमण हुने तर धेरै अप्ठेरो सङ्क्रमण नहुने भन्ने कुरा आइरहेको छ। त्यस कारण मास्क लगाइराख्नु नै उचित हुन्छ,’ मरासिनीले भने।

जबसम्म खोपले कति काम गर्छ भन्ने दुई–तीन वर्षको अनुभव हुँदैन तबसम्म मास्क खोल्ने कुराबारे सोच्न नहुने आफ्नो व्यक्तिगत धारणा रहेको उनले बताए।

दुवै मात्रा लगाएकाले मास्क लगाउनुपर्छ कि पर्दैन?

दुवै मात्रा खोप लगाएका मानिसहरूको भेट हुँदा मास्कको जरुरत कम पर्ने सक्ने चिकित्सकहरू बताउँछन्।

तर उनीहरू आफैँ सङ्क्रमणका कारण बिरामी नहुने भए पनि अरूलाई सार्न सक्ने डा.सुवेदीको भनाइ छ।

‘हाम्रो समुदायमा अहिले पनि सङ्क्रमणको भार बढी छ। त्यस कारण खोपभन्दा पनि समुदायमा महामारीको भार कति छ त्यसको आधारमा सायद यो मास्कको आवश्यकता कति छ भन्ने कुरा परिवर्तन हुन्छ। समुदायमा सङ्क्रमण पटक्कै छैन भने थोरै मान्छेले खोप लगाए पनि मास्क लगाउनुपर्दैन,’ सुवेदीले भने।

कोभिड हुँदा शरीरमा अक्सिजन तह कति हुनुपर्छ, कम भए के गर्ने

नेपालको ठूला सहर संसारकै सबैभन्दा प्रदूषित स्थानमा पर्ने हुँदा यी क्षेत्रमा बस्नेहरूले सामान्य अवस्थामा पनि मास्क प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।

यस्ता ठाउँमा साधारण मास्क मात्रै नभएर एन ९५ मास्क नै लगाउनुपर्नेमा उनीहरूको जोड छ।

पाण्डेका अनुसार खोप लगाएका व्यक्तिहरूले सुपर स्प्रेडर बनेर अरूलाई सङ्क्रमण सार्न सक्ने अवस्था रहन सक्छन्।

त्यस कारण पनि सीरोप्रेभलन्स अध्ययन वा खोप प्राप्त गरिसकेका केही व्यक्तिहरूलाई छनोट गरेर कति एन्टिबडी बस्छ (खोपबाट), उनीहरूले सार्न (सङ्क्रमण) सक्ने अवस्था छ छैन भन्ने अध्ययन नगरी अरूकै जस्तो गरी मास्क नलगाउन नमिल्ने उनी बताउँछन्।

के मास्क लगाउँदा अक्सिजन नपुग्ने हुन्छ?
डा. सुवेदी भन्छन् मास्क लगाउँदा श्वासप्रश्वास सम्बन्धी द‌ीर्घकालीन समस्या वा शरीरलाई चाहिने अक्सिजन अपुग हुने भन्ने हुँदैन।

कतिपय पेसाका मानिसहरूले सधैँ मास्क लगाइरहेका हुन्छन्। हामी डाक्टर, नर्सहरूले सबैजसो अस्पतालभित्र सधैँ मास्क लगाइराख्छौँ,’ उनले भने।

जापान, ताइवान, चीन र हङ्‍कङजस्ता मुलुकमा मास्क धेरै लगाउँदा पनि स्वास्थ्यमा कुनै समस्या परेको कुरा नआएको उनी बताउँछन्।

बिबिसी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय