दुई तिहाइभन्दा बढी स्वास्थ्यकर्मीसँग छैन सिपीआरको सीप

हेल्थपोस्ट नेपाल

जारी युरोकप–२०२० मा शनिबार साँझ डेनमार्क र फिनल्याण्डबीच खेल भइरहेको थियो।

खेलको बीचमा मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमै ढले।

कारण थियो अचानक मुटु चल्न बन्द हुनु, अर्थात हर्ट अरेस्ट।

डेनमार्कका चिकित्सकले सही समयमा सिपीआर र डेफिब्रिलेटोरको सहायताले उनको मुटु पुनः सञ्चालनमा ल्याउन सफल भए।

अचानक मुटु बन्द भएर व्यक्ति बेहोस भएको समयमा सही रुपमा छातीमा बेस्सरी थिचेर बन्द मुटु वा फोक्सोलाई पुनः सञ्चालन गर्ने सीपलाई सिपीआर (कार्डियो पल्मोनरी रिससिटेसन) भनिन्छ।

त्यस्तै, विद्युतीय झड्का दिएर मुटुलाई ब्युँताउने काम डेफिब्रिलेटोर नामक उपकरणले गर्दछ।

क्रिस्टियन ढल्नेबित्तिकै ती चिकित्सकले सही समयमै सिपीआर गरेपछि उनी ब्युँतिए। हाल उनी अस्पतालमा उपचाररत छन्।

०००

गत वर्ष दशरथ रंगशालामा यस्तै घटना भयो। हृदयाघातका कारण फुटबल खेलाडी कर्फु रसाइलीको ज्यान नै गयो।

क्वार्टरफाइनलमा फुटसल खेलिसकेर अर्को खेल हेर्ने क्रममा उनलाई मुटुमा चस्का पस्यो। उनीसँगै बसिरहेका साथीले अस्पताल जाउँ भन्दा ठीक भएको जवाफ दिए। त्यसको पाँच मिनेटमा उनी ढले।

उक्त समयमा न त कुनै चिकित्सक खेल मैदानमा तैनाथ गरिएको थियो न त कसैले उनलाई सिपीआर नै दिए। अस्पताल लैजाने क्रममा उनको निधन भयो।

०००

कुनै पनि व्यक्तिलाई कतिबेला अचानक हृदयगति रोकिन सक्छ, भन्ने कुनै पुर्वानुमान गर्न सकिँदैन। तर मुटुमा झड्का पर्दा अचानक मुटुले काम गर्न छाड्छ। सही तरीका र समयमा गरिने सिपीआर जीवनदायी बन्नसक्छ। हृदयाघात वा श्वासप्रश्वासमा आइपर्ने अपर्झटमा तुरुन्तै अस्पताल लैजाँदा पनि बीचको समयमा सिपीआर आवश्यक हुन्छ।

यसबारे हरेक व्यक्तिमा ज्ञान जरुरी हुन्छ। कतिपय देशहरुमा सार्वजनिक सवारी चालक, प्रहरी, सामुदायिक व्यक्ति वा विद्यालय तहदेखि नै यस्तो सीप सिकाइएको हुन्छ।

तर दुर्भाग्यवश, नेपालमा सामान्य व्यक्तिलाई मात्र नभई कयौं चिकित्सक तथा स्वास्थ्यकर्मीसमेत यो सीपमा अद्यावधिक नभएको बताइन्छ।

दुर्लभ घटना हुने र अस्पताल पुर्‍याइसक्दा अधिकांशको ज्यान गइसक्ने हुँदा सिपीआर नै आवश्यक पर्ने बिरामीमा गरेर यो सीप सिक्ने अवस्था रहन्न। अरु उपचारजस्तो योजना बनाएर मानिसमा गरेर यो सीप सिक्न संभव हुन्न।

त्यसका लागि बनेका विशेषखालका विद्युतीय सामग्रीसहित सिपीआरको विशेष तालिमको व्यवस्था गरिएको हुन्छ। प्रत्येक चिकित्सक वा स्वास्थ्यकर्मीले समय समयमा यो सीप बिर्सिएको छ, छैन भन्नका लागि पनि स्कील ल्याबमै पुनर्ताजगी तालिम लिनुपर्ने अन्तर्राष्ट्रिय प्रचलन र मान्यता छ।

तर, नेपालमा मेडिकल तथा नर्सिङ स्कूलहरुमा समेत उचित सामग्रीसहितका स्कील ल्याबको अभाव, उचित रुपमा सिकाउनसक्न प्रशिक्षकको कमीजस्ता कारणले धेरै चिकित्सकले समेत यस्तो सीप सिक्न पाएका हुन्नन्।

त्यसमा पनि गम्भीर अवस्थाका बिरामीको यो विधिबाट उपचार गर्दा ज्यान जोगाउन नसके बिरामी पक्षबाट आरोप लाग्ने वा आक्रमण हुने त्रासमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मी सिपीआरबाट पन्छिने गरेको चिकित्सकहरु स्वीकार्छन्।विभिन्न अध्ययन तथा अनुभवका आधारमा नेपालमा अभ्यास गरिरहेकामध्ये ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सिपीआरको सीपबारे जानकारी नभएको देखिएको छ।सन् २०१६ मा मेडिकल जर्नल अफ बिरेन्द्र हस्पिटलमा छापिएको एक अनुसन्धानमुलक लेखअनुसार ६६ प्रतिशत स्वास्थ्यकर्मीहरुमा सिपीआरबारे जानकारी नभएको पाइएको छ।

नर्स शान्ति बर्जाचार्यले गरेको अनुसन्धान अनुसार ८६ प्रतिशत स्वास्थ्यकर्मीहरुले सिपीआर गरेको मात्रै देखेका छन् भने ५८ प्रतिशतले मात्र यो विधि प्रयोग गरेर उपचार गरेका छन्।

मात्र २ प्रतिशत नर्सहरु जो आइसीयू, सिसीयू, आइटिसीयू, ओटी, एचसीयू र आकस्मिक कक्षमा काम गर्छन्, उनीहरुलाई पूर्णरुपमा सिपीआरका बारेमा ज्ञान रहेको अध्ययनमा उल्लेख छ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य शिक्षा पढाउने विश्वविद्यालय तथा कलेजहरु थुप्रै भए पनि उनीमा सिपीआर सीपको परीक्षा भने हुँदैन। लामो समयदेखि चिकित्सा विषय पढेका जनशक्तिले सम्बन्धित काउन्सिल दर्ता गर्दा लाइसेन्सिङ परीक्षामा ज्ञानसँगै सीपको पनि परीक्षा हुनुपर्ने आवाज उठ ेपनि अहिलेसम्म त्यस्तो व्यवस्था लागू हुन सकेको छैन।

नेपाल मेडिकल काउन्सीलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीकाअनुसार विश्वविद्यालयहरुले स्वास्थ्यकर्मीहरुको सीपको परीक्षण सुरु गरेमा काउन्सिलले पनि लाइसेन्सिङ वा दर्ताका क्रममा सीपको समेत परीक्षण सुरु गर्न सक्छ ।

अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले दर्ता हुनु अगाडि सम्बन्धित काउन्सिलले लिने ज्ञानको परीक्षण हुने परीक्षा उत्तीर्ण गरेपछि मात्र दर्ता हुन पाउँछन्। तर काउन्सिलसँग सीपको परीक्षण गर्नसक्ने क्षमता र पूर्वाधार नै छैन्।

‘नेपाल मेडिकल काउन्सिलको स्थापनाकालदेखि नै स्वास्थ्यकर्मीहरुको प्रयोगात्मक परीक्षा हुनुपर्छ भनेर पहल गरिएको थियो। तर यससम्बन्धी कुनै कानुन नभएका कारण हालसम्म स्वास्थ्यकर्मीहरुको सीपको परीक्षण नभएको हो,’ अधिकारीले भने, ‘जसले गर्दा अहिले अभ्यासमा रहेका सबै जनशक्तिलाई सिपीआरजस्तो आधारभूत र जीवनदायी सीप आउँछ भन्न सक्ने अवस्था रहेन।’

त्रिभुवन विश्वविद्यालय स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान (आइओएम)का पूर्व डिन डा.जगदिशप्रसाद अग्रवाल सिपीआरको सीप सकेसम्म सबैमा र कम्तिमा चिकित्सक तथा नर्सहरुलाई हुनैपर्ने बताउँछन्।

तर यो सीप नेपालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा छ वा छैन कसैलाई पनि थाहा नभएको डा. अग्रवालको भनाइ छ।

‘विश्वविद्यालयहरुले पनि सिपीआरको सीप दिएर यसको परीक्षण गरेका हुँदैनन्। एनेस्थेसिया, आकस्मिक वार्ड र आइसीयूमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि यसबारे तालिम दिइरहिने हुँदा उनीहरुमा यसको सीप हुने र अन्यको सन्दर्भमा कतिले आफ्नै इच्छाले सिक्ने गरेका छन्।’

नेपालका विश्वविद्यालयहरुले सिपीआरको सिद्धान्त पढाए पनि परीक्षण गर्ने व्यवस्था नगरेको उनी बताउँछन् । ‘पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कहिलेकाहाी सीप परीक्षण हुन्छ,अन्यत्र यस्तो हुने गरेको जानकारी भएन’ उनले भने।

उनले काठमाडौं विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयमा पनि चिकित्साशास्त्रका विद्यार्थीहरुले सिपीआर सिकिसकेका छन् कि छैनन् भनेर प्रयोगात्मक परीक्षा लिने नगरिएको बताए ।

‘पढाइ हुन्छ, सैद्धान्तिक रुपमा सिकाइन्छ। चिकित्सकहरुले विभिन्न ठाउँहरुबाट पनि सुनेको वा गरेको, देखेको हुनसक्छन्, तर आफै संलग्न भएर गर्नुपर्दा गर्न सक्छन् त ? निपूण भएको स्थिति छैन।’ उनले भने।

उनले १०/१२ वर्ष अगाडि नै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनु अगाडि सिपीआर गर्न सिकेको छ वा छैन हेर्न तालिमको प्रमाणपत्र भएको हुनुपर्ने कुरा उठाएको स्मरण गरे।

हाल मेडिकल काउन्सिलमा सिपिडी (कन्टिन्यिुइङ प्रोफेसनल डेभलप्मेन्ट) मा सिपीआरको तालिम पनि राखिएको भए पनि तालिम अनिवार्य भने नगरिएको छैन्।

‘सिपीआरको तालिम नभएको व्यक्तिलाई काउन्सिल दर्ता गरेर चिकित्सक लाइसेन्स दिनुहुन्न, तर हामीले अहिलेसम्म पनि यसको व्यवस्था गर्न सकेका छैनौं,’ डा अग्रवालले भने।

अन्य देशमा सामान्य नागरिकलाई पनि प्राथमिक उपचार गर्नसक्ने ज्ञान हुनुपर्छ भनेर तालिम दिने गरिएको छ। ‘कमजोर शिक्षा प्रणाली, नियमनकारी निकायमा संवेदनशीलको अभावले स्वास्थ्यकर्मीले पनि राम्ररी सिक्न सकेका छैनन्,’ उनले भने।

‘कति ठाउँमा स्वास्थ्यकर्मीहरुले तालिम वा सिकेका पनि होलान् तर उनीहरुलाई व्यावहारिक रुपमा सिपीआर गर्न आउँछ भनेर ठोकूवाका रुपमा भन्न सकिन्न, किनभने उनीहरुले तालिम नै लिएका छैनन्, आफँै गरेर हेरेका पनि छैनन्।’ डा. अग्रवाल थप्छन्।

त्रिवि शिक्षण अस्पताल, धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैमा सिपीआरबारे पढाई हुने गरेको छ। तर कलेजहरुमा तालिमको व्यवस्था गरिएको छैन।

उनीहरुले तालिम लिएको प्रमाणपत्र हेरेर मात्र नेपाल मेडिकल काउन्सिलले दर्ता गरे सुधारको सम्भावना रहेको डा. अग्रवाल बताउँछन्।
ज्ञानको परीक्षण विश्वविद्यालयले गरे पनि सीप काउन्सीलले परीक्षण गर्नुपर्ने व्यवस्था छ, तर अहिलेसम्म पनि यो सम्भव भएको छैन। यसलाई काउन्सिलहरुले छिट्टै व्यवस्थापन गर्नुपर्ने डा. अग्रवालको भनाइ छ।

सिपीआरको सीप भएमा तत्काल मुटु बन्द भएर मृत्युको मुखमा पुगेका मानिसलाई ब्युताउन र नयाँ जीवन नै दिन सकिन्छ। कम्तिमा सार्वजनिक ठाउँ वा स्वास्थ्यकर्मीमा मात्रै यो सीप हुने र अचानक मुटु र फोक्सो बन्द भएर ढलेका मानिसलाई सिपीआरको पहुँच बढाउनसकेमा थुपै्रलाई अकाल मृत्युबाट जोगाउन सकिन्छ ।



2 thoughts on “दुई तिहाइभन्दा बढी स्वास्थ्यकर्मीसँग छैन सिपीआरको सीप

  1. CPR is essential and incorporated in most of the courses in Nepal. Some go for independent training focused on basic and advanced life support. Few points I would like to quote:
    1. A single study finding that is 5 years old cannot be generalized. An anecdotes from experts are of no value in evidence based medicine.
    2. CPR though should be offered to all unless specified not to CPR but if you review international literature revival of circulation after CPR is as low as 25 to 30 % and discharge after CPR is very low, some studies showed about 7%. These data were of CPR conducted inside hospital in best environment. So CPR should not be overhyped.
    3. It is a debatable question if CPR should be conducted in the presence of family members. Usually it’s not done with family around at least in Nepal.
    4. There are few training programmed in Nepal that trains school children about CPR and basic life support. Giving some basic idea about airway, chest compression and recovery position to school children incorporated to course books can be a good start.
    Dr Arbin Joshi

  2. I would like to highlight few points regarding BLS ,
    In Nepal , Technical assitance from Mc Gill UNIVERSITY Canda along with NAMS , BIR HOSPITAL, DHULIKHEL hospital ConductING AHA BLS in KAVRE N SINDHUPALCHOK district, since 2017 . We have trained around 1800 people including Medical officers, Paramedics , Nurshing Staff.
    The overwhelming response by the trainers compelled us to prepare Nepali BLS , Along with the videos with the help of experts of Nepal and AHA BLS , MOH. It will be very soon be completed.
    Dr S.REGMI

Leave a Reply

Your email address will not be published. Required fields are marked *