प्रदेश २ बजेट : कोरोना औषधि खरिद गर्न २० करोड विनियोजन

हेल्थपोस्ट नेपाल
प्रदेश २ सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधि खरिद गर्न २० करोड रूपैयाँ विनियोजन गरेको छ।

प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री विजय यादवले आगामी आर्थिक वर्षको आयव्ययको विवरण पेश गर्दै कोभिड रोकथाम नियन्त्रणका लागि आवश्यक औषधि, अक्सिजन सिलिन्डर, रेमडिसिभर औषधि खरिद गर्न २० करोड विनियोजन गरिएको जानकारी दिए।

यसैगरी प्रदेशका विभिन्न अस्पतालमा ३५ वटा डाइलाइसिस मेसिन खरिद गर्न १२ करोड रूपैयाँ विनियोजन गरिएको उनले बताए।

जनकपुरधामस्थिति मणिपाल शिक्षण अस्पतालमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ९ करोड उपलब्ध भइसकेको र अगामी आर्थिक वर्षका लागि सरकारले १० करोड विनियोजन गरेको छ।

प्रदेशका विभिन्न अस्पतालहरूमा थप जनशक्ति भर्ना गर्न आवश्यक रकम विनियोजन गरिएको मन्त्री यादवले बताए।

प्रदेश सरकार मातहतमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई प्रोत्साहनको व्यवस्था सरकारले बजेटमा गरेको छ। यसैगरी आइसीयु र आइसीयू एचडियू मेसिन खरिद गर्न सरकारले २० करोड विनियोजन गरेको छ।

प्रदेशभित्रका सीमान्तकृतहरुका लागि स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट मिलाइएको मन्त्री यादवले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *