संक्रमणबाट बालबालिकालाई जोगाउन निक्सको आग्रह

हेल्थपोस्ट नेपाल
बालअधिकार सम्बन्धी काम गर्ने गैरसरकारी संस्थाहरुले बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्न सरकारलाई अपिल गरेका छन्।
कोरोनाको तेस्रो लहरले बालबालिकालाई धेरै गम्भीर बनाउने सरकारको अनुमानपछि गैरसरकारी संस्थाहरुले सरोकारवाला तथा सरकारको चासो बालबालिकामा केन्द्रित गर्न आग्रह गरेका हुन् ।
बाल बचाऊका लागि राष्ट्रिय पहल (निक्स) ले कोभिडविरुद्धको खोपका लागि आवश्यक अध्ययन अनुसन्धान एवं अन्यत्रका अभ्यासलाई समेत ध्यान दिई विशेष प्राथमिकता दिन माग गरेका छन्।
त्यस्तै, सरकारले सबै अस्पतालमा २० प्रतिशत बेडको व्यवस्था गर्न गरेको निर्णयको प्रभावकारी कार्यान्वयनको अवस्थाको अनुगमन गर्न र सबै बेडहरु बालमैत्री बनाउन एवं बालरोग विशेषज्ञ चिकित्सकलाई बालरोग उपचारमा संलग्न गराउन भनेका छन्।
बालबालिकाको सुरक्षित जन्मन पाउने अधिकारको सुनिश्चितताका लागि आमाको समेत विशेष सुरक्षामा थप ध्यान दिन, महामारीका समयमा समेत सरकारले ग्यारेण्टी गरेका १३ प्रकारका खोपमा बालबालिकाको पहुँच, बालमैत्री र सुरक्षित खोप केन्दका लागि विशेष अनुगमन तथा कार्यान्वयन गर्न अग्रह गरेको छ।
बालअधिकार महासन्धि १९८९ को धारा २४ मा बालबालिकाको उच्चतम स्वास्थ्यको हितलाई ध्यान दिनु पर्ने बाध्यकारी व्यवस्था र नेपालको संविधानको धारा ३९ को (२) मा स्वास्थ्य हकको व्यवस्थालाई स्मरण गर्दै तत्काल प्राथमिकताका साथ काम गर्न अग्रह गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *