स्वास्थ्य मन्त्रालयलाई ५० थान भेन्टिलेटर हस्तान्तरण

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ जेठ ३१ गते १६:३१


राष्ट्रिय आविष्कार केन्द्र, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र गार्जेन हेल्थ सिस्टम, अमेरिकाले ५० वटा आधुनिक भेन्टिलेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

कोरोना महामारीका समयमा भेन्टिलेटरको कमी रहेको र उपचारमा यसको आवश्यकतालाई मध्यनजर गर्दै गार्जेन भेन्टिलेटर देशभरका ९ वटा सरकारी अस्पतालहरुलाई वितरण गरिने अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्ययक्ष भुपेन्द्र बस्नेतले जानकारी दिए।

गार्जेन हेल्थ सिस्टमले प्रदान गरेको भेन्टिलेटको मर्मत राष्ट्रिय आविष्कार केन्द्रले गर्नेछ भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यसको उपयोगका बारे अमेरिका नेपाल मेडिकल फाउन्डेसनले तालिम प्रदान गर्ने बस्नेतले बताए।

‘हामीले मन्त्रालयसँग गरेको सम्झौता अनुसार ९ वटा सरकारी अस्पताललाई यो भन्टिलेटर वितरण गरिनेछ भने कहीँ कतै अस्पतालमा उपयोग नभएको पाइए अन्य अस्पतालमा हस्तान्तरण गर्ने पनि सम्झौता गरिएको छ,’ उनले भने।

विशेष गरी कोरोना अस्पतालहरुलाई यो उपकरण वितरण गरिएको छ।

वीर अस्पताललाई १० थान प्रदान गरिएको छ भने बाँकी सिभिल अस्पताल, काठमाण्डौ, बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी, टिकापुर अस्पताल कैलाली, मेची अस्पताल भद्रपुर, नारायणी अस्पताल विरगञ्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र त्रिसुली अस्पताल नुवाकोटलाई ५/५ थान प्रदान गरिनेछ।

‘यी भेन्टिलेटरहरु अस्पतालमा बिग्रेर बस्नुपर्ने अवस्था अब आउँदैन किनभने, भेन्टिलेटरमा राष्ट्रिय आविष्कार केन्द्रको नम्बर प्रदान गरिएको छ। कुनै बेला बिग्रिए उक्त नम्बरमा फोन गर्दा केन्द्रले तुरुन्त मर्मत सम्हार गरिदिन्छ,’ उनले भने।

गार्डियन्स कम्प्रिहेन्सिभ केयरका नामले चिनिने यस आधुनिक भेन्टिलेटर नेपालमा पहिले पनि स्वास्थ्य सेवा विभागले १० वटा ल्याइसकेको बीर अस्पतालका एनेस्थिसियोलोजिष्ट पुष्पराज पौडेल ले बताए।

‘यो भेन्टीलेटर बोकेर पनि लान सकिन्छ भने अस्पतालमा जडान गरि राख्न पनि सकिन्छ,’ उनले भने।
हाल अक्सिजनको चरम अभाव भइरहेको समयमा अक्सिजन सिलिण्डर नभएपनि यसमा अक्सिजन कन्र्सनट्रेटरबाट पनि चलाउन सकिन्छ।

यो सबै उमेरका विरामीहरुलाई पनि उपयोग हुन्छ। बालबालिका देखि वयस्कहरुलाई पनि प्रयोग गर्न मिल्छ भने यसलाई ब्याट्रीबाट पनि चलाउन सकिन्छ।

यसमा भएको ब्याट्रिले ७ घण्टासम्म चल्न सक्छ भने अर्को ब्याट्रि ब्याकप पनि आउँछ। ब्याट्रि पुरै चार्ज भए १४ घण्टासम्म चल्न मद्धत गर्छ। २१ घण्टासम्म बिजुली नआउँदा पनि चल्छ, उनले भने। एम्बुलेन्स, वार्डहरुबाट पनि यसलाई प्रयोग गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय