तेस्रो लहरको जोखिममा बालबालिकाः न डब्लुएचओले भनेको हो, न स्वास्थ्य मन्त्रालयसँग आधिकारिक कारण छ

गत जेठ २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहर सुरु हुनसक्ने र बालबालिका बढी संक्रमित हुने भन्दै तयारी अवस्थामा रहन देशभरका स्वास्थ्य संस्थालाई निर्देशन दियो।

र, सोही अनुसार बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन र आईसीयू तथा भेन्टिलेटरको सुविधालाई पनि तयार अवस्थामा राख्न निर्देशन दियो।

भाइरसको बदलिँदो रुप र अन्य राष्ट्रहरुमा फैलिरहेको संक्रमणको दरले पनि तेस्रो लहर निम्त्याउँछ भन्ने अनुमान लगाउन सहज छ।

तर के आधारमा बालबालिकालाई नै असर गर्छ र गम्भीर बनाउँछ भन्ने बारेमा सरकारसँग आधिकारिक कारण छैन।

न त विश्व स्वास्थ्य संगठनले आउँदो कोरोना संक्रमणको लहरले बालबालिकालाई बढी संक्रामक बनाउँछ भनेर केही भनेको छ, न त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै अध्ययन अनुसन्धानका आधारमा भनेको हो।

विभिन्न अध्ययनका अनुसार तेस्रो लहरमा बालबालिकाहरु बढी संक्रमित भएर गम्भीर विरामी हुने कुनै पनि आधार छैनन्।

भारतको ‘द ल्यान्सेट कोभिड–१९ कमिसन इन्डिया टास्क फोर्स’ ले हालै सार्वजनिक गरेको एक अध्ययनमा बालबालिकाहरु तेस्रो लहरमा गम्भीर विरामीहरु हुने कुनै तथ्य नभएको बताइएको छ।

अध्ययनमा पहिलो कोरोना लहरमा जति बालबालिका विरामी भए, दोस्रो लहरमा पनि उत्तिकै संख्यामा बालबालिकाहरु संक्रमित भएको पाइएको छ।

पहिलो लहरभन्दा दोस्रो लहर बढी संक्रामक भए पनि बालबालिकाहरुमा संक्रमण दरमा भने कुनै पनि परिवर्तन नभएको अध्ययनले जनाएको छ।

अध्ययन अनुसार पहिलो लहरको कोरोना संक्रमणका कारण १० वर्षभन्दा मुनिका बालबालिकाको मृत्युदर २।४ प्रतिशत थियो भने विभिन्न रोग र कोरोना संक्रमण भएका बालबालिकाको मृत्युदर भने ४० प्रतिशत थियो।

त्यस्तै ९ प्रतिशत बालबालिकाहरु गम्भीर विरामी भएका कारण अस्पताल भर्ना हुनुपरेको थियो। दोस्रो लहरको कोरोना संक्रमणमा पनि उक्त संख्यामा कुनै परिर्वतन नभएको जनाइएको छ।

तथ्याङकलाई विश्लेषण गर्दा ५ प्रतिशत बालबालिकालाई मात्र कोरोना संक्रमणका कारण अस्पताल भर्ना गर्नुपरेको पाइएको छ भने मृत्युदर २ प्रतिशतमात्र रहेको छ।

वयस्क र बालबालिकाहरुमा संक्रमणको दर तुलना गर्दा बालबालिकाहरुको संख्या एकदमै न्यून रहेको छ।

त्यस्तै, कोरोना संक्रमणका सबैभन्दा बढी बालबालिकाहरुको मृत्यु ब्राजिलमा भएको छ, जहाँ १० वर्ष मुनिका २२ सय बालबालिकाले ज्यान गुमाए। तर, ४,८६,३५८ मृत्युको संख्यामा बालबालिकाहरुको मृत्यु कम रहेको छ।

अमेरिकामा पनि ६,१४,९५५ कूल मृत्युमध्ये ६२० जना ४ वर्ष मुनि र ३८३ जना ५ देखि १४ वर्षसम्मका बालबालिकाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक हेर्ने हो भने नेपालमा पहिलो लहरमा १८ वर्ष मुनिका २१,५२३ बालबालिका संक्रमित भएका थिए भने दोस्रो लहरमा २७,१०२ बालबालिका हालसम्म संक्रमित भएका छन्।

त्यस्तै पहिलो लहरमा ३८ जनाको मृत्यु भएको थियो भने दोस्रो लहरमा हालसम्म २९ जनाको निधन भएको छ।

बालबालिकाहरुमा संक्रमण र मृत्यु हुनुमा कोरोना भाइरसको प्रकारले पनि फरक पर्ने अक्सफोर्ड विश्वविद्यालय अस्पतालका बालचिकित्सक अमित गुप्ताले बताएका छन्।

एक अन्र्तवार्तामा उनले बालबालिकाहरुमा संक्रमण हुनुमा उनीहरुका परिवारका सदस्य पनि कारक भएको बताए।

‘हालसम्म बालबालिकाहरुलाई कोरोना संक्रमण पहिले भएको र पछि ठूला परिवारका सदस्यहरुलाई सरेको प्रमाण छैन। तर परिवारलाई कोरोना संक्रमण भएपछि नै बालबालिकाहरुलाई संक्रमण भएको पाइएको छ,’ उनले भने।

भारतमा पहिलो लहरमा ४० प्रतिशत परिवारमा कोरोना संक्रमण भएका कारण बालबालिकालाई पनि सोही अनुसार संक्रमण फैलिएको पाइएको छ भने दोस्रो लहरमा धेरै संख्यामा संक्रमण भएको पाइएको छ।

के भन्छन् नेपालका स्वाथ्य विज्ञ तथा अधिकारीहरु

तेस्रो लहर आउने र बालबालिकाहरुलाई गम्भीर विरामी बनाउने सम्भावना रहेको कुरा कुनै आधारमा आधारित नभई आँकलनको भरमा भनिएको बताउँछन् नेपाल पेडियाट्रिक सोेसाइटिका अध्ययक्ष कृष्ण प्रसाद विष्ट।

उनका अनुसार पहिलो लहरमा वृद्धवृद्धालाई बढी असर पारेको थियो भने दोस्रो लहरमा युवाहरुमा धेरै संक्रमण पारेको छ।

यी दुवै लहरमा भएको संक्रमणलाई विश्लेषण गर्दा तेस्रो लहर पनि आउन सक्ने सम्भावना रहेको उनले बताए।

‘पहिलो लहरमा बृद्धहरुलाई बढि संक्रमण पारेका कारण खोप लगाइयो। अब दोस्रो लहरमा युवाहरु बढि पिडित भए। उनीहरुका लागि पनि खोपको व्यवस्थपन हुँदैछ। तर बालबालिकाका लागि कुनै खोप तयार छैन, केवल ट्रायल भइरहेको छ। यसकारण तेस्रो लहर आउँदा बालबालिकाहरु बढी संक्रमित हुने सम्भावना रहेको छ,’ उनले भने।

समुदायस्तरमा कोरोना भाइरस फैलिसकेका कारण कुनै पनि समय बालबालिकाहरु संक्रमित हुने सम्भावना रहेका कारण उनीहरुलाई बचाउन का लागि पूर्व तयारीका लागि निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले बताए।

नेपालमा बालबालिकाहरुलाई कोरोना संक्रमण भइहाले पनि उपचारका लागि पुग्दो मात्रामा आइसियु, एचडियु, तथा जनशक्तिको अभाव हुने बताउँछन् विष्ट।

‘वयस्क तथा युवाहरुलाई प्रयोग हुने आईसियु र भेन्टिलेटर बालबालिकाहरुलाई प्रयोग गर्न नमिल्ने र उनीहरुको उपचार विधि नै फरक हुने भएकाले हालका पूर्वाधारहरु बालबालिकाको उपचारमा काम लाग्दैनन्। उनीहरुका लागि विशेषज्ञ चिकित्सक तथा नर्स आवश्यक पर्दछ।’

नेपाल पेडियाट्रिक सोसाइटीमा ७८७ बालरोग विशेषज्ञहरु दर्ता रहेका छन् भने दर्ता नभएका करिब २०० चिकित्सकहरु हुने विष्टले बताए।

त्यस्तै सबैभन्दा बढी पेडियाट्रिक नर्सको आवश्यकता छ तर नेपालमा १०० जना जति मात्र रहेको उनले बताए।

देशभरि कमै मात्र बालबालिका केन्द्रित अस्पताल तथा सेवाहरु रहेका छन्।

अर्को कोरोना संक्रमणमा कस्तो खालको भाइरस आउँछ भन्न सकिन्न। त्यसैले आंकलनकै भरमा भएपनि पुर्व तयारी गर्न जरुरी रहेको समिरले बताए।

त्यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पहिलो र दोस्रो लहमा कस्ता व्यक्तिहरुलाई गम्भीर असर पारेको छ, बालबालिकाहरु कतिलाई गम्भीर बनायो, मृत्युको कारण र अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका बारेमा अध्ययन गरिरहेको र केही दिनमा डाटा विश्लेषण गरेर सार्वजनिक गरिने परिषदका कार्यकारी प्रमुख प्रदीप ज्ञवालीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय