बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्रीको दबाब !
प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी ओलीले झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन दबाब दिएका छन्।
ओलीले आयोग उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई आइतबार बालुवाटार बोलाई बिएण्डसी कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न दबाब दिएका हुन्।
जेठ २८ गते बसेको आयोगको बैठक कलेजलाई सम्बन्धन दिनेबारे निष्कर्षविहीन भएपछि ओलीले आइतबार उक्त दबाब दिएको सोलिडारिटी फर डा केसी अलायन्स र वृहत नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै जनाएका छन्।
उक्त बैठकमा आयोगका विज्ञ सदस्यहरुले आवश्यक प्रक्रिया पु¥याएरमात्रै सम्बन्धन दिनुपर्ने अडान राखेका थिए।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले समेत उपाध्यक्ष डा गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्यशक्तिको चरम् दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादति भत्सर्नायोग्य छ। मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धरासायी पार्ने चेष्टा स्वयममा भत्सर्नायोग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ।’ विज्ञप्तिमा डा। गिरीको जीवन रक्षा अहिले मुख्य चिन्ताको विषय बन्न पुगेको उल्लेख गर्दै आयोगको स्वायत्तता र डा। गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ।