चिकित्सक भन्छन् – ‘पहिलो डोज खोप लागेकाहरू नआतित्नुहोस, ६ महिनासम्म शरीरमा एन्टिबडी रहन्छ’

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका व्यक्तिलाई नआत्तिन आग्रह गरेको छ।

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले खोप पहिलो डोज लगाएका मानिसका शरीरमा ६ महिनासम्म एन्टिबडी रहने भन्दै नआत्तिन आग्रह गरे।

नेपालमा ६५ वर्षभन्दा माथिका करिब १३ लाखले खोपको दोस्रो डोज पाउन सकेका छैनन्।

१२ हप्तापछि पनि दोस्रो डोज नलगाएको खण्डमा पुन संक्रमण त हुने होइन भन्ने आममानिसको चासोको विषय बनेको छ।

‘विभिन्न अध्ययन,अनुसन्धानले पहिलो मात्रा लगाएको ६ महिनासम्म एन्टिबडी रहने देखिएको छ,’ डा. गौतमले भने, ‘दोस्रो मात्रा पाइन, के हुने हो भन्ने मनमा कुनै डर नराखौं।’

पहिलो डोज लगाएका व्यक्तिमा खोपले ६ महिनासम्म काम गर्ने र संक्रमण भइहालेको खण्डमा पनि जटिलता नहुने उनको भनाइ छ।

‘अहिले हामीसँग कोभिसिल्ड खोप छैन। ६ महिनासम्म पनि एन्टिबडी रहने अध्ययनले देखाएका छन्। १२ हप्ता कट्यो भनेर कोही पनि नआत्तिऔं,’ डा. गौतम भन्छन्। उनले हालसम्म ४२ लाख ४८ हजार डोज खोप नेपालमा आइसकेको जानकारी दिए।

देशभर प्राथमिकता निर्धारण गरी खोप कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २४ लाखले खोपको पहिलो डोज प्राप्त गरेका छन्। ७ लाखले दोस्रो डोज लगाइसकेका छन्।

त्यसैगरी, तीन लाखको हाराहारीमा ६० देखि ६४ वर्ष उमेर समूहले पहिलो डोज प्राप्त गरेको मन्त्रालयले जनाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *