के साँच्चै टाँसिन्छ कोरोना खोप लगाएका मानिसमा फलाम?

हेल्थपोस्ट नेपाल

अहिले सामाजिक सञ्जालमा कोरोनाविरुद्ध खोप लगाएका मानिसमा ‘फलाम’ टाँसिएका दृश्य भाइरल भएका छन्।

केही दिन अगाडि भारत महाराष्ट्र नासिकका अरविन्द्र सोनारको शरीरमा फलाम टाँसिएको भन्दै भिडियो बाहिर आएको थियो। उनले केही दिनअघि मात्रै ‘कोभिसिल्ड’ खोप लगाएका थिए।

त्यस्तै, आइतबार नेपालमा पनि एक भिडियो भाइरल भएको छ।

तीन दिनअघि मात्रै भेरोसेल खोपको पहिलो मात्रा लगाएकी ६० वर्षकी संगीता तिमिलाको शरीरमा पनि चम्चा, साँचो टाँसिएको उक्त भिडियोमा देख्न सकिन्छ।

उनको दाबी छ– कोरोना खोप लगाएपछि धातुहरू शरीरमा टाँसियो।

‘के साँच्चै कोरोना खोप लगाएका व्यक्तिमा फलाम टाँसिन्छरु यो प्रश्न हामीले खोप विज्ञ डा श्यामराज उप्रेतीलाई सोध्यौं।

खोप लगाएपछि कुनै पनि धातु टाँसिने भन्ने कुरामा सत्यता नरहेको डा. उप्रेती बताउँछन्।

‘यो धातु टाँसिने भन्ने कुरा खोपसँग कुनै सम्बन्ध छैन। यसको कुनै वैज्ञानिक आधार छैन,’ उनले भने।

कोरोना खोप लगाएकै कारण शरीरमा फलाम टाँसियो भनेर दाबी गर्नु गलत भएको डा. उप्रेतीको भनाइ छ।

‘कोरोनाको मात्रै होइन। अहिलेसम्म बनेका कुनै पनि भ्याक्सिनले यस्तो प्रतिक्रिया देखाएका छैनन्। खोप लगाएकै कारण फलाम टाँसियो भन्नु गतल हो,’ डा. उप्रेतीले हेल्थपोस्टसँग भने।

उनका अनुसार शरीरमा चिल्लो पदार्थ भएको खण्डमा केही धातु टाँसिन सक्छ।

त्यस्तै नेसनल हाइ मेग्नेटिक फिल्ड ल्याबोरेटोरीका वैज्ञानिक एरिक पाम कोरोना भाइरसविरुद्धका खोपमा कुनै पनि चुम्बकीय धातु नरहेको बताउँछन्।

अन्य खोपमा एल्मोनियमको धातु भए पनि यसले कुनै पनि चुम्बकीय शक्तिको काम नगर्ने उनको भनाइ छ।

‘खोप लगाउने सिरिन्जमा भएको सुई एकदमै सानो हुन्छ जसले उक्त धातुलाई छिराउन सक्दैन भने शरीरमा चुम्बकीय धातु छिराए पनि त्यो एकदमै नगण्य मात्रा हुन्छ जसले चुम्बकीय शक्ति छालामा देखिने सम्भावना पनि रहँदैन। तर, फलाम छालामा भने टाँसिन्छ किनकि हाम्रो शरीरमा तेलको मात्रा रहन्छ,’ उनी भन्छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *