बालबालिकामा अनलाइन हिंसा बढ्दो, आफै गर्छन रिपोर्ट

सरिता  (नाम परिवर्तन) लाई रात भर निन्द्रा परेन। न मर्नु, न कसैलाई आफ्नो गोप्य कुरा पोख्नु। रातभर छटपटी मै बित्यो। अर्को दिन पनि उनी सुखसँग बस्न सकिनन्।

फेसबुकमा टुङटुङ मेसेज आइरहेकै छ। फेसबुक म्यासेन्जर खोलेर हेर्ने आँटै आएन। खोलेर पनि के गर्ने, आफैं नाङ्गिनुपर्छ।

साँस बटुलेर मोबाइल उठाइन्, अनी डायल गरिन्, १०९८।

‘हेलो,उताबाट कसैको आवाज आयो। हेलो, काँप्दै सरिताले जवाफ फर्काइन्।

‘बाल हेल्पलाइन हो? ’ उनले भनिन्।

बाल हेल्पलाइनको हटलाइन भएको पुष्टि भएपछि विस्तारै उनले बेलीबिस्तार गरिन्।

‘ सर, मलाई फेसबुकबाट मेरो एउटा साथीले ब्ल्याकमेल गरिरहेको छ। त्यसैले उजुरी दिन फोन गरेको।  आफ्नै आमाबुबा र अरुलाई यो घटनाबारे थाहा नदिने सर्तमा सबै समस्या पोखिन्।

‘मेरो फेसबुकमा एउटा साथी छ। उसले हिँजोआज मलाई ब्ल्याकमेल गर्न थालेको छ। उसँग मेरो नग्न तस्बिर छ। एकदमै मिल्ने भएकाले विश्वास गरेर आफ्नो शरीरको तस्बिर पठाएँ। तर, अहिले त्यही तस्बिरले ब्ल्याकमेल गरिरहेको छ। यो कुरा बाबाआमालाई भन्न सक्दिँन। प्लिज हेल्प मी,’ सरिताले यसरी नै मनभरीका पीडा हेल्पलाइनमार्फत सुनाइन्।

उनको समस्यालाई समाधान गर्न र सरितालाई न्याय दिन हेल्पलाइनले प्रकृया सुरु गरेको छ।

बाल हेल्पलाइनका इन्चार्ज सागर भण्डारीले बालबालिकाहरुले आफूलाई भएको हिंसा अभिभावकलाई जानकारी नै नदिई सहेर बसिरहेका बताए। उनले अधिकांश बालबालिकाहरुमा भइरहेको अनलाइन हिंसा अभिभावकहरुलाई जानकारी नै नहुने बताए।

हालसम्म बाल हेल्पलाइनमा फोन गरेर उजुरी गर्ने बालबालिकाहरु नै रहेको भण्डारीले बताए।

‘अभिभावकहरुले बालबालिकाहरुको समस्या नबुझ्ने वा बालबालिकाहरुलाई बुझ्न नसकेको कारण कयौं कुराहरु लुकाउँछन्। आफ्ना साथीहरुमार्फत वा आफैले हेल्पलाइनमा फोन गरेर कानुनी सहयोग माग्छन् तर, अभिभावकलाई नभन्न विन्ती पनि गर्छन्,’ उनले भने।

बाल हेल्पलाइनले कैयौं केशहरुमा आफैले कानुनी प्रकृयाहरु अपनाइरहेको छ। तर, कानुनी बाधा(अड्चनका कारण हेल्पलाइले सबै केशहरुलाई न्याय दिन भने सकेको छैन।

काठमाडौंमै बसोबास गर्दै आएकी रबिना (नाम परिवर्तन) ले फेसबुकमार्फक ब्वाइफ्रेन्ड बनाइन्। उनी काठमाडौंमा अनका साथी पोखरा। एकआपसमा सबै कुरा हुने भए पनि भेट्न भने पाएका थिएनन्।

कक्षा ९ मा पढ्ने रबिना अनि ११ मा पढ्ने पोखराका ती साथी मिलेर भेट्ने योजना बनाए।

रबिनालाई घरबाट टाढा जान नदिने भएकाले पोखराबाट उनका साथी नै काठमाडौं आए। उनीहरुले काठमाडौंमा होटल बुक गरे। रबिना साथीलाई भेट्न जान्छु भनेर घरबाट निस्किइन् र एक रात दुबै एकै ठाउँमा बसे।

भोलिपल्ट रबिना घर फर्किइन् भने उनका साथी पोखरा। घर पुग्दा रबिनाका अभिभावकले राति घर नफर्केका कारण उनलाई केरकार गरे।

उनले साथीको घरमा गएको भन्दा पनि नपत्याएपछि गाली गर्दै कोठबाट निस्किन पनि दिएनन्।

अन्य समयमा वास्ता नगर्ने अभिभावकहरुले त्यो घटनापछि हरेक दिन विद्यालय पुर्याउने र घर ल्याउने गर्न थाले।

यो घटनापछि रबिनाले घरमा बोल्नै छाडिन्। जति सोध्दा पनि जवाफ नदिएपछि परामर्शका लागि उनलाई बाल मानोचिकित्सक कहाँ लगियो।

‘घरमा आफ्नो कुरा केही गरी नखुलाएका बालबालिकाहरुले हामीसँग बस्दा सबै खुल्ने गरी बताउँछन्,’ बालमनोचिकित्सक गंगा पाठकले बताइन्।

घरमा बोल्नै छोडेकी रबिनाले आमालाई केही पनि भनिनन्। उनी डरकै कारण कम बोल्ने अवस्थामा पुगिसकेकी थिइन्। ‘उनको कुरा परिवारलाई नसुनाउने बाचापछि विश्वास गरेर सबै खुलेर बताइन्, ’ पाठकले भनिन्।

किशोर अवस्थामा धेरैजसो बालबालिकाहरुलाई साथीहरुको धेरै प्रभाव पर्ने उनी बताउँछिन्। जति पनि राम्रो(नराम्रो काम साथीहरुबाटै सिक्छन्। साथीलाई ‘नाई’ भन्न नसक्ने अनि यस्ता कुरा अभिभावकसँग लुकाउने गर्दछन्। त्यस्तै उमेरका कारण पनि बालबालिकाहरु फस्ने गरेका छन्।

एकखाले अभिभावक रिल्याक्सिङु हुन्छन्। पहिले धेरै छुट दिने र केही काम बिगारे एक्कासी कडा गर्ने गर्दछन्। त्यस्तै कुनै अभिभावकहरु चाहिँनेभन्दा पनि बढी छोराछोरीहरुलाई कडाई गर्ने गर्छन्। जसले गर्दा उनीहरुले लुकेर गतिविधिहरु अघि बढाइरहेका हुन्छन्।

अर्कोखाले अभिभावकहरु भने समयमै बालबालिकालाई बुझेर काम गर्छन्। जसले गर्दा बालबालिकाहरु अनुशासनमा बस्ने गर्छन्।

‘काठमाडौं उपत्यकामा यस खालका अभिभावकहरु ज्यादै न्यून रहेका छन्। जम्मा २५ प्रतिशत अभिभावकहरुले मात्र बालबालिकालाई बुझेर कार्य गर्न थालेका छन,’ पाठकले भनिन्।

रबिनाको उदाहरण दिँदै पाठकले भनिन्, ‘हामी बालबालिकाको अभिभावक नभई तेस्रो व्यक्तिमा पर्छौं। उनीहरुलाई जजु गर्देनौं वा आलोचना पनि गर्दैनौं। हामी रिस पोख्दैनौं। तर, आमाबुबाले उनीहरुलाई रिस पोख्ने गाली गर्ने गर्छन्। डरकै कारण पनि बालबालिकाहरु अभिभावकहरुलाई भन्दा पनि तेस्रो व्यक्तिहरुलाई ज्यादै विश्वास गर्छन्।’

‘काउन्सिलिङ गर्दा बालबालिकाहरुलाई उनीहरुको गल्ती आफैलाई समीक्षा गर्न लगाएर गाइड गर्ने हो। तर, अभिभावक हरेक कुरामा आलोचकसँगै आक्रामक पनि हुने गर्दछन्,’ उनले भनिन्।

यस्तै कारणले पनि बालबालिकाहरु अन्तिम अवस्थामा बाल हेल्पलाइन तथा अन्यसँग सहयोग माग्ने गरेका उनले बताइन्। विशेषगरि अनलाइन माध्ययममा व्याप्त रहने बालबालिकाहरु पढ्न भन्दै अनेक कुराहरु गर्ने, भिडियो हेर्ने गरेका छन्। अभिभावकहरुले बालबालिकालाई राम्ररी हेर्न नसकेकै कारण अनलाइन हिंसा बढीरहेको उनको बुझाइ छ।

बाल हेल्पलाइनमा गत वर्ष नौवटा अनलाइन हिंसाका घटना दर्ता भएको भण्डारीले जानकारी दिए। विगतमा भन्दा हाल घटनाहरु निकै बढेको उनले बताए।

बाल हेल्पलाइनमा फोनका आधारमा बालबालिकाले सहयोग माग्ने गरेका छन्। यस वर्ष निषेधाज्ञाको एक महिनामा मात्र ६ वटा केशले फोन गरेर कानुनी सहयोग मागेका छन्। यस्तो अवस्था आउनुको पछाडि सबैभन्दा बढी जिम्मेवारी अभिभावकले लिनुपर्ने पाठकले बताइन्।

‘अभिभावकहरुले बालबालिकाहरुलाई निगरानी नै गरेको पाइँदैन। अभिभावकहरुका लागि पनि प्यारेन्टिङका कक्षा सञ्चालन गर्नुपर्ने जरुरी भइसकेको छु, उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय