समलिंगी सुमित : जसले पहिचान लुकाउन आत्महत्यासम्म सोचे

हेल्थपोस्ट नेपाल
‘यदी कोही बाँया हातले काम गर्छ भने के तपाई उसलाई जबरजस्ती दायाँ हातले काम गराउन सक्नुहुन्छ? के उसले गर्न सक्छ? समलिंगीहरुका लागि पनि यस्तै गरिएको छ।’, कन्भर्जन थेरापीका बारे बोल्दै भारतको मुम्बईका सुमित (नाम परिवर्तन) ले भने।

यो एउटा यस्तो थेरापी हो जसको उद्देश्य जबरजस्ती कसैको लैंगिक पहिचान बदल्न खोज्नु हो। यसमा कैयौं खतरनाक उपायहरुको अवलम्बन गरिन्छ। जसमा कसैलाई विद्युतीय झट्का दिइन्छ भने कसैबलाई शारीरिक यातना दिइँदै भोकै राखिन्छ।

समलैंगिकतासम्बन्धी गलत जानकारीले धेरैलाई यो थेरापीतर्फ उन्मुख गराउँछ। तर,अब भारतको मद्रास हाइकोर्टले यस थेरापीमा प्रतिबन्ध लगाएको छ। यसको देशभरका एलजिबिटिक्यूले स्वागत गरेका छन्।

सुमित भन्छन्, ‘आज पनि कसैले आफूलाई खुलेर समलिंगी भन्न सकेका छैनन्। किनकि उनीहरुलाई हेर्ने समाजको नजर ठीक छैन। समाजका केहीले व्यक्तिले यसलाई मनको विकार भन्दै उपचार गर्न सुझाव दिन्छन्।’

सुमितलाई आफू समलिंगी भएको तब थाहा भयो जब उनी कलेज पढ्न थाले। तर, उनलाई आफ्नो पहिचान स्वीकार्न कयौं वर्ष लाग्यो।

उनी भन्छन्, ‘म आफ्नो भावनालाई स्वीकार गर्न सकिरहेको थिएन। मलाई लागेको थियो, यो एक बिमारी हो जो केही समयमा ठीक हुनेछ। हामी पुरुषमा कतिपटक यस्तो हुन्छ कि हामी आफ्नो वास्तविक पहिचानलाई स्वीकार गर्दैनौं।’

आखिरीमा उनले हिम्मत जुटाएर आमाबाबुमाझ आफ्नो समस्या राखे। सुरुवातमा सुमितका आमाबाबुले उनको यो पहिचानलाई मेटाउन थुप्रै प्रुयास गरे।

सुमित त्यो पल सम्झिँदै भन्छन्, ‘त्यो समय धेरै पीडादायक थियो। म आफू नै आफ्नो पहिचान लुकाउन प्रयास गरिरहेको थिएँ। मैले धेरै केटीहरुलाई ‘डेट’ पनि गर्न खोजेँ यसले मेरा बुबाआमालाई झनै भ्रमित बनायो। उनीहरु सोच्न थाले कि मेरा यतिधेरै गर्लफ्रेण्ड छन् कसरी म समलिंगी हुनसक्छु।’

सुमितले आफ्नो भावना परिवर्तन गर्न विभिन्न उपचार पद्धति पनि नअपनाएका होइनन्। तर, तिनले उनको समस्या अझै बढायो।

उनल‍े भने, ‘कन्भर्जन थेरापीका दौरान कतिपयले ‘इलेक्ट्रिक सक’ बाट गुज्रनुपर्ने हुन्छ। सौभाग्यले मैले त्यस्तो भोग्नु परेन। मलाई केही आयुर्वेदिक डाक्टरले औषधी दिए।’

सुमितलाई यी सबैकुरा सहन निकै मुस्किल भइसकेको थियो। ‘म एकदमै झर्किन रिसाउन थाले। कसैसँग मिलेर बस्नसक्ने अवस्थामा थिएन। आत्महत्याको विचार मनमा आउन थाल्यो।’

यस्तो व्यहारले सुमितका आमाबाबुलाई उनी मानसिक रोगीको शिकार भएको लाग्न थाल्यो। ‘मेरा आमाबाबु मानसिक विकार र सेक्सुअल ओरियन्टेसनबीच भ्रममा परे। उनीहरु मलाई सोध्थे कि म डिप्रेसनमा त छैन भनेर। डिप्रेसनले त कतै तिमीलाई सैमलैंगिक बनाइरहेको छैन भनेर पनि सोध्थे। तर, म डिप्रेसनका कारण यस्तो भएको थिएन। मेरो उदास हुनुको एउटै कारण थियो कि, किन मेरो पहिचानलाई स्वीकार गरिँदै छैन।’, सुमितले भने।

‘सौभाग्यले मेरो आमाबुबाले ममाथि विवाहको दबाब दिनु भएन। मैले उहाँहरुलाई सम्झाइसकेको थिएँ कि यस प्रकारको विवाहले समास्या झनै बढ्न सक्छ। मैले धेरैलाई यो समस्याबाट गुज्रेको देखेको छुँ। यो हिसाबमा मैले आफूलाई केही स्वतन्त्र महसुस गरेँ।’, उनले भने।

‘एकदिन भाग्यवश म एक काउन्सिलरकोमा पुगे। त्यसपछि मलाई विश्वास भयो कि मेरो पहिचानमा कुनै गल्ती थिएन। उनले मलाई सम्झाउँदै भने कि म किन एक विशेष पहिचानका लागि संघर्ष गरिरहेको छु? यो समय वित्दै जाँदा सबै ठीक हुन्छ। उनले मलाई उदाहरण दिँदै सम्झाए र भने, जस्तो कि तिमीले कुनै एक त्रिभुजमा चतुर्भुज फिट गर्न खोज्यौ भने हुन्छ त? हुँदैन नि।’, सुमितले अगाडि थपे।

विस्तारै सुमित आफ्नो पहिचानलाई स्वीकार्न थाले। त्यसपछि उनी एक आइटी कम्पनीमा टिम लिडर बने। अहिले उनी आत्मविश्वासका साथ आफ्नो जीवन बिताइरहेका छन्।

आजपनि विश्वका अधिकांश देशमा समलिंगीलाई हेर्ने समाजको दृष्टिकोण राम्रो छैन। धेरैले यो सम्बन्धलाई स्वीकारेका छैनन्। यहूदी, इसाइ तथा इस्लाम धर्ममा यसलाई स्वीकार गरिएको छैन। युरोपलगायत अन्य विकसित मुलुकमा पनि समलैंगिक सम्बन्धलाई मान्यता दिइएको छैन। उनीहरु बाहिर खुलेर आउन सकेका छैनन् भने कतिपयलाई परिवारले नै हेला गर्दा आत्महत्यासम्म गर्ने गरेका छन्। (बिबिसी)



Leave a Reply

Your email address will not be published. Required fields are marked *