उमेर नपुगी गरिएको विवाह प्रहरीले टुटायो, सम्बन्धितलाई कारबाहीको तयारी

डोटी जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ। जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षीय बालिकासँग हालै गरेको विवाहलाई प्रहरीले बदर गरेको हो।

जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय बाल क्लबले २० वर्ष नपुगेकी निज बालिकाको विवाह भएको भन्दै रद्द गराइपाउँ भनि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि छानविनपश्चात उक्त विवाह बालविवाह भएको देखिएकाले बदर गरिएको हो।

विवाहलाई बदर गरी बालिकालाई आफन्तको जिम्मा लगाइएको नगरस्तरीय बाल सञ्जालका संयोजक अनिस सेनले जानकारी दिए। कानुनीरूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गरे बालविवाहअन्तरगत पर्ने भएकाले बदर गर्न उजुरी परेपछि उक्त विवाह बदर गरी कानुनविपरीत विवाह गर्नेलाई कानुनबमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दानबहादुर मल्लले बताए। उनले भने, ‘बालविवाह गरिएको उजुरीपछि हामीले विवाह बदर गरेका छौं, जान्दा जान्दै कानुनविपरीत विवाह गर्नेलाई कारबाही हुन्छ।’

जिल्लामा पछिल्ला वर्षमा सानै उमेरमा छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्दै बालविवाह गर्ने चलन अझै कायमै रहेका कारण बालविवाहले प्रश्रय पाएको स्थानीयवासी दीपक थापाले बताए। पुण्यका नाममा जिल्लामा बालविवाह बढ्न थालेपछि स्थानीय तहले बालविवाह अन्त्य गर्ने भन्दै रणनीतिक योजना तयार गरी लागु गरेको भएपनि उक्त योजना गाउँघरमा लागु हुन सकेको छैन। बालविवाह गर्नेलाई कानुनी दायमा ल्याउन नसकेका कारण बालविवाह जस्ताको तस्तै अवस्थामा रहेको सामाजिक क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ संस्थाको बुझाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय