कस्तो रहनेछ आजको मौसम?

हेल्थपोस्ट नेपाल

 मनसुनी, पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण देशका केही क्षेत्रमा वर्षा हुनसक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभाग सम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको महाशाखाले बताएको छ। प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

प्रदेश नं १, प्रदेश नं २, बागमती र लुम्बिनी प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ। देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन चार प्रदेशमा फैलिएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्ने बताए।

मौसमविद्हरूले आगामी साता मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको प्रक्षेपण पनि गरेका छन्। केही स्थानमा भने भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद पौडेलले जानकारी दिए। अबका केही दिन मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

यस वर्ष नेपालमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविदले गरेका छन्। साधारणतया अंग्रेजी महिनाको जुन १३ देखि सेप्टेम्बरसम्मको चार महिनालाई नेपालसहित दक्षिण एसियाली क्षेत्रको मनसुन अवधि मानिन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *