कोभ्याक्सको खोपबारे निर्णय आगामी साता

हेल्थपोस्ट नेपाल

विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्जाल(कोभ्याक्स)ले अनुदानमा उपलब्ध गराउने खोपबारे आगामी साता एकीन हुने भएको छ।

स्वास्थ्य सेवा विभगको परिवार कल्याण महाशाखाका प्रमुख डा.तारानाथ पोखरेलले त्यसबारे एकसाताभित्र स्पष्ट जवाफ आउने बताए।

गरिब तथा निम्न आय भएका देशका लागि कोभ्याक्सले जनसंख्याको २० प्रतिशत डोज खोप उपलब्ध गराउने मापदण्ड उसले बनाएको छ।

त्योमध्ये यसअघि कोभ्याक्सले अनुदानको पहिलो खेप ३ लाख ४८ हजार डोज नेपाललाई दिइसकेको छ।

‘कोभ्यासबाट आउने खोप कति आउने भन्ने आधिकारिक सूचना प्राप्त भएको छैन,’ डा. पोखरेलले हेल्थपोस्टसँग भने, ‘खोप दिने संकेत गरेको छ तर कति दिने भन्ने एकीन छैन।’

यसपालि एस्ट्राजेनेका खोप आउनसक्ने उनले बताए। यसअघि भारतले बनाएको कोभिसिल्ड दिएको थियो।

‘१४ लाख डोज उपलब्ध गराइदेऊ भनेर हामी लागिरहेका छौं। अब आउँदा धेरैमात्रामा आउँछ भन्ने आश गरेका छौं,’ डा. पोखरेलले भने।

फागुनको अन्तिम सातामा कोभिसिल्डको पहिलो डोज खोप लगाएर बसेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप पाएका छैनन्।

९ लाखको हाराहारीमा रहेका जेष्ठ नागरिकलाई उपलब्ध हुने खोप प्राथमितामा राखिने डा. पोखरेलले बताए।

‘अब उपलब्ध खोपमा दोस्रो डोज लिन बाँकी जेष्ठ नागरिकलाई दिने छौं। बढी खोप आयो भने उमेर समूहमा जान्छौं,’ उनले भने।

भारतको सेरम इन्स्टिच्युटले दिनुपर्ने १० लाख डोज र थप खोपका लागि पनि पहल भइरहेको उनले बताए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *