चौधरी फाउण्डेसनले वीर अस्पतालमा बनायो १८ शय्याको आइसियु वार्ड

चौधरी फाउण्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियु वार्ड स्थापना गरि अस्पताललाई हस्तान्तरण गरेको छ।

कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्‍याउन फाउण्डेसनले वीर अस्पतालमा आइसियु वार्ड निर्माण गरेको जनाएको छ।

चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमबीच कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी प्रा.डा.जागेश्वर गौतमलाई आइसियु वार्ड हस्तान्तरण गरेका हुन्।

वीर अस्पतालको नयाँ भवनको पहिलो तलामा नौं शय्या र दोस्रो तलामा नौं शय्याकोगरि कुल १८ शय्याको आइसियु वार्ड निर्माण भएको छ। विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर आइसियु वार्ड निर्माण गरिएको छ।

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आइसियु वार्ड स्थापना गरि सम्पूर्ण नेपालीको सेवामा समर्पित गरिएको बताए।

‘कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवनरक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व हो। यसकालागि सम्पूर्ण नेपाली नागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी हामीले बोध गर्‍याैं। र, आइसियु वार्ड स्थापना गर्न वीर अस्पताललाई छान्नुको उद्देश्य पनि यहि नै हो’, अध्यक्ष चौधरीले भने, ‘कोरोना महामारीसँग हामी जुधिरहेको बेला प्रत्येक नेपाली नागरिकको जीवन उत्तिकै महत्वपूर्ण छ भन्ने कुरालाई हामीले विर्सिनु हुँदैन। त्यसका लागि वीर अस्पतालजस्ता सार्वजनिक अस्पतालहरूको सेवा र पहुँच विस्तार गरिनु आवस्यक हुन्छ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. देव नारायण शाहले कोभिड महामारीको संवेदनशिल समयमा वीर अस्पतालमा १८ शय्याको आइसियु वार्ड निर्माणमा योगदान गरेर चौधरी फाउण्डेसनले समाजसेवामा उत्कृष्ट भूमिका निर्वाह गरेको बताए।

कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी प्रा.डा. जागेश्वर गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउण्डेसनले पुर्‍याएको योगदानका लागि धन्यवाद दिँदै यसले आम नेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए।

चौधरी फाउण्डेसनले गतवर्ष पनि कोरोनाको पहिलो लहरमा भेन्टिलेटर, पिसिआर रिएजेन्टदेखि पिपिई र स्वास्थ्य सामाग्री देशभरका अस्पतालहरूमा उपलब्ध गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय