सरकारले सेवा–सुविधामा विभेद गरेपछि नर्सहरूको प्रश्न–चिकित्सक एक्लैले सेवा दिने हो र?

हेल्थपोस्ट नेपाल

सरकारी सेवामा आबद्ध नर्सहरूको संघ नेपाल (गोनान) ले ‘एक चिकित्सक र स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था २०७७’ को कार्यविधिले नर्सलाई विभेद गरेको भन्दै आपत्ति जनाएका छन्।

कार्यविधिमा चिकित्सकलाई प्रमुख महत्वका साथ हेरिएको र नर्सको सेवा–सुविधामा विभेद गरिएको भन्दै नर्सहरू आन्दोलित भएका हुन्।

गोनानका पदाधिकारीले यस विषयमा बिहीबार स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई ध्यानाकर्षणसमेत गराएका छन्।

कार्यविधिको दफा ४ को उपदफा २ को (क) मा अतिरिक्त भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्बन्धमा कार्य सम्पादनका आधारमा चिकित्सकलाई अनुसूचीमा उल्लेख भएबमोजिम शतप्रतिशत अतिरिक्त भत्ता दिने उल्लेख गरिएको छ।

तर, कार्यविधिको दफा ४ को उपदफा २ को (ख) मा विस्तारित अस्पताल सेवा प्रदान गर्न चिकित्सक तथा नर्सलगायतका स्वास्थ्यकर्मीलाई सो कार्यक्रम सञ्चालनबाट प्राप्त आयमा प्रत्यक्ष खर्च कटाएर प्राप्त आम्दानीको २० प्रतिशत सम्बन्धित स्वास्थ्य संस्थालाई छुट्टाएर बाँकी ८० प्रतिशत अतिरिक्त भत्ता दिने उल्लेख गरिएको छ।

‘चिकित्सकले भन्दा नर्सले बढी परिश्रम गरिराखेका हुन्छन्। समान कामका लागि कार्यविधिले विभेद गरेको छ,’ गोनानकी अध्यक्ष कल्पना श्रेष्ठ भन्छिन्, ‘कहिलेसम्म नर्सलाई विभेद गरिराख्ने? ।’

उनले चिकित्सकसरह नै नर्सले काम गरेको हिसाबले कार्यविधिको दफा ४ को उपदफा २को (क) बमोजिम नै नर्सले सेवा–सुविधा पाउनुपर्ने जिकिर गरिन्।

‘एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य सस्था’ अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न टिम वर्कको आवश्यकता पर्ने उनको भनाइ छ।

सरकारले घोषणा गरेको उक्त कार्यक्रममा स्वास्थ्य जनशक्तिको आधा हिस्सा रहेको नर्सको भूमिकालाई पछि पारिएको अध्यक्ष श्रेष्ठको गुनासो छ।

‘अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न टिम वर्क आवश्यक पर्दछ। नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई विभेद गरेर सेवा–सुविधा दिने कार्यविधि तयार पारिएको छ। अनि के चिकित्सक एक्लैले मात्रै स्वास्थ्य सेवा दिन सक्ने हो? ,’ उनी प्रश्न गर्छिन।’

कार्यविधिको दफा ४ को उपदफा २ (क) मा उल्लेख भएको चिकित्सकसरह नै नर्सलाई सेवा–सुविधा दिनुपर्ने गोनानको माग छ।

सरकारले विभेद गरेर कार्यविधि लागू गरेमा आन्दोलनमा उत्रिने चेतावनीसमेत नर्सहरुले दिएका छन्।



One thought on “सरकारले सेवा–सुविधामा विभेद गरेपछि नर्सहरूको प्रश्न–चिकित्सक एक्लैले सेवा दिने हो र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *