२०७८ को शैक्षिक सत्र पनि अनलाइनबाटै

हेल्थपोस्ट नेपाल

गत वर्ष झैं यस वर्षको शैक्षिक सत्रको सुरुवात पनि वैकल्पिक विधिबाटै सञ्चालन गर्ने तयारी गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ बाट नयाँ शैक्षिक सत्र सुरु हुने घोषणा गरिसकेको छ। योसँगै विद्यालयहरुले पनि असार मसान्तमै नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने तयारीमा जुटेका छन्।

मन्त्रालयले स्थानीय सरकारलाई पनि असार १ बाटै कक्षा सुरु गर्न निर्देशन दिइसकेको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले जतिसक्दो चाँडो परीक्षा छिटो सकेर नयाँ शैक्षिक सत्र सुरु गर्न लागेको जानकारी दिए।

उनका अनुसार कति विद्यालयहरुले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेका थिए भने कतिले विद्यालयको पूर्वाधार क्षमता अनुसार परीक्षा सञ्चालन गरिसकेका छन्।

परीक्षा सञ्चालन गर्न नसकेका विद्यालयहरुको हकमा विद्यार्थीहरुको मूल्याङकन अनुसार नतिजा प्रकाशन गर्ने तयारी छ।

‘विद्यालयहरुले असारभित्रै विद्यार्थीहरुको मूल्याङकन अनुसार नतिजा प्रकाशन गरेर भर्ना प्रकृया सुरु गर्ने तय गरेको छ,’ उनले भने।
विद्यालयहरुले अनलाइनमार्फत् नै अभिभावकहरुलाई भर्ना गर्न आह्वान गरेको उनले बताए।

‘यस वर्ष पनि हामी वैकल्पिक माध्यमबाटै विद्यार्थीहरुको कक्षा लिने छौं। विद्यार्थीहरुको पहुँच अनुसार अनलाईन, टेलिभिजन तथा रेडियोमार्फत् पनि कक्षा सञ्चालन हुने छ।’

विद्यार्थीहरुको कक्षासँगै यसवर्ष कक्षा २, ३ र ६ मा नयाँ पाठ्यक्रम लागू भएको छ। विद्यालयहरुले परिवर्तित पाठ्यक्रम अनुसार नै अध्यापन गराउने छन्।

केही दिनअघि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई पुन आग्रह गरेका थिए। खोप उपलब्ध हुनेबित्तिकै शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राख्न उनले स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेका थिए।

‘हामीले पटक पटक मन्त्रलायमा खोप उपलब्ध गराउन पत्राचार गरिहेका छौं। शिक्षा मन्त्रालयले खोप आउनेबित्तिकै शिक्षकहरुलाई दिने बाचा गरेको छ,’ पुरीले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *