अभिभावक नभएका बालबालिकाहरुको हेरचाह गर्न सरकार तयार

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणको कारण कयौं मानिसले ज्यान गुमाउनु परेको छ। ज्यान गुमाउनेमा कसैका आमाबुबा थिए भने कसैका छोराछोरी तथा आफन्त। कोरोनाकै कारण धेरै बालबालिका टुहुरा बनेका छन्। कतिपय बालबालिकाले त दुवै अभिभावक गुमाएका छन्।

हालसम्म कति बालबालिकाले अभिभावक गुमाए भने यकिन तथ्यांक आइसकेको छैन। तर, हेरचाह गर्ने कोही नभएका बालबालिकालाई सरकारले संरक्षण गर्ने निर्णय गरेको छ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले कोभिडका कारण अभिभावक गुमाउन पुगेका बालबालिकाको हेरचाह, संरक्षण र पालनपोषण गर्न सरकार तयार रहेको बताउँदै स्थानीय तह तथा आम नागरिकहरुलाई विवरण पठाउन निर्देशन दिएको छ।

राष्ट्रिय बालअधिकार परिषदका कार्यक्रम व्यवस्थापक नमुना भुसालले सबै स्थानीय तहलाई समस्यामा रहेका बालबालिकाहरुको विवरण पठाउन पत्राचार गरेको बताइन्।

उनले सम्बन्धित बालबालिकाको जन्मदार्ता प्रमाणपत्र, मृतक अभिभावकको मृत्युदर्ता प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, नाता सम्बन्ध खुल्ने प्रमाणित कागजात, कोभिड संक्रमणका कारण अभिभावकको मृत्यु भएको पुष्टि हुने कागजात र सम्बन्धित स्थानीय तह वा विद्यालयको सिफारिस चाहिने बताइन्।

१८ वर्ष मूनिका बालबालिकाहरुको लागि मापदण्ड पुगेका संघसंस्थाहरुमा राख्ने योजना रहेको उनले बताइन्।

‘हामीले सकेसम्म बालबालिकाहरुलाई आफन्त वा एकल अभिभावक तथा अन्य परिवारका सदस्यहरु रहे त्यहीँ पुनर्स्थापना गराउँछौं। आर्थिक सहायताले बालबालिकाहरुलाई हेर्ने परिवार तथा आफन्त रहे त्यहाँ जिम्मा दिन्छौं। तर, कोही नभएका बालबालिकाहरुको हकमा उनीहरुलाई संस्थामा राखिन्छ।,’ उनले भनिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *