विभागले लगायो पतञ्जलीले उपहार दिएको ‘कोरोनिल किट’ वितरणमा रोक

हेल्थपोस्ट नेपाल

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पतञ्जली योगपीठले सरकारलाई उपलब्ध गराएको ‘कोरोनिल किट’ वितरणको कार्य केही समयका लागि रोक लगाएको छ।

औषधि व्यवस्था विभागमा दर्ता नभएको पाइएपछि ती किट तत्काल वितरण नगर्ने निर्णय गरेको हो।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले विभागमा दर्ताको प्रकिया पुरा नभएका कारण तत्कालका लागि वितरण गर्न रोक लगाएको बताए।

पतञ्जलीले उपलब्ध गराएको १ हजार ५ सय किट तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले बिहीबार स्वास्थ्य मन्त्रालयमै बुझेका थिए ।

पतञ्जलीले स्वासारी ट्याब्लेट, नाकमा राख्ने अणु तेल र कोरोनिल ट्याब्लेट राखिएको प्याकेट मन्त्रालयलाई सहयोग गरेको थियो ।

मन्त्रालयले कोरोनील किट प्राप्त गर्ने बित्तिकै आयुर्वेद विभागलाई हस्तान्तरण गरेको थियो। यसको केही दिनमै विभागले छलफल गरेर अयुर्वेद आइसोलेसन सेन्टरहरु मार्फत वितरण गर्ने तयारी गरेको थियो।

चिकित्सकहरुको निगरानीमा यो औषधी दिने तयारी गरिरहँदा औषधी व्यवस्था विभागमा दार्ता नै नभएको पाएपछि रोक लगाइएको उनले बताए।

‘हामीले पतन्जलीलाई दर्ता गर्न केही समय दिएका छौं। दार्ता गर्‍यो भने हामी यसलाई वितरण गछौं,’ उपाध्यायले हेल्थपोस्ट सँग भने।’

उनका अनुसार पतञ्जलीबाट उपलब्ध भएकोऔषधि उपयोगी छन्।

‘श्वासप्रश्वासका लागि उपयुक्त छ। त्यसैले पनि यसलाई समयमै वितरण गर्न खोजिएको हो,’ उनी भन्छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *