चिकित्सक संघले भन्यो – स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी अध्यादेश तत्काल जारी गरियोस

नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश तत्काल नै जारी गर्न अनुरोध गरेको छ।

संघले २०७८ जेठ १६ गते आइतबार सरकारलाई सात दिनको अल्टिमेटम दिएको थियो।

सो अल्टिमेटमको समयसिमा आज सम्म छ।

सरकारले मन्त्रीपरिषद् बाट स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

अध्यादेश राष्ट्रपतिबाट जारी भइनसकेको अवस्था छ। महामारीको बीचमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको आवश्यकतालाई बोध गरेर तत्काल यो अध्यादेश जारी हुनेमा संघ अधैर्य भएर प्रतिक्षा गरिरहेको महासचिव डा. बद्रि रिजालले बताए।

‘सरकारलाई दिएको साता लामो अल्टिमेटम सकिएको अवस्थामा अध्यादेशको प्रतिक्षा गर्नु वाञ्छनीय देखिएकोले अध्यादेशपछि थप धारणा सार्वजनिक गर्ने जानकारी गराउँछौं,’ उनले भने।

एक वर्षभन्दा लामो समयदेखि जारी कोरोना महामारीको कठीन परिस्थितिमा घरपरिवारबाट टाढै रहेर, ज्यान जोखिममा राखेर सेवा प्रवाह गरिरहँदा केही अराजक व्यक्ति वा समुहबाट हुने गतिविधिले कतिपय अवस्थामा स्वास्थ्यकर्मीको मनोवल कमजोर पारिरहेको डा. रिजाल बताउँछन्।

‘महामारीमा सेवा सुनिश्चितताका लागि सरकारी र आम नागरिक स्तरबाट पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा एवं मनोवल बृद्धिमा महत्वपूर्ण भूमीका अपेक्षित छ,’ डा. रिजालले भने, ‘ एकातिर सरकारले महामारीको बीचमा अध्यादेशमार्फत् सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रका लागि कम्तिमा १० प्रतिशत विनियोजन हुन नसक्नु आफैमा दुर्भाग्यपूर्ण छ।’

चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामाथिको आक्रमणको घटना रोकिएका छैनन्।

अघिल्ला साताहरुमा विराटनगर, नेपालगञ्जमा चिकित्सक तथा स्वाथ्यकर्मीमाथिका आक्रमणका घटना पछि नेपाल चिकित्सक संघले तत्काल स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानून तत्काल जारी गर्न माग गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय