‘कोरोना नियन्त्रण हुन अझै दुई महिना लाग्छ’

जनस्वास्थ्य विज्ञहरूले आकंलन गरेका थिए– नेपालमा निषेधाज्ञा जारी भएसँगै ३ हप्ताभित्रैमा अपेक्षाकृत रूपमा संक्रमणदर घट्छ।

तर, अनुरूप संक्रमणदर घट्न सकेन।

निषेधाज्ञा भएको पाँच हप्ता बितिसक्दा पनि संक्रमणदर ३०–३५ प्रतिशतको हाराहारीमा छ।

यो प्रतिशत एकदमै उच्च हो।

कोरोनाको दोस्रो लहरमा ६ लाखसम्म संक्रमित हुने सरकारको अनुमान थियो।

तर, अहिले संक्रमणदर अवस्थालाई नियाल्दा अझै केही महिनासम्म यस्तै रहन्छ।

अघिल्ला सात्तामा भन्दा अहिले संक्रमणदर केही घटेको जस्तो देखिन्छ।

परीक्षणको दायरा पनि घटाइएकाले संक्रमणदर ३५ प्रतिशतमा झरेको छ।

तर, दैनिक ६ हजारमा संक्रमण हुनु सामान्य अवस्था होइन ।

यस हिसाबले पनि नेपालमा अपेक्षागरेभन्दा बढि संक्रमित हुने निश्चित छ।

निषेधाज्ञाले किन चेनब्रेक हुन सकेन?

निषेधाज्ञाको मात्र भरपर्दा संक्रमणदर अपेक्षाकृत रूपमा घटाउन नसकिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवं भाइरोलोजिष्ट डा. वासुदेव पाण्डे बताउँछन्।

संक्रमण अहिले घर–घरमा पुगिसकेको छ।

मुख्यतयाः निषेधाज्ञा वा लकडाउन गरेको बेलामा ‘हटस्पट’ परिचाहन गरी नियन्त्रण गर्न तर्फ लाग्नुपर्ने हो।

तर, दोस्रो लहरमा यो काम हुन सकेन।

संक्रामक रोग विशेषज्ञकाअनुसार महामारी नियन्त्रण गर्नका लागि कन्ट्रयाक ट्रेसिङ र आइसोलेसनको प्रमुख उपाय हो।

तर, सरकारले अहिले यी कुरालाई ध्यान दिन सकेको छैन।

‘लकडाउन गरेको बेलामा कुन–कुन क्षेत्र ‘हटस्पट’ छन्। त्यहाँ कन्ट्रयाक टे«सिङमार्फत छुट्टाएर आइसोलेसन गनुपथ्र्यो,’ डा. पाण्डे भन्छन्, ‘जबसम्म समुदायका मानिसमा संक्रमण फैलिएर रोग प्रतिरोधात्मक क्षमता (इमियूनिटी) बन्दैन, तबसम्म संक्रमणदर घट्दैन।’

त्यस्तै, स्वास्थ्य मन्त्रालयका अधिकारीहरू पनि अपेक्षाकृत रूपमा संक्रमणदर घटाउन नसकिएको स्वीकार गर्छन।

मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारी उपचारपद्धतीबाट मात्रै संक्रमण घटाउन खोज्दा यो अवस्था देखिएको अनुमान स्वीकार्छन्।

‘संक्रमण रोकथाम गर्नेबाट मात्रै समाधान खोज्नु पर्थ्यो। तर, हामीले उपचारबाट मात्रै समाधान खोज्यौं। जसका कारण संक्रमण घटाउन सकिएन,’ डा. अधिकारी भन्छन्।

घर–घरबाटै फैलियो संक्रमण

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ९२ हजार ९ सय २८ जना संक्रिय संक्रमित छन्।

जसमध्ये ८६ हजार २ सय ६८ जना होम आइसोलेसनमा छन भने ६ हजार ६ सय ६० जना संस्थागत आइसोलेसनमा छन्।

लाखौंको संख्यामा मानिसहरू घरमा बसिरहेका छन्।

अहिले होम आइसोलेसनबाट संक्रमण फैलिएको जनस्वास्थ्य विज्ञ बताउँछन्।

सरकारले पहिलो लहरमा आइसोलेसन सेन्टरमा मानिसहरू निगरानी गर्दा केही हदसम्म संक्रमण नियन्त्रणमा आएको थियो।

‘स्थानीय सरकारले पहिलाको जस्तो आइसोलेसन सेन्टर खोल्ने, क्वारेन्टाइन राख्ने जस्ता काम गरेका छैनन्,’ उनी भन्छन्, ‘घरमा संक्रमित मानिस रहँदा एक व्यक्तिबाट अन्य थुप्रै परिवारका सदस्यमा संक्रमण सरिरहेको छ।’

मानिसहरूमा पहिलोको लहर पनि सजिलै कट्यो। दोस्रो लहर पनि त्यसैगरी बित्छ भन्ने मानसिकता कायम नै भएकाले संक्रमणदरमा कमी आउन नसकेको डा. अधिकारी अनुमान छ।

‘क्वारेन्टाइन,कन्ट्रयाक ट्रेसिङ र आइसोलेसनले मात्र संक्रमण रोक्छ,’ डा. अधिकारी भन्छन्, ‘दोस्रो लहरमा यी कुराहरू गर्नमा हामी चुक्यौं।’
निषेधाज्ञा लगाउने सुरूवात मै नेपालमा ‘आरनट’ ( एकजाले अर्को संक्रमण सार्ने दर) २ भन्दा बढि थियो।

अर्थात एक संक्रमतिले २ जना भन्दा बढीलाई संक्रमण सारिरहेको थियो।

तर, अहिले अवस्थामा ‘आरनट’ १ मा झरेको छ।

डा. अधिकारीका अनुसार ‘आरनट’ १ हुनु पनि एकदमै उच्च हो।

‘दोस्रो लहरमा संक्रमण सार्ने दर एकदमै उच्चमा गइसकेपछि निषेधाज्ञामा गएका थियौं,’ डा. अधिकारी भन्छन्, ‘जसका कारण छोटो समयमा संक्रमण ह्वातै बढ्यो।’

परीक्षण अझै जनमानसमा पुग्न सकेन

कोरोना परीक्षण नेपालमा ९० वटा प्रयोगशालाबाट भएका छन्।

यी प्रयोगशालाबाट पनि ‘फुलफेज’मा सञ्चालनमा भएका छैनन्।

अस्पतालमा वा प्रयोगशालामा धाएर आएका मानिसको मात्रै परीक्षण भएको तथ्यांकले देखाउँछ।

विज्ञहरूको अनुसार संक्रमण समुदाय स्तरमा फैलिएकाले परीक्षणको दायारा गाउँ–गाउँसम्म पुग्नुपर्छ।

गाउँ–गाउँमा पिसिआर परीक्षण गर्न सम्भव छैन।

सहज परीक्षण गर्नकालाइ ‘एन्टिजेन’ प्रभावकारी मानिएको छ।

दैनिक रूपमा मन्त्रालयलाई देशभरबाट मुस्किलले एक–दुई हजारको मात्र रिर्पोट प्राप्त हुन्छ।

‘हामीले समुदायस्तरमा अझै परीक्षण गर्न सकिरहेका छैनौं। गाह्रो–सारो भएर अस्पताल आइपुगेका मानिसको मात्रै परीक्षण भइरहेको छ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने, ‘स्थानीय तहमा भएको एन्टिजेन परीक्षणको रिपोर्ट कम प्राप्त भएको छ।’

मन्त्रालयले ११ लाखको हाराहारीमा एन्टिजेन किट सम्पूर्ण स्थानीय तहमा पठाएको छ। तर, कहाँ–कति परीक्षण भइरहेको छ, त्यसको नतिजा अझै राम्रोसँग मन्त्रालयलाई आइसकेको छैन।

‘पालिकास्तरमा हामीले ११ लाख एन्जिेटन किट पठाएका छौं। संक्रमितको तथ्यांक दर्ता गर्ने एप आइएमयू राख्न भनेका छौं,’ डा. पौडलले भने, ‘तर, परीक्षण भए पनि आइएमयूमा इन्ट्री कम भएको छ।’

आशा गरेअनुरूप संक्रमणदर घट्न नसकेको डा. पौडेल बताउँछन्।

‘सरकारले लागू गर्ने मापदण्ड एकातिर हुन्छ, सबैभन्दा ठूलो विषय आममानिसले आफूलाई कसरी कोरोनाबाट जोगाउने भन्ने तर्फ ध्यान दिनुपर्छ।

विभिन्न देशमा नयाँ–नयाँ भेरियन्टहरू आइरहेकाले नेपालमा पनि योभन्दा घातक भेरियन्ट आउँदैन भन्न सकिन्न । अलिकति पनि हामीले सावसाधी अपनाएनौँ भने फेरि ह्वात्तै बढ्ने सम्भावना रहन्छ,’ डा. पौडेलल थप्छन्।

अबको विकल्प के ?

सरकारले पहिलो लहरमा ‘एन्टिबडी’ परीक्षण भएको थियो।

काठमाडौं उपत्यकामा मात्रै ४५ प्रतिशत भन्दा बढि मानिसमा संक्रमण पुष्टि भइसकेको अध्ययनले देखाएको थियो।

जसले गर्दा पनि कति मानिस संक्रमित भइसकेका छन् भन्ने एकिन गर्न सजिलो भएको थियो।

तर, अहिले सरकारले यसतर्फ केन्द्रित हुन सकेको छैन।

भाइरोलोजिष्ट डा. पाण्डेका अनुसार सामान्य अवस्थामा फर्किनका लागि दुई किसिमबाट काम हुन जरूरी छ।

एक सबैलाई खोपको पहुँज।

अर्को, समुदाय स्तरमा ७० प्रतिशत मानिसमा एन्टिबडी तयार।

‘समुदाय स्तरमा नै ७० प्रतिशत मानिसमा एन्टिबडीको विकास नभएसम्म संक्रमणदर घट्दैन,’ उनी भन्छन्, ‘हामीले मानिसमा ‘एन्टिबडी’ कति बनेको छ भनेर सर्वे भएको छैन। जसले समाजमा कति मानिसमा संक्रमण फैलिएको छ भन्ने एकिन हुन सकेको छैन।’

अहिले हिसाबमा नेपाल जस्तो मुलुकमा सबैलाई खोपको पहुँज पुर्याउन एकदमै कठिन छ।

डा. पाण्डेका अनुसार अझै दुई महिना निषेधाज्ञा लगाउन अनिवार्य छ।

अझै पनि नेपालमा संक्रमण नघटेकाले लागि निषेधाज्ञा थप्नुपर्ने डा. पौडेलको सुझाव छ।

‘यही साताको अनुपातमा संक्रमणको दर घट्ने हो एक महिनाभन्दा बढिमा संक्रमण केही हदसम्म झर्नै सक्छ,’ डा. पाण्डे भन्छन्, ‘ अहिलेको तुलनामा निकै सहज वातावरण बन्ला, तर खुकुलो हुनेबित्तिकै सर्वसाधारणले स्वास्थ्य मापदण्ड अनिवार्य रूपले पालना गर्नुपर्छ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय